२० कात्तिक २०८३, शुक्रबार

सहकारी आन्दोलन नेपालको माटो सुहाउँदो छःअधिकारी

२०७१ भदौ १०, मङ्गलबार
सहकारी आन्दोलन नेपालको माटो सुहाउँदो छःअधिकारी

काठमाडौं, १० भदौ- पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले उत्पादन क्षेत्रमा सहकारी जान जरुरी रहेको बताएका छन् । भारत जयपुरमा रहेको महिला सहकारीले उत्पादन गरेको निच्च पापड विश्व बजारमा छाएको उदाहरण दिँदै उनले नेपालको सहकारी पनि उत्पादन क्षेत्रमा जानुपर्ने बताए ।
पाँचतार बचत तथा ऋण सहकारीको साधारणसभामा बोल्दै अधिकारीले भने, “यो क्षेत्रमा धेरै सम्भावना छ, यसतर्फ ध्यान केन्द्रित गर्नुहोस् ।”सहकारी आन्दोलन नेपालको माटो सुहाउँदो रहेको भन्दै यसमार्फत देशको आर्थिक विकास गर्न सकिने अधिकारीले बताए । आफू अर्थमन्त्री हुँदा सहकारीलाई प्रसस्त बजेट व्यवस्था गरेको र उच्चतम प्राथमिकतामा राखेको भए पनि अहिलेको सरकारले सहकारीलाई बेवास्ता गर्दै अत्यन्त न्यून बजेट व्यवस्था गरेको अधिकारीले आरोप लगाए । उनले १५ प्रतिशत मानिस रोजगारीका लागि विदेश जाने गरेको र २३ प्रतिशत मानिस गरिवीको रेखामुनि रहेको अवस्थामा वचत तथा ऋण सहकारीले पुँजी र रोजगारको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुपर्ने बताए ।
राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले स्थानीय व्यक्तिबाट सञ्चालित संस्था भरपर्दो हुने बताए । संस्थाका अध्यक्ष भोला नाथ पाठकले राज्यले गलत नीति लिए सम्पूर्ण सहकारी क्षेत्र र त्यसमा लाग्नेहरूको भविष्य अन्धकार हुने भएकाले स्पष्ट नीति लिन आग्रह गरे । २  हजार २ सय १८ सेयर सदस्य भएको संस्थाले आर्थिक वर्ष ०७०÷०७१ सम्ममा ३ करेड ९६ लाख पुँजी संकलन गरेको छ । उक्त अवधिसम्ममा संस्थाले १३ करोड ४६ लाख निक्षेप संकलन, १५ करोड ५३ लाख कर्जा लगानी गरी ४८ लाख २४ हजार खुद नाफा गरेको साधारणसभामा जानकारी दिइयो ।

अभिलेख

लोकप्रिय