२० कात्तिक २०८३, शुक्रबार

कात्तिक भित्र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने सरकारको लक्ष्य

२०७१ असोज २४, शुक्रबार
कात्तिक भित्र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने सरकारको लक्ष्य

काठमाडौं, २४ असोज । भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र आगामी कात्तिक महिनाभित्रमा सञ्चालन गर्ने सरकारले लक्ष्य निर्धारण गरेको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मातहतमा गठित उद्योगसम्बन्धी उपसमितिको बैठकमा उक्त जानकारी दिएको हो । उपसमितिका संयोजक सांसद भक्तिप्रसाद पाण्डेको सभापतित्वमा शुक्रबार बिहान भएको बैठकमा उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले विशेष आर्थिक क्षेत्र अबको एक महिनाभित्रमा सञ्चालन गर्नेगरी सम्पूर्ण भौतिक पूर्वाधार तयार पारिएको जानकारी दिए ।

उक्त क्षेत्रमा प्रशासनिक तथा सेवाभवन, आन्तरिक सडक, बिजुली, टेलिफोन, पेयजललगायत पूर्वाधार निर्माण भइसकेको र त्यहाँ अविच्छिन्न विद्युत् आपूर्तिको व्यवस्था मिलाउन उद्योग मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई तीन करोड उपलब्ध गराएको बताए ।

“भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ सरकारले स्वीकृत गरिसकेको र विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक तर्जुमा भई मन्त्रिपरिषद्मा पेस गर्ने सैद्धान्तिक स्वीकृति मन्त्रालयलाई प्राप्त भएको छ”–उनले भने ।

त्यसैगरी सचिव भट्टराईले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हालसम्म आठवटा उद्योग स्थापना भएकामा चालु अवस्थामा चारवटा मात्र रहेका जानकारी दिँदै त्यहाँको सडकको अवस्था जीर्ण, अनियमित विद्युत् आपूर्ति, पानी र ढलको उचित व्यवस्था नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भएको बताए ।

ललितपुरको इमाडोलमा ग्यास उत्खननका निम्ति ३५० मिटर ड्रिलिङ गरिएको बताउँदै उनले ग्यासको परीक्षण उत्पादन गर्ने उपकरण खरिद प्रक्रियामा रहेको जानकारी दिए ।

अभिलेख

लोकप्रिय