२० कात्तिक २०८३, शुक्रबार

भेदभाव नगर्न होटल सङ्घद्वारा ध्यानाकर्षण

२०७१ साउन १३, मङ्गलबार
भेदभाव नगर्न होटल सङ्घद्वारा ध्यानाकर्षण

पोखरा, १३ साउन । राजधानी केन्द्रित गरी तरकारी तथा फलफूलमा विषादी मापन केन्द्र स्थापना गरी अन्य क्षेत्रलाई भेदभाव नगर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले  एक विज्ञप्ति जारी गरी विषादी मापनको सन्दर्भमा राजधानीमा मात्र केन्द्रित भई राजधानी बाहिर बस्ने जनता नै हैनन्जस्तो गरी सरकार प्रस्तुत हुनु दुःखद भएको बताउनुभएको छ  ।
विषादीरहित तरकारी खाने सबै क्षेत्रका जनताको नैसर्गिक अधिकार भएको  बताउँदै सङ्घले काठमाडौँमा विषको अवशेष भएको तरकारी नबेच तर अन्यत्र जता बेचे पनि हुन्छ भन्ने सरकारको मानसिकता भएजस्तो देखिएको जनाएको छ ।
काठमाडौँ र पोखरामा बिक्री हुने तरकारी लगभग एउटै क्षेत्र र जिल्लाबाट ढुवानी हुने गरेको स्मरण गराउँदै सङ्घले विषको अवशेष मापन गर्ने उपकरण पर्यटकीय नगरी पोखरालगायत अन्य जिल्लामा समेत यथासक्य छिटो स्थापना गर्नुपर्ने माग राखेको छ ।
त्यस्तो मापन कडाइका साथ गर्दै स्वस्थ फलफूल र तरकारी खाने जनताको अधिकार सुनिश्चित गर्नसमेत सङ्घका तर्फबाट गैरेले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
एक तथ्याङ्कअनुसार पोखरामा दैनिक ९० टनको हाराहारीमा फलफूल तथा तरकारी खपत हुने गरेको बताइन्छ ।

अभिलेख

लोकप्रिय