२१ कात्तिक २०८३, शनिवार

कृषिलाई व्यवसायिकरण गर्न सहकारी अपरिहार्य

२०७१ कात्तिक १, शनिवार
कृषिलाई व्यवसायिकरण गर्न सहकारी अपरिहार्य

सिमरा, १ कात्तिक । मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टेकबहादुर बमले कृषिलाई व्यवसायीकरण गर्न सहकारीको भूमिका अनिवार्य रहेको बताएका छन् । शुक्रबार बाराको डुमरवानामा रहेको समाजसुधार कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा र नवनिर्मित वीऊबिजन गोदामघरको उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।

कृषिप्रधान मुलुकमा निर्वाहमुखी खेती, युवा जनशक्तिको बढदो पलायन र कृषिमा आकर्षणको कमीको कारण परनिर्भरता बढदै गएको बताउदै बमले कृषिको व्यवसायिकरण बिना आर्थिक समृद्धि सम्भव नभएको बताए । ‘सहकारीहरुको बढदो संख्या र नागरिकहरुको संलग्नताले ग्रामिण अर्थतन्त्रमा आकर्षण बढेको छ ।’ उनले भने ।
त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारीले समुदायमा संगठन र वित्तिय परिचालनमा जागरण पैदा गरेको बताउदै सरकारले कृषिलाई व्यवसायिकरण गर्न र राज्यका स्रोतहरु ग्रामिण तहमा पुर्याउन सहकारीलाई प्रवद्र्धन गर्नुपर्ने बताए । सहकारीहरु परिभाषित उद्धेश्य अनुरुप क्रियाशिल हुदै गुणात्मक विकास र एकीकरण अभियानमा लाग्न पौडेलले जोड दिए ।

दुई वर्षअघि स्थापना भएको संस्थाले उन्नत बिउबिजन उत्पादन, विक्री वितरण, सामुहिक खेती, अनाज तथा तरकारी उत्पादन तथा वितरण कार्य गरी सदस्यहरुको आयआर्जन क्षमता बढाउने कार्य गरिरहेको छ । संस्थाले विशुद्ध कृषि र परिभाषित उद्धेश्यमुताविक काम गरिरहेको छ । यस वर्ष डिभिजन सहकारी कार्यालयले जिल्लाको उत्कृष्ट संस्था र राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट संस्थाको रुपमा सम्मानित गरेको छ ।

संस्थाले यस वर्ष क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय र संस्थाको आफनै स्रोतबाट करीव दश लाखको लगानीमा एक कठ्ठा घडेरी खरिद गरी ८० टन क्षमताको गोदाम घर निर्माण गरेको छ । संस्थाले करीव दुई सय सदस्यहरुवीच साठी लाखको कारोवार गरिरहेको छ । उदघाटनपछि आयोजित बन्दसत्रले अध्यक्ष अधिकारी र लेखा संयोजक रामकुमार अर्यालको प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।

अभिलेख

लोकप्रिय