२० कात्तिक २०८३, शुक्रबार

जलविद्युतमा सहकारीको १५ लाख लगानी,उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन

२०७१ भदौ ७, शनिवार
जलविद्युतमा  सहकारीको १५ लाख लगानी,उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन

जलविद्युत्को क्षेत्रमा सामूहिक लगानीको अवधारणा विकसित हुँदै गरेको म्याग्दीमा इनर्जी प्रालिको घलेम्दी जलविद्युत् आयोजनाले जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्था, सहकारी र सर्वसाधारणलाई पनि जलविद्युत्को क्षेत्रमा लगानी गर्ने वातावरण मिलाइ दिएको हो ।
बेनीमा अवस्थित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाले घलेम्दी जलविद्युत् आयोजनामा क्रमशः १० र पाँच लाख रुपैयाँ लगानी गरेका छन् । ‘यसले सहकारीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद मर्सानीले बताए । जिल्लामा २०० को हाराहारीमा रहेका सहकारीले जलविद्युत्, कृषि र पर्यटनको क्षेत्रमा सामूहिक लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने उनको भनाइ थियो ।

म्याग्दी, ७ भदौ । म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेका दुईवटा सहकारी संस्थाले जलविद्युत्मा रु १५ लाख लगानी गरेका छन् । सामूहिक लगानी गर्ने वातावरण मिलेको खण्डमा सदरमुकाममा रहेका दुई दर्जनभन्दा बढी सहकारी संस्थाले तीन मेघावाटसम्म विद्युत् उत्पादन गर्न लगानी गर्न सक्ने जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष देउप्रसाद छन्त्यालले जानकारी दिए ।

लगानीको अभावमा दर्ता भएका जलविद्युत् आयोजना अगाडि बढ्न नसकेको अवस्थामा सहकारीले जलविद्युत्मा लगानी गर्ने प्रयास सकारात्मक भएको बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए।
म्याग्दीमा रहेका विभिन्न खोलाबाट एक हजार २०० मेघावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने भए पनि लगानीको अभावमा काम भने हुन सकेको छैन ।

फोटोः इन्टरनेटबाट

अभिलेख

लोकप्रिय