२० कात्तिक २०८३, शुक्रबार

सहकारीहरुको व्यवस्थापनमा सञ्चालकहरु जिम्मेवार हुनुपर्ने

२०७१ भदौ १२, बिहिबार
सहकारीहरुको व्यवस्थापनमा सञ्चालकहरु जिम्मेवार हुनुपर्ने

सिमरा, १२ भदौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरु मुलुकको आर्थिक सामाजिक रुपमा समावेशी विकासका आधार भएकोले यसको प्रभावकारी सञ्चालन र विस्तारमा सहकारीकर्मीहरु गम्भिर हुनुपर्ने बताएका छन् ।

बुधबार बाराको कलैयामा जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले बचत तथा सहकारीहरु सञ्चालन तथा व्यवस्थापन जटिल र चुनौतिपूर्ण देखिएकोले सुशासन र स्वनियमनमा सहकारीहरु लाग्नुपर्ने पौडेलले बताए ।

समुदायमा आधारित, जोखिमरहित र गुणस्तरयुक्त सहकारी निर्माण अभियानमा नेफ्स्कून प्रतिवद्ध रहेको बताउदै उनले सहकारी अभियान र सञ्जालमा सामेल भएर सीप र प्रविधिको स्थानीयकरण गरी सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सहकारीहरु जिम्मेवार हुनुपर्ने धारणा राखे ।

डिभिजन सहकारी कार्यालय बाराका प्रमुख मुरारी तिमल्सेनाले सबै सहकारीहरुलाई समयमा नै लेखापरीक्षण सम्पन्न गरी वार्षिक साधारणसभा आयोजना गर्न आग्रह गरे । कार्यक्रमले आगामी भाद्र १७ गते कलैयामा आयोजना हुन लागेको संघको पांचौ वार्षिक साधारणसभा र राष्ट्रिय सहकारी संघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रम सफल हुन सबै सहकारीकर्मीहरु र संस्थाहरु क्रियाशिल हुने निर्णयसमेत गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघ नेपालका नवनिर्वाचित अध्यक्ष, पूर्वमन्त्री एवम् माननीय सभासद केशव बडाल, बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, महिला उपाध्यक्ष एवम् माननीय सभासद ओमदेवी मल्ल जोशी र लेखा समितिका संयोजक धर्मदत्त देवकोटालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र माननीय सभासद फर्मुल्लाह मंसुर लगायतको विशेष आतिथ्यता रहनेछ । सोही दिन ह्याविट्याट फर हुम्यानिटीज नेपालले सुरक्षित आवाससम्वन्धी अभिमुखीकरणसमेत रहेको छ ।

कार्यक्रममा बोल्दै बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले जिल्लाभरका बचत तथा ऋण सहकारीहरुको व्यवस्थित सञ्चालन र गुणात्मक विकासमा संघ क्रियाशिल रहेको बताए ।

अभिलेख

लोकप्रिय