२० कात्तिक २०८३, शुक्रबार

सूत्रधार सहकारीद्वारा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई सम्मान

२०७१ भदौ २९, आईतवार
सूत्रधार सहकारीद्वारा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई सम्मान

काठमाडौं, २९ भदौ । काठमाडौंको मध्य बानेश्वर स्थित सुत्रधार बचत तथा ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारणसभाको अवसर पारेर काभ्रेको शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएका शिक्षा तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्कृतिविद् सत्यमोहन जोशीले मानन्धरलाई दोसल्ला ओढाइ सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सहकारी बचत तथा ऋणको कारोवारमा मात्र सीमित नरही समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए । त्यसैगरी राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी अभियानमा थुप्रै समस्याहरु देखिएको र ती समस्याको समाधान आफूबीचबाटै खोज्नु पर्ने बताए । सहकारी आफैमा नराम्रो नभएको बताउँदै उनले केही व्यक्तिहरुको गलत मनासय र संस्था सञ्चालन पद्धति ठीक नहुँदा सहकारी क्षेत्रमा समस्या देखिएको बताए ।

संस्थाका अध्यक्ष उमेश प्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै एउटा भिन्न समाजको परिकल्पना गरी सहकारी मूल्यमान्यता र सिद्धान्तमा आधारमा ससानो पूँजीलाई अधिकतम परिचालन गरी सदस्यहरुको आर्थिक उत्थानमा लागिपरेको बताए ।

८ सय १८ जना सदस्य रहेको संस्थामा ७८ लाख ३५ हजार शेयरपुँजी रहेको छ । संस्थाले ३ करोड ५९ लाख बचत संकलन २ करोड ९१ लाख कर्जा प्रवाह गरेको जनाएको छ । सभामा एसएलसीमा उत्कृष्ट अंक ल्याउन सदस्यका छोराछोरी, उत्कृष्ट बचतकर्ता र ऋणीका साथै जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले बनेपा व्वाइज क्लबलाई जर्सी समेत प्रदान गरेको थियो ।

अभिलेख

लोकप्रिय