नेपालमा लगानी गर्न अमेरिकासँग आग्रह
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाललाई स्वदेशी तथा विदेशी लगानीको आकर्षक गन्तब्यस्थल बनाउने प्रयास थालिसकेको बताएका छन् । चालु आर्थिक बर्षको बजेटमा घोषणा गरेरै लगानी तथा व्यापारसँग सम्वन्धित कानूनहरुमा सुधार गरी नेपाललाई एक आकर्षक गन्तब्यस्थलको रुपमा स्थापित गर्ने प्रयास थालनी गरिएको स्पष्ट पारे । उनले व्यापार तथा लगानी संरचना सम्झौता (टिफा) अन्तर्गतको व्यापार प्रतिनिधि परिषद्को वैठक तयारीका लागि नेपाल आएका मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा बरसँगको भेटमा सो कुरा बताएका हुन् ।
अमेरिकी दूतावासका पदाधिकारीहरु समेत सम्मिलित उक्त भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नयाँ सरकार आएपछि आर्थिक एजेण्डालाई अगाडि बढाईरहेको, विदेशी लगानीकर्ताहरु पनि उत्साहित भएर सोधखोज गर्न थालेको, सरकारले सन २०२२ सम्ममा कम विकसित स्तरबाट विकासशील मुलुकको स्तरमा पुग्न भौतिक तथा कानूनी सुधार व्यापक मात्रामा गरिरहेको जानकारी पनि दिए ।
नेपालमा जलबिद्युत विकासको प्रचूर संभावना रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने ‘नेपालमा उत्पादन भएको उर्जा नेपालले मात्र उपभोग गर्न सक्दैन । त्यसैले ठूलो बजार प्राप्तिको लागि भारतसँग उर्जा व्यापार सम्झौता हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका यो सम्झौता हुने संभावना रहेको छ ।’
बजेटमा पनि सरकार आफैले कतिपय आयोजनाहरु आफै बनाउने र बिद्युत प्रसारण लाइनहरुको निर्माण गर्ने जस्ता कुराहरु उल्लेख भएको चर्चा गर्दै उनले आगामी दिनमा हुने ठूलो लगानीबाट उत्पादित बिद्युत छिमेकी देशमा बिक्री गर्न उर्जा व्यापार सम्झौता हुन लागेको हो । उनले जलविद्युतका साथै बन तथा खनिज, पर्यटन, कृषि जस्ता क्षेत्रमा पनि लगानी गरेर लाभ लिन सकिने संभावना भएकोले यस क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरु हिच्किचाउन नहुने पनि बताए । सो अवसरमा उनले भने, नेपाल र भारतबीच ठूलो व्यापारघाटा छ । नेपालले सय अर्बभन्दा बढीको कृषि उपजको आयात गर्ने गरेको छ भने कतिपय कृषि उपजहरु नेपालबाट पनि भारततर्फ निर्यात हुन थालेको छ । अलैची, चिया, कफी, अदुवा जस्ता कृषि उपजहरु भारततर्फ निर्यात हुन थालेको छ । अर्गानिक कफी त अमेरिकातर्फ समेत निर्यात हुन थालेको छ ।
अर्थमन्त्री डा महतले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई अनुकूल वातावरण निर्माण गरिदिनका लागि सरकारले लगानी तथा निर्यातसँग सम्वन्धित करिब अढाई दर्जनजति कानूनहरुलाई सुधार गर्ने तयारी भैरहेको जानकारी गराए । भारतका कम्पनीहरुलाई मात्र नेपालको जलबिद्युतमा लगानी गर्न दिन लागिएको भन्ने बारे कतिपय सञ्चार माध्यमहरुबाट आफूले थाहा पाएको भन्ने उपसहायक व्यापार प्रतिनिधि बरको जिज्ञासामा अर्थमन्त्री डा महतले भने शसञ्चार माध्यमहरुमा त्यस्तो कुरा उल्लेख भएको भए त्यो गलत हो । भारतीय कम्पनीहरुलाई मात्र लगानी गर्न दिने भनेर कहीं भनिएको छैन ।’
सन २०११ अप्रिलमा नेपाल र अमेरिकाबीच लगानी र व्यापार सम्वन्धी सम्झौता टिफा भएको थियो । यस सम्झौतालाई दुई देशको व्यापार तथा लगानी प्रवद्र्धनका लागि पहिलो कदमको रुपमा लिइएको छ । बरको भ्रमण दुई देशको व्यापार तथा लगानी बढाउन फलदायी हुने अपेक्षा गरिएको छ । बरले भारतका प्रधानमन्त्रीको भ्रमणताका हुन लागेको दुई मुलुकबीचको उर्जा व्यापार सम्झौतामा नेपालको उर्जा क्षेत्रमा भारतका लगानीकर्ताहरुलाई मात्र अनुमति दिन लागेको हो भनी जिज्ञासा रोखेका थिए । लगानीका लागि नेपालले केही कानूनहरुमा सुधार गर्नुपर्ने र त्यस्तो सुधार गरिएमा विदेशी लगानीकर्ताहरु र अमेरिकी लगानीकर्ताहरु पनि आउने जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारमा विकूको देउसीभैलो प्रतियोगिता, उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
