बाली, वली र सहकारी
खिला दाहाल –
बाली सप्रिएको वर्ष घरमा दशैं पनि सप्रिन्छ भन्छन् वुज्रुकहरु । वनी वुतो गरेर खाने बिचराहरुको लागि पनि साहुको बाली सप्रेको वर्ष त दशैंमा, दही चिउरा, केरा र खसीको मासु बुक्याउने बन्दोवस्त हुन्छ भनेर बलजफ्ती बाली भित्र्याउन लाग्थे रे वालकदेखि वृद्धसम्म हाम्रो नेपालमा । वाली अनगिन्ती हुन्छन् कुन वालीको कुरा गर्ने खै । आजभोली त हरेक कुरालाइ वालीसँग लगेर जोडीदिन्छन् । वाली भएन भने वली पनि हुदैन रे वली नभइ दशैं हुने त कुरै भएन त्यसैले त दशैंका दसै दिन वलीको प्रथा कायम छ । वली र बालीको सम्वन्ध निकै घनिष्ठ छ झैं लाग्यो यो स्तम्भकारलाइ र केही खोकौंकी झैं पनि लाग्यो । इण्डोनेसियाको बालीको कुरा गर्न हतार नगरी र अनेकन वालीको कुरालाइ पनि अहिले एउटा कुनाको भकारीमा भण्डारण गरेर, नेपालमा एकदम फस्टाउदै गएको सहकारी वालीको कुरा कोट्याउन रहर जाग्यो । लौलनी सहकारी भन्ने वित्तिकै आङनै सिरिङ्ग हुन थाल्यो तर पनि लुतो लागे पछि कन्याउनै प¥यो हैन त । गाउमा हरियो सागपात, तितेफापर, गहु, कोदो, मकै धानको वालीलाई लात हानेर सहरमा सहकारी वाली गरेर हरीया नोटको सिल्की भोटो खरिद गर्ने सपना देखेकाले यसपाली दशैंको छेका पारेर इण्डोनेसियाको वालीको पनि स्वाद चाख्न भ्याए । सहरमा साग पात वेचेर वचेको चानचुन जम्मा गर्नेहरुको सपनालाई वालीमा लगेर वली दिन भ्याए भन्न लाज मान्नु पर्छ जस्तो लाग्दैन ।
अक्कु फोरमको नाममा इण्डोनेसियामा भिड लागेको नेपाली सहकारीकर्मीहरुले कति जना सदस्यहरुको दशैंमा बोकोको बोसो वुत्याउने सपना फोरे होलान् । तपाई हिसावको वाठोलाइ प्रति व्यक्ति दुई लाखले असी जनाको कति हुन्छ भनेर भन्नु पर्ला र । यो त प्रतिनिधि घटना मात्र हो यस्ता कयौं घटनाहरु सहकारी फोरमका नाममा उनै व्यक्तीले लाजै नमानी दोहो¥याइरहेका छन् । सिकेर आउने नाममा वाराम्वार सदस्यहरुको कमाई वली चढेको चढ्यै छ । रात्रीकालिन ट्याक्सिले मिटर घुमाए जस्तै व्याजको मिटर घुमाएर सदस्यवाट लिएको व्याजको वाली इण्डोनेसियाको सेमिनारमा खन्याएर सदस्यले फल कहिले खाने होला जवाफ पनि सँगै छ की ? प्रत्यक्षरुपमा पशुको वलि लिने दशैंले सहकारीका सदस्यको बचतको वली सधैं चडीरहेको र सहकारीका टाठा वाठाले संधै दशैं मनाइरहेको सम्झना गराएन र ? सम्झना त तपाइलाइ पनि गरायो होलानी हैन् ? तर के गर्ने हामीहरु उनीहरुलाइ नै फूलमालाले स्वागत र सम्मान गर्न हतारीरहेका हुन्छौ । त्यसैले अव यसपालिको दशैंमा यसो गरे इण्डोनेसियाको वालीमा लगाएको वालीको फलको स्वाद नपाए पनि शुभकामना र आशिर्वादका शव्दले मन त भरिएला कसो होला । सुरु गरौं त “ ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्र्वयं नहुषे गतिश्च पवने, मानं च दुर्योधने । सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे । त्यसैगरी महिलाका लागि “ॐ जयन्ती मंगला काली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री, स्वधा स्वाहा नमोऽस्तु ते” । यती मन्त्र उचारण गरी सवैमा भाइचारा वढाऔं सहकारीलाई सहकारीकै रुपमा बाच्न दिऔं, सहकारी एउटा व्यक्तीको मात्र पेवा नसम्झौ यो त सवै सदस्यको वन्न र वनाउन सक्नु पर्छ । सवैलाइ विजया दशमीको शुभकामना –
जय सहकारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार