सहकारी र उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूरक अनुदान कार्यक्रम
बागलुङ, २७ साउन । कृषिको व्यवसायीकरणका लागि जिल्लामा सुरु भएको लघु अनुदान कार्यक्रमका लागि १९३ आयोजनाको प्रस्तावसहित आवेदन परेको छ ।
कृषि मन्त्रालयद्वारा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गत सुरु भएको उक्त कार्यक्रमका लागि कृषक समूह, सहकारी तथा कृषि उद्यमीबाट गरी १९३ आयोजना प्रस्ताव आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कृषक समूह, सहकारी र उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूरक अनुदान कार्यक्रम सुरु भएपछि आवेदन दिनेको सङ्ख्या बढेको हो । यसअघि गत साउन ८ गतेसम्म प्रस्ताव पेस गर्नका लागि अवधि तोकिए पनि पछि पुनः साउन २३ गतेसम्म आवेदन माग गरिएको थियो ।
अनुदानका लागि जिल्लामा कृषि र पशु सेवातर्फ गरी पाँच कृषिउपज (मूल्य शृङ्खला) कायम गरिएकामा कृषितर्फ ६६ र पशु सेवातर्फ १२७ आयोजना प्रस्ताव आएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत भरत खड्काले जानकारी दिनुभयो । कृषि विकासतर्फ सुन्तला, अदुवा र ताजा तरकारी उत्पादन र पशु सेवातर्फ दूध उत्पादनमा गाई, भैँसी तथा मासुजन्यमा बाख्रापालनका लागि कृषकले आयोजना प्रस्ताव गरेका छन् ।
पशु सेवातर्फ बाख्रापालनका लागि ८५ र गाईभैँसीपालनका लागि ४२ आयोजना प्रस्ताव दर्ता भएको पशु विकास अधिकृत नीलकण्ठ शर्माले बताउनुभयो ।
आवेदकमध्ये छनोट भएका अनुदानग्राहीले बढीमा रु १० लाखसम्म अनुदान पाउनेछन् । लघु अनुदानका लागि जिल्ला कृषि विकास समितिको निर्णयबाट छनोट भएका मध्ये तोकिएका मूल्य शृङ्खलामा आबद्ध कृषक समूह, सहकारी तथा कृषि व्यवसायीहरूले प्रस्ताव पेस गर्न पाउने व्यवस्था मिलाइएको थियो ।
रु १० लाख अनुदान पाउने आयोजनामा २५ प्रतिशत लगानी अनुदानग्राही स्वयम्ले गर्नुपर्ने प्रावधान छ । दर्ता भएका प्रस्तावहरूको योग्यता र प्राविधिक मूल्याङ्कन कृषि र पशु सेवा कार्यालयले नै गर्ने व्यवस्था छ ।
कृषि÷पशु क्षेत्रीय निर्देशकको अध्यक्षतामा गठित समितिले स्थलगत प्रमाणीकरणपछि अन्तिम छनोट गर्नेछ । प्राविधिक तथा वित्तीय मापदण्डका आधारमा प्रस्ताव छनोट गरिने व्यावसायिक कृषि तथा व्यापार आयोजनाले जनाएको छ ।
सर्त तथा मापदण्ड पूरा गर्न सके सबै आवेदकले अनुदान पाउने र पूरा गर्न नसके कसैले पनि नपाउनसमेत सक्ने आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय कास्कीका मुख्य अधिकृत डा रामनन्दन तिवारीले बताउनुभयो ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना विज्ञ, क्षेत्रीय कृषि तथा पशु विकास निर्देशकलगायतको टोलीले आवेदन दिएका कृषि समूह, सहकारी तथा उद्यमीहरूको स्थलगत अनुगमन तथा प्रमाणीकरणपछि छनोट गरिने अधिकृत तिवारीले जानकारी दिनुभयो ।
अनुदान पाउन एउटैमात्र मूल्य शृङ्खला तोक्नुपर्ने, वातावरणमैत्री तथा सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, पुँजीगत क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने, वार्षिक कारोबार बढीमा रु २० लाखमात्र हुनुपर्ने, उद्यम व्यवस्थापनमा उद्यमी भएर संलग्न हुनुपर्ने, उद्यमीसमेत गरेर बढीमा नौ जनासम्म श्रमिक कार्यरत रहनुपर्नेजस्ता योग्यता तथा सर्तहरू तोकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
