२१ कात्तिक २०८३, शनिवार

बैंकर रविना श्रेष्ठले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

२०७१ साउन २८, बुधबार
बैंकर रविना श्रेष्ठले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। बैंकर रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्। मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धकसमेत रहेकी श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी हुन्।
अवार्ड आउने भदौ २१ गते मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भव्य समारोहकाबीच प्रदान गरिनेछ।
एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए।
देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको फेडेरेशनले जनाएको छ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताएकी छन्। ‘बैंकिङ क्षेत्र, अझ त्यसमा पनि ग्रामीण बैंकिङमा निरन्तर दुई दशकसम्म मैले पुराएको योगदानको कदरका रुपमा मैले यसलाई लिएको छु,’ श्रेष्ठले भनिन्, ‘यो म जस्ता संघर्षशील सबै नेपाली महिलाको जित हो।’
श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन्। यसअघि पनि उनले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी छन्।
नेपाली महिलाले यो अवार्ड पाएको पहिलो हो। इप्लानेट प्रालिका सन्तोष सापकोटाको आधिकारिक पहलमा नेपालको तर्फबाट श्रेष्ठको नाम मनोनयनका लागि पठाइएको थियो।
सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका महिलामध्येबाट उत्कृष्ट महिलालाई छानेर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्छ।
मलेसियामा मुख्यालय रहेको एइइएफका संस्थापक प्रोफेसर डाटो सेरी पादुका र डा. रोविन तान हुन्। संस्थामा मलेसियाबाहेक चीन, हङकङ र ताइवानका व्यक्तिहरु आबद्ध छन्।

अभिलेख

लोकप्रिय