२० कात्तिक २०८३, शुक्रबार

सहकारीका समस्याहरुलाई हल गर्न राज्यले तत्परता देखाउनुपर्छः बडाल

२०७१ भदौ १७, मङ्गलबार
सहकारीका समस्याहरुलाई हल गर्न राज्यले तत्परता देखाउनुपर्छः बडाल

सिमरा, १७ भदौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा संविधानसभााका सदस्य केशव बडालले सहकारीमार्फत नेपाली समाजलाई आर्थिक रुपमा विकसित बनाउन सकिने बताएका छन् । त्यसका लागि राज्यले सहकारीका समस्याहरुलाई हल गर्न तत्परता देखाउनुपर्ने धारणा व्यक्त गरेका छन् । आज (मंगलबार) बाराको कलैयामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको पांचौ वार्षिक साधारणसभामा सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् । सहकारीलाई राज्यले नारामा सीमित रहेको बताउदै कानूनी जटिलताहरुलाई हटाउने र राज्यले समेत पूंजीगत एवम् प्राविधिक योगदान गरेमा सरकारको लगानी सदुपयोग हुने र विकासको अभियानलाई दीगो बनाउन सकिने बडालले बताए । संविधानसभा सहकारी ऐन २०४८ को परिमार्जन र बचत तथा ऋण सहकारीको छुट्टै ऐन ल्याउन सकारात्मक हुनुपर्ने बताए ।
संघले मुुलुकको सहकारी अभियानको शिर्षस्थ संस्था राष्ट्रिय सहकारी संघ नेपालका नवनिर्वाचित अध्यक्ष बडाल, महिला उपाध्यक्ष ओमदेवी मल्ल, लेखा संयोजक धर्मदत्त देवकोटा र सञ्चालक बद्रि लम्साललाई जिल्लावासी सहकारीकर्मीहरुको तर्फबाट अभिनन्दन गरिएको छ ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् संविधानसभाका सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्र लैंगिक एवम् सामुदायिक हिसावले समावेशी भएको बताउदै यसले नै महिला र सीमान्तीकृत समुदायको उत्थानको लागि प्रभावकारी भूमिका खेल्न सक्ने बताए । संघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानमा सबै आस्था, जात र समुदायको शक्ति संगठित हुने भएकोले सम्वैधानिक र नीतिगत हिसावले सहकारीलाई बलियो बनाउन सबै मिलेर काम गर्ने बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे नेपालको बचत तथा ऋण सहकारी अभियानले अहिले समुदायमा आधारित भएर वित्तिय परिचालनको नेतृत्व गरिरहेको बताए ।  वित्तिय सहकारीलाई सुशासित र जोखिम तथा विकृति हटाउनका लागि प्रभावकारी कानून ल्याउन जरुरी रहेको धारणा राखे । सहकारीका सञ्चालकहरु इमान्दार, विवेकी र सिर्जनशिल भए संस्थामा सुशासन कायम गर्न सहज हुने घिमिरेले बताए ।

नेफ्स्कूनका सञ्चालक एवम् बारा जिल्ला बचत तथा ऋण केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले बारा जिल्लाले छोटो अवधिमा सहकारी अभियानको विकास र मध्यतराईकै सहकारी आन्दोलनको अगुवाई गर्ने बताए । त्यस्तै वार्षिक साधारणसभा हेबिट्याट फर हयुम्यानिटी नेपालले “अर्थपूर्ण जीवनका लागि आवास” विषयक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको थियो । १४६ सदस्य संस्थाहरु रहेको संघले बचत परिचालन, अन्तरलगानी र क्षमताअभिवृद्धिका लागि विभिन्न क्रियाकलापहरु गरिरहेको छ ।

कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोकलगायत देशव्यापी रुपमा गएको बाढीपहिरोपिडितहरुलाई घोषणा गरेको ३१,१११ रुपैंया सहयोग अध्यक्ष कृष्ण पौडेलले राष्ट्रिय सहकारी संघ नेपाल का अध्यक्ष केशव बडाल र नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेलाई हस्तान्तरण गरे । वार्षिक साधारणसभाले बारामा प्रस्तावित अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण गर्ने कार्य अघि बढाउन तथा बन्द रहेको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानालाई सहकारी अवधारणमा सञ्चालन ल्याउन सरकारसंग मागसमेत गरेको छ ।

अभिलेख

लोकप्रिय