२० कात्तिक २०८३, शुक्रबार

नेपाल– भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल

२०७१ भदौ ५, बिहिबार
नेपाल– भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच भेटवार्ता भएको छ । भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न दलहरुबीच जारी प्रयत्न तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा नेता नेपाल र राजदूत रेबीच भएको कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले हालै गरेको नेपाल भ्रमण सकारात्मक भएको र आगामी दिनमा नेपाल– भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।
नेपालको हित एवम् द्विपक्षीय सम्बन्धलाई समेत ध्यानमा राख्दै जलस्रोत तथा ऊर्जासम्बन्धी आवश्यक तयारीसहित आगामी भ्रमणलाई थप उपलब्धिमूलक बनाउने विषयमा पनि उनीहरुबीच कुरा भएको जानकारी दिए ।
भेटमा भारतीय राजदूतले दलहरुबीच संविधान निर्माणका विषयमा पछिल्लो समयमा भइरहेका सहमतिको प्रयास र समयमै संविधान जारी हुने वा नहुने सम्भावनाका विषयमा समेत जिज्ञासा राखे ।

अभिलेख

लोकप्रिय