२० कात्तिक २०८३, शुक्रबार

उन्नत जातको खसी उत्पादन–तीन महिनामा २२ केजी

२०७१ साउन १७, शनिवार
उन्नत जातको खसी उत्पादन–तीन महिनामा २२ केजी

मोरङ , १७ साउन । मोरङ जिल्लामा उन्नत जातको खसी बाख्राको उत्पादन तथा बिक्री वितरण सुरु भएको छ ।  जिल्लामा उन्नत जातको बाख्रा उत्पादन सुरु भएपछि भारतबाट आयात हुने बाख्राको कमी हुने विश्वास लिइएको छ ।
मोरङको दर्वेशा–१ मा बाख्रा उत्पादनका लागि सञ्चालन गरिएको ‘सावित्रा बाख्रा फार्म’ मा उन्नत जातका पाठापाठी उत्पादन, बिक्री वितरण तथा प्रजननको काम हुने गरेको छ ।
गत वर्ष असार महिनामा रु चार लाखको लागतमा सुरु गरेको बाख्राको कारोबारअन्तर्गत हाल त्यहाँ रु २० लाखको कारोबार भएको उक्त फार्मका सञ्चालक फणीन्द्र सुवेदीले बताउनुभयो ।
नेपाल सरकारको कुनै पनि आर्थिक सहयोग नभई सप्तकोसी डेभलपमेन्ट बैंकद्वारा प्राप्त ऋणबाट सुरु गरिएको सो फार्ममा उन्नत जातका जमुना पारी, विटल, तराई बङ्गालीलगायतका बाख्रा पाल्ने र उत्पादन गर्ने गरिएको छ । सञ्चालक सुवेदीको आफ्नै जग्गामा गरिएको सो कारोबारअन्तर्गत ९० भन्दा बढी खसीबोका र पाठापाठी रहेको छ । हाल त्यहाँ तीन महिनामा २२ किलोग्रामसम्मको खसी उत्पादन भइरहेको छ ।
त्यस फर्मका लागि सुवेदीले एक बिघा जमिनमा घाँस तथा विभिन्न जातका बिरुवासमेत लगाउनुभएको छ । उक्त फर्ममा विदेशबाट रोजगार गरी फर्केका एक युवकसहित चार जनाले रोजगारी पाएका छन् ।
पशु स्वास्थ्य उपचार केन्द्र रङ्गेलीका प्रमुख अनिल झाले यस किसिमको उद्योगी एवम् व्यावसायिक फर्म खुल्दै गएमा भारतबाट आयात हुने खसीबोकामा कमी हुने र राष्ट्रिय उत्पादनमा वृद्धि हुने बताउनुभयो ।
परम्परागत रुपमा उत्पादित खसीबोकाका कारण मासुको उत्पादन  कमी भई मासुको मूल्य वृद्धि भएकाले व्यावसायिक रुपमा उन्नत जातको खसीको उत्पादन र बिक्री गर्नुपर्ने आवश्यकता रहेको रङ्गेलीका मासु व्यवसायी अहमद मियाँले भन्नुभयो ।
मोरङ जिल्लामा व्यावसायिक रुपमा बाख्रापालन गर्ने संस्था नगन्य रुपमा रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय