२१ कात्तिक २०८३, शनिवार

हंसपुरमा कृषि सहकारीद्वारा सामूहिक बाख्रापालन

२०७१ कात्तिक १३, बिहिबार
हंसपुरमा कृषि सहकारीद्वारा सामूहिक बाख्रापालन

पोखरा। कास्की जिल्लाको हंसपुर गाविसलाई कार्यक्षेत्र बनाएर गठित आरुखर्क कृषि सहकारी संस्था लिमिटेडले सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेको छ ।सहकारीले स्थानीय आरुखर्कमा खरिद गरेको ४५ रोपनी जग्गामा निर्माण गरिएको खोरमा ३० वटा माउ बाख्रा र एउटा उन्नत जातको बोको खरिद गरेर सो व्यवसाय सुरु गरेको हो ।
स्थानीय पुँजी, घाँस र जनशक्तिका आधारमा सो बाख्रापालन व्यवसायमा हालसम्म रु २५ लाखभन्दा बढी खर्च भइसकेको संस्थाका सदस्य कालीदास सुवेदीले जानकारी दिए ।
सामूहिक रूपमा सञ्चालन गरिएको सो व्यवसायमा सहकारीका सदस्यले रु १० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् भने १०० भन्दा बढी माउ बाख्रा पुर्याउने लक्ष्य रहेको छ । संस्थामा ६० जना सेयर सदस्य आबद्ध रहेका छन् ।
दानामा भन्दा घाँसमा आधारित बाख्रापालन गर्ने उद्देश्यले संस्थाले राइखनियो, बडहर, टाँकीलगायत विभिन्न जातका १७ हजार बिरुवा रोपेको सुवेदी बताउनु हुन्छ । बाख्राको रेखदेखका लागि एकजना कर्मचारी व्यवस्था गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय कास्कीको अनुदानमा १०० मिटर पाइप प्राप्त भएपछि खानेपानीको सुविधा पुगेको छ । त्यसअघि सहकारीको सक्रियतामा रामकोटदेखि बाख्रा फार्मसम्मको दुई किलोमिटर मोटर बाटो निर्माण गरिएको थियो ।
सो सहकारीले बाख्रासहित माछा पाल्ने उद्देश्यले १० हजार भुरा पाल्न सकिने पोखरी निर्माण गरेको छ । निकट भविष्यमा बङ्गुर र लोकल कुखुरासमेत पाल्ने उद्देश्य रहेको छ ।

अभिलेख

लोकप्रिय