२० कात्तिक २०८३, शुक्रबार

जैविक विविधता जोगाउन सहकारी गठन

२०७१ असोज २६, आईतवार
जैविक विविधता जोगाउन सहकारी गठन

कञ्चनपुर । सहकारिताको माध्यमबाट सामुदायिक वनका उपभोक्ताको वनप्रतिको निर्भरता कम गर्नका लागि कञ्चनपुरको कृष्णपुरमा ‘चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था’ सञ्चालनमा ल्याइएको छ ।
सामुदायिक वनका पदाधिकारी मिलेर सहकारी संस्था गठन गरेका हुन् । सहकारीमा आबद्ध सदस्यहरूको आयआर्जनका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न, जैविक विविधता जोगाउन, वन संरक्षणमा टेवा पुर्याउन र वातावरण जोगाउने उद्देश्यका साथ सहकारी गठन गरिएको संस्थाका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।
यस क्षेत्रमा रहेका ४१ सामुदायिक वनमध्ये सहकारीमा ३० जनाभन्दा बढी सामुदायिक वनका पदाधिकारी आबद्ध रहेका छन् । “सबै सामुदायिक वनलाई सहकारीमा आबद्ध गराउने लक्ष्य लिएका छौँ”, अध्यक्ष जोशीले भन्नुभयो ।
सहकारीको सेयर पुँजी रु सात लाख २४ हजार ४०० रहेको छ । सहकारीमा आबद्ध सदस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि १८५ व्यक्ति र एक सामुदायिक वनलाई गरी रु २३ लाख ५७ हजार ३३१ ऋण लगानी गरिएको छ ।
सहकारीको कुल निक्षेप रु तीन लाख १८ हजार ३५०, बैंक मौज्दात रु ४४ हजार ८८३ र नगद मौज्दात रु ४६ हजार १९५ रहेको छ ।
वन माथिको निर्भरता कम गर्नका लागि सहकारीमा आबद्ध ७४ जना सदस्यको घरमा गोबर ग्यास प्लान्ट जडान गरिएको छ । प्रतिप्लान्ट निर्माण गरेबापत सहकारीको कोषबाट रु १८ हजारका दरले रु १३ लाख ६८ हजार अनुदान रकम उपलब्ध गराइएको छ । सहकारीमा ६१४ जना सेयर सदस्य रहेकामध्ये महिला ३४६, दलित ६३ र जनजाति १५१ जना रहेका छन् ।
सेयर सदस्यलाई प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनका लागि सहकारीको कार्य क्षेत्र रहेका देखतभूली, कृष्णपुर र रैकवार विचवा १५ स्थानमा सेवा केन्द्र सञ्चालन गरी बचत सङ्कलन गर्ने कार्य सुरु गरिएको सहकारीका उपाध्यक्ष सागर भण्डारीले बताउनुभयो ।
जिल्ला वन कार्यालय कञ्चनपुरका वन अधिकृत पशुपतिनाथ कोइरालाले वनसँग सम्बन्धित सहकारी भएकाले ढिलो गरी नाफा प्राप्त हुने बताउनुभयो ।

अभिलेख

लोकप्रिय