२० कात्तिक २०८३, शुक्रबार

सहकारीमार्फत कारखाना खोल्दै किसान

२०७१ असोज ३१, शुक्रबार
सहकारीमार्फत कारखाना खोल्दै किसान

इलाम । हरियोपत्तिको मूल्य कम पाउन थालेपछि यहाँका चिया किसान आफ्नै लगानीमा चिया उद्योग स्थापनामा लागेका छन् । लागतअनुसारको मूल्य नपाएको भन्दै किसान सहकारीमार्फत उनीहरू उद्योग खोल्न लागेका हुन् । ठूला उद्योगले सिन्डिकेट लगाएका कारण कम मात्र मूल्य दिने गरेकाले आफँै उद्योग खोल्नुको विकल्प नभएको किसानको भनाइ छ । गत वर्ष यो सिजनमा प्रतिकिलो रु ४० देखि ४५ सम्म मूल्य पाएका किसानले यो पटक आधा पनि पाउन सकेका छैनन् ।
सहकारीमार्फत जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी चिया कारखाना खुलेका छन् भने उत्तिकै सङ्ख्यामा खुल्ने क्रममा छन् । सहकारी र निजीस्तरबाट स–साना चिया कारखाना खुल्ने लहर चले पनि बजारको पहु“च नहुँदा समस्या छ । साना कारखानाले उत्पादन गरेको चिया थोरै मात्रामा अमेरिका, जर्मनीलगायतका मुलुकमा र भारतीय बजारसम्म पुगे पनि कोसेलीको रूपमा आन्तरिक बजारमा खपत हुन्छ ।
सहकारी र कृषकको पहलमा खुलेका कारखानाले जैविक, ग्रिन टीलगायत उत्पादन गर्छन् । जिल्लामा दुई दर्जन ठूला चिया कारखाना सञ्चालनमा छन् भने ३८ वटा साना चिया कारखाना सञ्चालनमा छन् ।सहकारीमार्फत फाकफोकको तीनजुरे, जीतपुरको अजम्बरे, फिक्कलकोे इलामेलीले, सूर्याेदय नगरपालिकास्थित कन्याम चिया सहकारी र सिद्धिथुम्का सहकारीलगायत पूर्वी पहाडी जिल्लामा ११ वटा चिया कारखाना सञ्चालन भएका छन् ।
त्यस्तै झापाको पृथ्वीनगर र बाहुनडाँगीमा सहकारीमार्फतनै दुईवटा सिटिसी चिया कारखाना खुलेका छन् । रु ६० लाखदेखि एक करोडको लागतमा स्थापना हुने यी मझौला कारखानाले दैनिक ५०० देखि एक हजार किलोसम्म हरियो चियापत्ती प्रशोधन गर्न सक्ने केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।

कन्याम चिया उत्पादक सहकारी संस्थामा आबद्ध १३६ किसानको लगानी र राष्ट्र बैंकको अनुदानमा उद्योग स्थापना गरेको सहकारीका व्यवस्थापक सूर्य खड्काले बताउनुभयो । सेयरबापत किसानले रु ८० लाख २१ हजार २०० लगानी गरेका छन् । उद्योग स्थापनाका लागि राष्ट्र बैंकले रु छ लाख अनुदान दिएको छ ।
किसानले उद्योग स्थापना गरेपछि त्यसलाई सञ्चालनमा ल्याउन राष्ट्रिय सहकारी बैंकबाट रु ३० लाख ऋण लिएका छन् । उत्पादनको अवस्था नहेरी ठूला उद्योगले मूल्यमा घटबढ गर्दा नोक्सानी भएकाले उद्योग खोल्नुपरेको खड्काले बताउनुभयो ।
“सहकारीमा रहेका किसानको मात्र दुई हजारभन्दा बढी रोपनीमा चिया खेती छ”, खड्काले भन्नुभयो । सहकारीले प्रशोधन थाल्नासाथ रु १० भन्दा बढी मूल्य दिन सुरू गरेको छ ।
सहकारीले आफ्नो उत्पादनलाई छिट्टै जैविक बनाउन किसानलाई गड्यौले मल र जैविक औषधि उत्पादन गर्न थालेको छ । व्यापारीले उद्योगमा एकाधिकार जमाएर थोरै मूल्य कायम गरेपछि हरियोपत्तीको मूल्य नपाएको किसानको गुनासो छ ।
साना उद्योग सञ्चालन गर्नेले पनि यसअघि भारतीय व्यापारीलाई नै तयारी चिया बिक्री गर्नुपर्ने बाध्यता थियो । झापामा चियाको अक्सन केन्द्र खोल्ने तयारी भइरहेकाले यस्ता उद्यमीलाई बजार पाउन सहज हुने केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताउनुभयो ।

अभिलेख

लोकप्रिय