छैसट्ठी लघु उद्योगमा छत्तीस लाख अनुदान
बागलुङ । लघुजलविद्युत् आयोजना बनेका क्षेत्रमा उत्पादनमूलक ऊर्जा प्रयोग कार्यक्रम सुरु भएपछि लघु तथा साना उद्योग खोल्ने क्रम पनि बढेको छ ।
आयोजनाबाट निस्कने ऊर्जाको प्रयोग गरी उद्योग सञ्चालन गर्दा अनुदान पाइने भएपछि उद्यमीसमेत आकर्षित बनेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत उत्पादनमूलक ऊर्जा प्रयोग कार्यक्रम लागू भएका पश्चिमाञ्चलका विभिन्न छ जिल्लामा हालसम्म ६६ वटा लघु तथा साना उद्योग सञ्चालनमा आएका छन् । पश्चिमाञ्चलका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पाल्पा र गुल्मी जिल्लामा ती उद्योग सञ्चालनमा रहेको कार्यक्रमको क्षेत्रीय सेवा केन्द्र धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले जनाएको छ ।
लघुजलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मात्र यो कार्यक्रम लागू गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले साना तथा व्यक्तिगत उद्योग सञ्चालन गर्नेलाई एक लाखसम्म अनुदान सहयोग दिने गरेको छ । सामुदायिक स्वामित्वका उद्योगमा भने तीन लाखसम्म अनुदान दिने व्यवस्था छ । त्यस्ता उद्योगमा सातजना भन्दा बढीको समूह आबद्ध हुनुपर्ने प्रावधान रहेको जनाइएको छ ।
सामुदायिकस्तरका दुईवटा उद्योगलाई तीन÷तीन लाख अनुदान दिइएको डिसिआरडिसीले जनाएको छ । जसमा बागलुङको सिमलचौर पम्पिङ आयोजना र कास्की घान्द्रुकको शुद्ध खानेपानी आयोजना छन् । लघु तथा साना उद्योगमा हालसम्म ३६ लाख ३९ हजार ५६१ अनुदान प्रदान गरिएको डिसिआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताउनुभयो ।
त्यस्तै विभिन्न क्षेत्रमा आयआर्जन क्रियाकलाप पनि चलेका छन् । सोही कार्यक्रमअन्तर्गत एक सय घरमा आयआर्जन क्रियाकलाप सञ्चालन भएको छ । आयआर्जन क्रियाकलाप गर्नेले पनि १० हजारका दरले अनुदान पाउने गरेका छन् ।
त्यस्तै विपन्न, गरिब, अल्पसङ्ख्यक, अपाङ्ग व्यक्तिले अतिरिक्त अनुदान पाउने व्यवस्था छ । कार्यक्रम सुरु भएको एक वर्षमै उत्पादनमूलक क्षेत्रमा ऊर्जाको प्रयोग वृद्धि भएको पाइएको छ । ६६ वटा उद्योगमध्ये ४२ साना र २४ वटा लघु उद्योग सञ्चालनमा आएको कार्यक्रमका व्यवसाय प्रवद्र्धन अधिकृत ज्ञानबहादुर थापाले बताउनुभयो । ४४ वटा नयाँ र २२ वटा पुराना उद्योगमा आधुनिक प्रविधि जडानसहित स्तरवृद्धि गरिएको अधिकृत थापाले जानकारी दिनुभयो । जसमध्ये बागलुङमा साना १३, लघु नौ, म्याग्दीमा साना १२, लघु तीन, कास्कीमा साना ११, लघु एक, स्याङ्जामा साना तीन, लघु चार, पाल्पामा साना दुई, लघु चार, गुल्मीमा साना एक र लघु तीन गरी कुल ६६ वटा उद्योग सञ्चालनमा रहेका छन् ।
सञ्चालित उद्योगमा ग्रिल, पाउरोटी, अगरबत्ती, चाउमिन, फर्निचर, ब्लक, लघुउद्यम, चाउचाउदेखि फ्रेस हाउस, फोटो स्टुडियो, राइस मिल, कुटानी–पिसानी मिल, टेलरिङ सेन्टरलगायत छन् ।
यी उद्योगमा आश्रित परिवार तथा समुदायका व्यक्तिले रोजगारी पाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
