२१ कात्तिक २०८३, शनिवार

सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि अनुदान

२०७१ कात्तिक १३, बिहिबार
सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि  अनुदान

काठमाडौं । सहकारी विभागले सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि सहकारी संस्थाहरुलाई अनुदान दिने भएको छ ।

सहकारी संस्थाहरुको सुदृढीकरण र व्यवसायमुखी सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि वार्षिक अनुदान सहयोग गर्दै आएको विभागले चालू आर्थिक वर्षका लागि पनि अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको हो । विभागले सूचना जारी गर्दै मुलुकभरका सहकारी संस्थाहरुलाई एक महिनासम्ममा आफ्नो संस्थाले गरेका काम र अनुदानको आवश्यकताका विषयमा स्पष्ट जानकारी गराउँदै प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विभागले चालू आर्थिक वर्ष २०७१/०७२ का लागि सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि पुँजीगत अनुदान प्राप्त गर्न सहकारी संस्थाहरुलाई ३० दिनभित्र सम्बन्धित डिभिजन सहकारी कार्यालय र सहकारी प्रशिक्षण केन्द्रहरुमार्फत निवेदन दिन आग्रह गरेको छ ।

यस्तै, विभागले ‘सहकारी संघ/संस्थालाई उपलब्ध गराइने अनुदान तथा भन्सार महसुल छुट सुविधा सिफारिससम्बन्धी कार्यविधि २०६८’ अनुसार सूचना जारी गरेको छ । विभागले गाईभैंसी, बाख्रापालन, भेडा, बंगुर, अलैँची, उखु, माछापालनलगातय सम्बन्धित पेसा तथा उद्योगहरु विस्तारका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै सीमान्तकृत समुदाय, दलितका पेसा, सहकारी संस्थाहरुद्वारा स्थापना गरिएका बजार तथा उद्योगहरुको सुदृढीकरणका लागि अनुदान सहयोग गर्दै आएको छ ।  यस्तै विभागले दिएको जानकारीअनुसार योभन्दा अघि विभाग तथा सम्बन्धित निकायबाट अनुदान प्राप्त गरिसकेका संघ/संस्थाहलाई एउटै प्रयोजनका लागि अनुदान नदिने भएको छ । तर विभागले उद्योग विस्तार गरी उत्पादनमा विविधीकरण ल्याएका संघ/संस्थाहरुलाई भने अनुदान माग गर्न बन्देज नहुने जनाएको छ । सहकारी बजार, उद्योग तथा कृषि फार्म सञ्चालन गर्ने संघ÷संस्थाहरुले भने आवश्यक पर्ने जग्गाको व्यवस्था आफैं गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

अभिलेख

लोकप्रिय