२० कात्तिक २०८३, शुक्रबार

सातामा नेप्से ३१ अङ्कले घट्यो, कारोबार रकममा पनि भारी गिरावट

२०७१ भदौ २१, शनिवार
सातामा नेप्से ३१ अङ्कले घट्यो, कारोबार रकममा पनि भारी गिरावट

काठमाडौँ, २१ भदौ । गत साता १३.२८ अङ्कले घटेर अन्तिम दिन ९७२.१७ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता पहिलो दिनको तुलनामा ३०.९१ अङ्कले घटेर अन्तिम दिन ९२१.६९ अङ्कमा पुगेको छ ।
निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा कारोबार रकममा पनि भारी गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको १२ हजार ४०२ कारोबारबाट रु एक अर्ब ६६ करोड २५ लाख ६० हजार बराबरका ३७ लाख ७८ हजार २० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
गत साता १७१ कम्पनीको १७ हजार २६४ कारोबारबाट रु दुई अर्ब ५२ करोड ८५ लाख ३० हजार बराबरका ५१ लाख ७३ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको थियो । कारोबार रकम गत साताको तुलनामा ३४.२३ प्रतिशत कम हो ।
यसैगरी समूहगत परिसूचक भने उत्पादन क्षेत्रको परिसूचकमा सामान्य सुधार देखिए पनि व्यापार समूहमा कुनै परिवर्तन आएन । तर वाणिज्य बैंक, विकास बैंक, वित्त समूह, होटल, जलविद्युत् र बिमा सबै समूह ओरालो लागेका छन् ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.१९ अङ्कले घटेर १९८.५९ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यसै साता मेट्रो डेभलपमेन्ट बैंकको एक लाख ६९ हजार बोनस सेयर, पाथिभरा विकास बैंकको रु एक लाख ५० हजार र प्रुडेन्सियल इन्स्योरेन्सको रु दुई लाख बोनस सेयर सूचीकृत भएका छन् ।

अभिलेख

लोकप्रिय