२० कात्तिक २०८३, शुक्रबार

स्याउको उचित मूल्य पाएपछि कृषक उत्साहित

२०७१ भदौ २८, शनिवार
स्याउको उचित मूल्य पाएपछि कृषक उत्साहित

 बेनी, २८ भदौ । मुस्ताङका स्याउको बगैँचामै प्रतिकेजी रु २० मूल्य बढेको छ । स्याउको उचित मूल्य पाएपछि किसान पनि उत्साहित भएका छन् ।
“विगतमा व्यापारीले सस्तो मूल्यमा खोज्ने गरेका थिए, यो वर्ष काँचो स्याउ पनि राम्रो मूल्यमा बिक्री गरियो”, टुकुचेका पथबहादुर थकालीले भन्नुभयो ।
जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ झोङ, घमीलगाएतका गाविसको ८६७ मध्ये ३१५ हेक्टरबाट स्याउ टिप्न सुरु गरिएको छ ।
केही किसानले प्रतिकेजी रु ८५ सम्ममा बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “माग र मूल्य बढेपछि दसैँ अगाडि अधिकांश बारी रित्तिने छन्”, जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत रेवती पौडेलले भन्नुभयो ।
कार्यालयका अनुसार एक किसानले न्यूनतम रु ५० हजारदेखि रु १० लाखसम्म आम्दानी गरेका छन् ।
जिल्लामा व्यावसायिक रुपमा स्याउखेती गरेका किसानको सङ्ख्या करिब ११० जनाको हाराहारीमा रहेको छ । यहाँ रेडरोयल, गोल्डेन तथा रिचरेड डेलिसियस जातका स्याउखेती हुँदै आएको छ ।
स्याउबारीमै मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको छ । करिब ७० किलोमिटर टाढाबाट ल्याइएको स्याउलाई बेनीबजारका व्यापारीले रु २८० सम्ममा बिक्री गरिरहेका छन् । “मुस्ताङमै मूल्य बढेको भन्दै होलसेल व्यापारीले भाउ बढाएका छन् ।
“हामीले बाध्य भएर महँगोमा बिक्री गर्नुपरेको छ”, बेनी वीरेन्द्रचोकस्थित स्याउ व्यापारी कमला पौडेलले भन्नुभयो । काँचो स्याउ २५० सम्म बिक्री भइरहेको छ । भदौको अन्तिमदेखि असोजसम्म प्रतिकेजी रु ३०० मूल्य पुग्ने अनुमान गरिएको छ ।

अभिलेख

लोकप्रिय