२० कात्तिक २०८३, शुक्रबार

सुशासन कायम गर्नु नियामक निकायको मात्रै जिम्मा होइन: गर्भनर

२०७१ असोज १, बुधबार
सुशासन कायम गर्नु नियामक निकायको मात्रै जिम्मा होइन: गर्भनर

काठमाडौं १ असोज। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले संस्थागत सुशासनको जिम्मा नियामक निकायको मात्र नभई सम्बन्धित सबै सरोकारवालाले मनन गर्नुपर्ने विषय भएको बताएका छन्।
वित्तीय सुशासन र संस्थागत सुशासन कायम गर्न नियामक निकायको तर्फबाट राष्ट्र बैंकले ठुलो भूमिका खेलेका भन्दै त्यसैअनुरुप वित्तीय संस्थाहरु पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।
वित्तीय क्षेत्रको संस्थागत सुशासनका लागि राष्ट्र बैंकको भूमिका उच्च रहेको भन्दै आगामी दिनमा पनि विगतबाट पाठ सिकेर संस्थागत सुशासन सम्बन्धी व्यवस्था गर्ने उनले बताए।
नेशनल बैंकिङ इन्टिच्यूटले गरेको कार्यक्रममा गभर्नर खतिवडाले मुलुकले लामो राजनीतिक संक्रमण भोगे पनि वित्तीय सुशासनमा यो अवस्थामा पनि वित्तीय सुशासन भने कायम रहेको बताए। वित्तीय संस्थाहरुले सुशासन कायम गरे केन्द्रीय बैंकले हस्तक्षेप गर्नु नपर्ने उनको भनाइ थियो।
‘एउटा कर्मचारी नियुक्तीदेखि सिइओ नियुक्ती र बैंकका लेखापरीक्षणलगायतका सबै काम पारदर्शी भए सुशासन कायम गर्न समस्या हुँदैन,’ खतिवडाले भने, ‘यसमा नियामकले दबाब दिनु भन्दा पनि बैंकहरु आफैं जिम्मेवार हुनुपर्छ।’
नेपाल लामो समयदेखि संक्रमणमा भएपनि त्यसको असर वित्तीय क्षेत्रमा देखा नपर्नु सुखद भएको गभर्नर खतिवडाको भनाइ छ।
कार्यक्रममा इन्ष्टिच्यूटका अध्यक्ष सशिन जोशीले संसारमा संशागत सुशासनको कमी कमजोरीको कारणले धेरै ठुला ठुला संस्थाहरु धरासायी भएको भन्दै नेपालमा संस्थागत सुशासन सबल बनाउनुपर्नेमा जोड दिए।
यस्तै बैंकर्स एसोशिएसनका अध्यक्ष राजनसिंह भण्डारीले सुशासन कायम हुन नसक्नुमा व्यक्तिगत स्वार्थ प्रमुख कारण भएको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

अभिलेख

लोकप्रिय