२० कात्तिक २०८३, शुक्रबार

पर्यटकको सुविधाका लागि १२० होटल खुले , ८३ करोड लगानी

२०७१ साउन २४, शनिवार
पर्यटकको सुविधाका लागि १२० होटल खुले , ८३ करोड लगानी

म्याग्दी २३ साउन । पहाडी जिल्ला म्याग्दीमा पर्यटकको सुविधाका लागि १२० वटा होटल खुलेका छन् । सदरमुकाम बेनी, घोरेपानी, शिख, भुरुङ तातोपानी, दाना, सिङ्गा तातोपानी र दरवाङलगायतका ठाउँमा सञ्चालन भएका होटलमा रु ८३ करोडभन्दा बढी लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ ।
म्याग्दी जिल्लामा पर्यटकलाई लक्षित गरी खोलिएका १२० वटा होटलमा रु ८३ करोड १० लाख लगानी भएको समितिका प्रमुख प्रशिक्षक प्रवीण बस्नेतले जानकारी दिनुभयो । समितिमा २०५२ सालयता दर्ता भएका पर्यटनसम्बन्धी होटलको सङ्ख्या १०० नाघेको र नयाँ होटल खुल्नेक्रम बढेको जनाइएको छ ।
प्रशिक्षक बस्नेतका अनुसार म्याग्दीका होटलमा २४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रु दुई लाख २८ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।
वार्षिक ३० हजार जनाको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रने म्याग्दीमा रु एक लाखदेखि एक करोडभन्दा बढी लगानी भएका होटल रहेका छन् ।

आम्दानीका हिसाबले छिटो र सजिलो पेसा भएकाले होटल व्यवसायमा पछिल्लो समय आकर्षण बढेको वरिष्ठ उद्योग विकास अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।
भारतीय र आन्तरिक पर्यटकको चाप बढेकाले नयाँ होटल खुल्ने र पुरानाले सुविधा बढाउने गरेका छन् । अहिले म्याग्दीका सबैजसो गाउँमा खाने बस्ने सुविधा भएका होटल छन् ।
पाँच वर्षअघिसम्म सदरमुकाममै बास नपाएर सडकमै रात कटाउनुपर्ने समस्या रहेकामा अहिले म्याग्दीको जुनसुकै ठाउँमा पुगे पनि त्यस्तो समस्या नपर्ने होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।

अभिलेख

लोकप्रिय