२१ कात्तिक २०८३, शनिवार

जिरीका ९ सहकारी गाभिने, नाम फ्रेण्डसिप हुने

२०७१ कात्तिक १९, बुधबार
जिरीका ९ सहकारी गाभिने, नाम फ्रेण्डसिप हुने

दोलखा । जिरीका ९ बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिने भएका छन् । एक अर्कामा गाभिने सहकारीहरूमा फ्रेण्डसिप, मेलमिलाप, गौरब, जिरीखिम्ती, सुइरे, बोझिनी, हनुमन्ते बीउ आलु, कुखुरा विकास र कोसेली घर सहकारी छन् । जिरीमा बचत तथा ऋण सहकारी संस्थाहरू १४ वटा छन् ।

सहकारी संस्थाहरू गाभिएर ठूलो र समृद्ध संस्था बन्ने क्रममा आ–आफ्नो साधारणसभाबाट समेत अनुमोदन गरिसकेका छन् । गाभिएर बन्ने सहकारीको नाम फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था राख्ने औपचारिक निर्णय भएको छ । बैंकहरू एक आपसमा गाभिने प्रक्रिया चलिरहेको बेला यति धेरै सहकारी गाभिएर एउटै संस्था बनेको देशमै पहिलो घटना भएको नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका उपाध्यक्ष डीबी बस्नेतले बताए ।

नयाँ सहकारीको कुल पुँजी ४० करोडभन्दा बढी हुने डिभिजन सहकारी कार्यालय दोलखाका प्रमुख भरतप्रसाद ढकालले बताए । ९ वटै सहकारीका कुल सदस्य ११ हजार बढी छन् । ४ हजार सदस्य दोहोरो भएकाले मर्जरपछि बन्ने सहकारीमा ७ हजार सदस्य हुने उनले बताए ।

धेरै संस्थाहरू एउटै कार्य क्षेत्रमा काम गर्दा अस्वस्थ प्रतिस्पर्धा र कमजोर हुनुका साथै प्रशासनिक खर्चसमेत बढ्ेपछि गाभिनका लागि ०७० माघ २५ मा संयुक्त कार्यदल बनाएर प्रक्रिया अघि बढाएको फ्रेण्डसिप साकोसका कोषाध्यक्ष चित्रप्रसाद भण्डारीले बताए । सहकारी मर्जर प्रक्रियाका लागि नेफ्स्कुन उपाध्यक्ष बस्नेत र डिभिजन सहकारी कार्यालय चरिकोटले समेत सहजीकरण गरेको थियो ।

९ वटा संस्था गाभिएर बन्ने फ्रेण्डसिप सहकारीको तदर्थ समितिको अध्यक्षमा जिरीखिम्ती सहकारीका अध्यक्षसमेत रहेका सहकारी मर्जर समितिका संयोजक केशवकुमार कार्की चयन भएका छन् । फ्रेण्डसिपका वर्तमान अध्यक्ष नरबहादुर जिरेल उपाध्यक्षमा चयन भएका छन् । तदर्थ समितिले ६ महिनाभित्र विशेष साधारण सभा गरेर नयाँ सञ्चालक समिति चयन गर्ने निर्णय भएको भण्डारीले जानकारी दिए ।

साभार : कारोबार 

अभिलेख

लोकप्रिय