२१ कात्तिक २०८३, शनिवार

दक्षिण कोरियासँग अनुदान सहायतासम्बन्धी सम्झौताको प्रारूपमा हस्ताक्षर

२०७१ कात्तिक १३, बिहिबार
दक्षिण कोरियासँग अनुदान सहायतासम्बन्धी सम्झौताको प्रारूपमा हस्ताक्षर

काठमाडौ । दक्षिण कोरियाले नेपाललाई प्रदान गर्ने अनुदान सहायताको प्रक्रिया तथा सर्तबारे स्पष्ट किटानसहित दुई मुलुकबीच अनुदान सहायतासम्बन्धी सम्झौताको प्रारूपमा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाली राजदूत चो योङ जिनले उक्त सम्झौताको प्रारूपमा हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा सचिव शर्माले नेपालको सामाजिक–आर्थिक उन्नयनमा कोरियाले निरन्तर सहयोग गरेकामा आभार व्यक्त गर्दै सम्पन्न सम्झौताबाट नेपाल र कोरियाबीचको सम्बन्ध अझ सुदृढ भई त्यसले पारस्परिक सहयोगका नयाँ सम्भावना पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।
आज भएको सम्झौता नेपालको गरिबी न्यूनीकरण, दिगो आर्थिक विकास र सामाजिक विकासका निम्ति कोरियाली प्रतिबद्धता हो भन्दै राजदूत चोले कोरिया–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको चालीस वर्ष पुगेको अवसर पारेर सम्झौता हुनु सुखद भएको बताउनुभयो ।
अनुदान सहायताअन्तर्गत कोरियाले नेपालमा स्वास्थ्य, व्यावसायिक शिक्षा र ग्रामीण विकासका परियोजना सञ्चालन गरिरहेको छ । कोरियाली सहयोग नियोग कोइकामार्फत उक्त मुलुकले नेपाललाई सघाउँदै आएको छ ।

अभिलेख

लोकप्रिय