२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई उद्योग व्यवसायका सबै क्षेत्र खुला गर्नुपर्ने

२०७१ असोज २५, शनिवार
सहकारीलाई उद्योग व्यवसायका सबै क्षेत्र खुला गर्नुपर्ने

सिमरा, २५ असोज । सहकारीका विद्यमान ऐन कानून परिमार्जन गरी सहकारीका पूंजी, जनशक्ति र सम्भावनाहरुलाई उद्योग व्यवसायका सबै क्षेत्रमा खुला गर्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले बताएका छन् ।

शनिबार बाराको निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौ वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सहकारी क्षेत्रले परिचालन गरिरहेको खर्वौको पूंजी जलविद्युत, कृषिजन्य उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउन सकिए समुदायको भूमिका बढने भएकोले अहिलेको व्यापारघाटा र बेरोजगारी समस्यालाई हल गर्न सकिने बताए । पौडेलले यसका लागि सहकारी ऐनको परिमार्जन र सम्वन्धित ऐनहरुको परिमार्जन गर्नुपर्ने बताए ।

‘राज्यले सहकारी क्षेत्रलाई सम्वैधानिक रुपमा सम्वोधन गरेपनि व्यवहार र बजेटमा संकुचनता रहेको छ ।’ उनले भने ‘सहकारी क्षेत्र विशेषतः बचत तथा ऋण सहकारी अभियानको उपलव्धि संस्थागत गर्न र विकृति विसंगति हल गर्न छुट्टै बचत तथा ऋण सहकारी ऐनको वकालत नेफ्स्कूनले गरिरहेको छ ।’ सहकारी अभियानले यतिखेर नागरिकहरुमा वित्तिय जागरण ल्याएको बताउदै यसलाई गुणात्मक सेवा र उद्यममा रुपान्तरण गर्न सबै सहकारी संघसंस्थाहरुलाई गम्भिर हुन पौडेलले आग्रह समेत गरे ।
साधारणसभामा संस्थाका उत्कृष्ट कारोवारकर्ताहरु, उत्कृष्ट कर्मचारी, शेयर परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई नेफ्स्कून सञ्चालक कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, संस्थाका अध्यक्ष कृष्णप्रसाद उपाध्यायले सम्मान गरेका थिए ।

बन्दसत्रले अध्यक्ष उपाध्याय, लेखा संयोजक बोधनाथ चौलागाई, सचिव नागेन्द्र साह, कोषाध्यक्ष भोला गौतमको प्रतिवेदनहरु सुझावसहित पारीत गरेको छ ।

अभिलेख

लोकप्रिय