२० कात्तिक २०८३, शुक्रबार

नेपाल–भारत सम्बन्ध अत्यन्त सुमधुर- उपराष्ट्रपति

२०७१ भदौ १, आईतवार
नेपाल–भारत सम्बन्ध अत्यन्त सुमधुर- उपराष्ट्रपति

काठमाडौं । नेपाल–भारत सम्बन्ध अत्यन्त सुमधुर रहेको उपराष्ट्रपति परमानन्द झाले बताएका छन् । सगरमाथामा हिउँ र सागरमा पानी बगुन्जेल यो सम्बन्ध अटल रहोस् भन्ने कामना झाले गरे ।

भारतको ६८औंँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले शनिवार आयोजना गरेको कार्यक्रममा उनले शताब्दीऔं पुरानो दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन सकिने बताए । “काठमाडौँ र नयाँदिल्लीबीचको राजनीतिक सम्बन्धले नुनदेखि पेट्रोलियम पदार्थ आयात सहज भए पनि जनस्तरको सम्बन्ध झन् महत्वपूर्ण हुन्छ, यसलाई पनि उत्तिकै महत्व दिनुपर्छ” दुवै देशका जनताले एक अर्काका मुलुकमा सम्मान एवम् सुविधाजनकरुपमा रुपमा आवतजावत गर्न नपाएको दुखेसो गर्दै उपराष्ट्रपतिले भने ।

दुई देशबीचका सम्बन्धमा बेला बेलामा देखापर्ने समस्या आपसी समझदारी र विवेकबाट समाधान गर्न सकिन्छ भन्नेमा नेपाल र नेपाली विश्वस्त रहेको उनले बताए ।

अर्थमन्त्री डा रामशरण महतले नेपाल र भारतमा जननिर्वाचित सरकार रहेका र दुवै देशले पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्य गर्ने अभीष्ट अभिव्यक्त गरिरहेका परिप्रेक्ष्यमा झिनामसिना विषयमा नअल्झिएर बृहत् राष्ट्र हितका खातिर काम गर्नुपर्नेमा जोड दिए ।
भारतीय प्रधानमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणले आपसी सहयोग र सहकार्यको सन्देश प्रवाह गरेको बताउँदै उनले जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा भारतीय लगानी भित्र्याउन अब ढिलो गर्न नहुने बताए ।

“राष्ट्रिय हित कसरी संरक्षण गर्ने भन्नेबारेमा संसारका सबै देशका सरकारलाई ज्ञान छ, कसैले कसैलाई ठग्न सक्दैन” उनले भने– ‘निजी क्षेत्रको भारतीय कम्पनीसँग आयोजना विकास सम्झौता गर्न खोज्दा नकारात्मक टीकाटिप्पणी गरेर देशको आर्थिक विकासमा भाँजो हाल्ने अधिकार कसैलाई छैन ।’

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री मोदीको भ्रमण र त्यसअघि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकको सिलसिलामा भारतीय विदेशमन्त्रीबाट भएको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।
लामो समयदेखि थाती रहेका विषयलाई निचोडमा पुर्याउन भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुषमा स्वराजको भ्रमण उपलब्धिमूलक भएको बताउँदै परराष्ट्रमन्त्रीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि नेपाल–भारत सम्बन्धमा ती भ्रमणले नयाँ आयाम थपेको बताए ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अनादिकालदेखिको नेपाल– भारत सम्बन्ध वेद र उपनिषद्मा समेत उल्लिखित भएको बताउँदै प्रधानमन्त्री मोदीको हालैको भ्रमणले गौरवशाली सम्बन्धको आधारलाई अझ मजबुत पारेको विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले नेपाल–भारत सम्बन्धलाई नवीन सोचका साथ अघि बढाउने सोच प्रधानमन्त्री मोदीको भ्रमण र उनले शुक्रबार दिएको वक्तव्यबाट समेत पुष्टि हुन्छ भन्दै प्राप्त अवसरलाई पारस्परिक लाभका निम्ति भरपूर उपयोग गर्नुपर्ने औँल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जशराले मोदीको भ्रमणबाट नेपालमा सकारात्मक सन्देश प्रवाह भएकोे बताउँदै भारत सरकारको आर्थिक नीति हेरेर मात्र अन्य पक्षमा टिप्पणी गर्न सकिने बताए ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री मोदी ‘गरेर देखाउने’ नेता रहेको र उनले गुजरातमा ‘गरेर’ देखाएको बताउँदै विकासप्रेमी उहाँले भारतको मात्र नभई सवै छिमेकीको उन्नतिको चाहना व्यक्त गरे ।

पिटिए र पिडिए गर्नैपर्छ
सम्बोधनका क्रममा अर्थमन्त्री डा महत, पूर्वअध्यक्ष रेग्मी र पूर्वअर्थमन्त्री अधिकारीले बारम्बार भारतसँग विद्युत् खरिद सम्झौता (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) गर्नुपर्नेमा जोड दिए । नेपालको आर्थिक समृद्धिका निम्ति ढोका खोल्ने पिटिए र पिडिए पारस्परिक लाभ प्रदान गर्ने विषय भएकाले कहीँ कतैबाट अर्घेलो थापिन नहुने उनीहरुको भनाइ थियो । नेपाल र भारत ती विषयमा लचिलो हुनैपर्ने उनीहरूको कथन थियो ।

भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला पिडिए र पिटिए हुनेमा विश्वस्त दुवै देशका जनता त्यसो नहुँदा निरास भएको बताए । उपलब्ध जलस्रोतको भरपूर उपयोग गर्दै विद्युत् उत्पादन गरी भारत निर्यात गर्नुपर्नेमा अर्बौँ खर्च गरेर किन्नुपर्ने बाध्यताबाट मुक्त हुन पनि पिडिए र पिटिए हुनैपर्नेमा उनीहरूको मतैक्य थियो ।

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना र अन्य आयोजनाबाट उत्पादन हुने बिजुली खरिद सम्बन्धमा नेपाल र भारतबीच प्रधानमन्त्री मोदीका भ्रमणका बेला सम्झौता गर्ने तयारी भएको थियो ।

भारतद्वारा झन्डै पाँच करोड सहयोग
सोही समारोहमा राजदूत रे ले बाढीपहिराबाट पीडित नेपालीलाई सहयोगस्वरुप भारत सरकारले चार करोड ८० लाख प्रदान गरेको घोषणा गरे । उनले नेपालका दैवीप्रकोप पीडितलाई सघाउन भारत सरकारले तीन हेलिकप्टर र एउटा विमान तयारी हालतमा राखेको जानकारी दिँदै बाढीपहिरो पीडितलाई सहयोग गर्न भारत सरकार सधैंँ तत्पर रहेको बताए ।

अभिलेख

लोकप्रिय