२१ कात्तिक २०८३, शनिवार

चुरे संरक्षणका लागि गोबर ग्यास बनाउन सहकारीले दियो ऋण

२०७१ कात्तिक ११, मङ्गलबार
चुरे संरक्षणका लागि गोबर ग्यास बनाउन सहकारीले दियो ऋण

कञ्चनपुर । चुरे वन संरक्षण गर्नका लागि संरक्षण क्षेत्रमा काम गर्ने एक सहकारीले सहुलियत दरमा गोबर ग्यास निर्माण गर्न ऋण दिएको छ । चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थाले चुरे क्षेत्रका विपन्न वर्गलाई सहुलियत दरमा ऋण दिएको हो । सहकारीका अध्यक्ष महेशदत्त जोशीले दाउराको भरमा बाँच्ने समुदायलाई निम्न सहुलियत दरमा गोबर ग्यास निर्माण गर्न रु १८ हजार ऋण दिएको जानकारी दिनुभयो ।

सहकारीबाट सहुलियतमा ऋण पाएका कृष्णपुर, देखतभूली, रैकबार र शङ्करपुरका ७४ परिवारले गोबर ग्यास निर्माण गरिसकेका छन् । “वनमाथिको भारलाई कम गर्न यस्तो कार्य गरेको हो”, अध्यक्ष जोशीले भन्नुभयो ।यस्तै सहकारीले सामुदायिक वनका विपन्न उपभोक्ताहरूको आयआर्जन वृद्धि गर्नका लागि ५१ जनालाई जीविकोपार्जन सुधार योजनामा समेत सहुलियत ऋण दिएको छ ।
उनीहरूलाई पनि विभिन्न आयमूलक काम गर्न रु १८ हजारका दरले ऋण दिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । सहकारीमा पुँजी कम भएका कारण वनमाथि आस्रित विपन्न वर्गहरूलाई आवश्यकताअनुसार ऋण दिन नसकिएको अध्यक्षको भनाइ छ ।“सहकारीका ऋणका लागि दैनिक पाँचदेखि १० निवेदन परे पनि पुँजी कम भएका कारण ऋण दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो । गत वर्ष स्थापना गरिएको वन क्षेत्रमा काम गर्ने सहकारीमा रु तीन लाख १८ हजार ३५० कुल निक्षेप सङ्कलन गरिएको छ भने रु २३ लाख, ५६ हजार, ३३१ ऋण लगाइएको छ ।

अभिलेख

लोकप्रिय