२० कात्तिक २०८३, शुक्रबार

आन्तरिक उडान प्रभावित

२०७१ साउन २९, बिहिबार
आन्तरिक उडान प्रभावित

काठमाडौं, २९ साउन । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज प्रभावित भएका छन् ।

बिहानदेखि भएको वर्षाका कारण आज बिहानको सबै पर्यटकीय र दुर्गम गन्तव्यका उडान प्रभावित भएका हुन् । यस्तै वर्षाकाकारण  पोखरा, विराटनगर, सिमरा, भरतपुर, नेपालगन्ज, धनगढी, भद्रपुरलगायतका गन्तव्यका उडान पनि आंशिक  प्रभावित भएको छ ।

धावनमार्गमा अत्याधिक पानी परेको र ‘भिजीविलिटी’समेत नभएका कारण निजी सेवा प्रदायकले दुर्गमका गन्तव्यमा उडान नगरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

नेपाल वायु सेवा निगमले सुगम गन्तव्यमा उडान गरेको, निजी सेवा प्रदायक बुद्ध र यति एयरले दिउँसो भैरहवा र नेपालगन्ज उडान गरेपनि अन्य स्थानमा भने उडान गरेका छैनन् ।

आन्तरिक उडान हुन नसक्दा विमानस्थलको आन्तरिक कक्षमा यात्रुको ठूलो भीड लागेको थियो । सामान्यतया हिमाली दृश्यावलोकनको उडान विहान ६.०० बजे नै हुने गर्दछ । आज ती कुनै पनि उडान हुन नसकेको र अन्य दुर्गम स्थानको सबै उडान प्रभावित भएको हो ।

विमानस्थलबाट आन्तरिक गन्तव्यमा दैनिक एकसयभन्दा बढी उडान हुने गरेको छ । निगमका प्रवक्ता सरोज कसजुले एम ६० जहाजले भैरहवा र विराटनगर उडान गरेको जानकारी दिदै नेपालगन्जबाट कर्णाली अञ्चलमा हुने उडान भने रोकिएको बताए ।

टिवनअटर जहाजबाट कर्णालीको जुम्ला, हुम्ला र डोल्पामा हुने उडान वर्षाका कारण हुन नसकेपछि काठमाडौँ फर्किएको बताए ।

अभिलेख

लोकप्रिय