२० कात्तिक २०८३, शुक्रबार

कञ्चनपुरमा एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्या तेह्र

२०७१ साउन १४, बुधबार
कञ्चनपुरमा एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्या तेह्र

कञ्चनपुर, १४ साउन । कञ्चनपुरमा एक करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाको सङ्ख्या १३ पुगेको छ । बढ्दो सहरीकरणसँगै व्यापारिक कारोबारमा भएको वृद्धिले एक करोडभन्दा बढी कारोबार गर्ने सहकारीको सङ्ख्यामा वृद्धि भएको हो ।
स्थानीय समुदायको बचत गर्ने बानीको विकाससँगै सहकारीले फस्टाउने मौका पाएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका सूचना अधिकारी राजेन्द्र भट्टले बताए ।  उनका अनुसार सातवटा बचत तथा ऋण सहकारी, तीनवटा बहुउद्देश्यिय सहकारी, दुईवटा साना किसान कृषि सहकारी र एउटा उपभोक्ता सहकारी संस्थाले एक करोडभन्दा बढीको कारोबार गर्दै आएका छन् ।
यहाँको भीमदत्त नगरपालिका, झलारी, पिपलाडी, कृष्णपुर, रैकवार बिचवा, दैजी र चाँदनीमा रहेका १३ सहकारी संस्थामा ११ हजार २८७ सेयर सदस्य रहेका छन् । १३ वटै सहकारीमा आबद्ध सेयर सदस्यले रु चार करोड ४३ लाख ७७ हजार मूल्यको सेयर पुँजी जम्मा गरेका छन् ।
सहकारीको कोषमा रु एक करोड ८८ लाख ६२ हजार रकम रहेको छ । सहकारीमा आबद्ध सदस्यबाट सहकारीमा रु २२ करोड १३ लाख ९९ हजार निक्षेप सङ्कलन भएको छ ।
यसैगरी, रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने सहकारीको सङ्ख्या भने कञ्चनपुरमा तीन रहेको छ । उदयदेव, सिर्जनशील र साना किसान कृषि सहकारी संस्था सुडाले रु पाँच करोडभन्दा बढीको कारोबार गर्दै आएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका सूचना अधिकारी भट्टले बताए ।
उनका अनुसार ती सहकारी संस्थामा पाँच हजार ६०२ सेयर सदस्य आबद्ध रहेका छन् । सहकारी संस्थाको सेयर पुँजी रु दुई करोड ६७ लाख ३७ हजार रहेको छ । निक्षेप सङ्कलन रु १० करोड २१ लाख एक हजार र लगानी रु ३० करोड ५९ लाख ४४ हजार रहेको छ ।

अभिलेख

लोकप्रिय