२० कात्तिक २०८३, शुक्रबार

चियामा आइपिएम प्रविधिको छलफल

२०७१ साउन २७, मङ्गलबार
चियामा आइपिएम प्रविधिको छलफल

भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरमा चिया प्रविधि तथा व्यवस्थापनमा अध्ययनरत विद्यार्थी र साना चिया उत्पादक किसानबीच ‘आजको समयमा चिया उप्पादनमा आइपिएम प्रविधिको महत्व’ विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न भयो ।

झापाको चन्द्रगढी–१ कलबलगुडीस्थित हर्क चिया बगानमा विद्यार्थीले अध्ययनमा सिकेका जानेका कुरा किसानसँग बाँड्ने र किसानले गर्दै आएको चियाखेती प्रणालीलाई विद्यार्थीले बुझ्ने लक्ष्य लिई सो कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यार्थीद्वय सुष्मा बास्तोला र किशोर धमलालगायतका विद्यार्थीले आइपिएम (एकीकृत शत्रु जीव व्यवस्थापन) प्रविधि, इतिहास, प्रकार, पद्धति र फाइदाको बारेमा प्रकाश पारेका थिए । चिया किसान सतेन्द्रकुमार कर्ण, पूर्णबहादुर कार्की र गोपाल खड्काले आफूले गर्दै आएको चियाखेतीको पद्धतिबारेमा जानकारी गराएका थिए ।

माधव विद्रोहीले यो समय अर्गानिक पद्धतिमा जाने बेला भएकाले आइपिएममा जान अब ढिलो गर्न नहुने बताए ।

कार्यक्रममा आफूले विगत सात वर्षदेखि आइपिएम प्रविधिमा चिया उत्पादन गरे पनि उपयुक्त मूल्य नपाएको हर्क चिया बगानका निर्देशक गोपाल खड्काले उल्लेख गरे ।

आइपिएम प्रविधि राम्रो प्रविधि भए पनि किसानलाई बुझाउन गाह्रो भएको चिया किसान सतेन्द्रकुमार कर्णले बताए । आइपिएम पद्धतिमा जाने किसानलाई सरकारले कुनै पनि सुविधा नदिएको र यसमा सरकारले ध्यान दिन जरुरी भएको अर्का चिया किसान पूर्णबहादुर कार्कीले बताए ।

अभिलेख

लोकप्रिय