२० कात्तिक २०८३, शुक्रबार

सडक निर्माणको लागि ४ करोड भारतीय सहयोग

२०७१ साउन १३, मङ्गलबार
सडक निर्माणको लागि ४ करोड भारतीय सहयोग

सर्लाही, १२ साउन । भारतीय राजदूतावास, काठमाडौं र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालय जनकपुरबीच नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड ४४ लाख अनुदान सहयोग गर्न सम्झौता भएको छ । जिल्लामा ५ कि.मि सडक कालोपत्रे गर्न उक्त सम्झौता भएको हो ।

सर्लाही जिल्लामा रहेको भारत–नेपाल सीमा जोड्ने हालको गदीया–बलरा– लक्ष्मीपुर सडक जिर्ण अवस्थामा रहेकोले दैनिक यात्रुहरुलाई आवत–जावतमा कठिनाईलाई मध्येनजर गरी सहयोग गरेको हो । माटो भर्ने देखि कालोपत्रे गर्ने सम्मको सडक स्तरोन्नती कार्यबाट जिल्लाका ५० हजार जनतालाई लाभ पुग्ने जनाएको छ । यसले जनतालाई गुणस्तरीय सडक संजाल सुविधा, जिल्लामा नागरिक सेवा सुधार, नेपाल र भारतका सीमा बजारसँग राम्रो पहुँच प्रदान गरि दुई देशबीच आर्थिक सम्वन्ध अझ वृद्धि गर्ने दुतावासनाएको छ ।

परियोजना सडक विभाग, सडक डिभिजन कार्यालय जनकपुरद्वारा नेपाल सरकारको नीति नियम अनुसार कार्यान्वयन गरिनेछ र यी निकायहरु परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि पूर्णतया जिम्मेवार रहने जनाएको छ । परियोजना प्रभावकारी ढंगले समयमै समापन भए÷नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नको लागि नगरपालीकाका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु सम्मिलित एक अनुगमन समिति समेत गठन गरिएको छ ।

यस परियोजनाको अतिरिक्त, भारतको ७.५५ करोड सहयोगमा सर्लाही जिल्लामा छ वटा परियोजनाहरु सम्पन्न गरिसकिएको छ भने ने.रु. २२.८१ करोड लागतमा आठ वटा परियोजनाहरुको कार्य जारि रहेको छ जस अन्तर्गत विद्यालय भवन निर्माण, नदी नियन्त्रण कार्य, ग्रामीण विद्युतीकरण तथा कलभर्ट र ढल निर्माण रहेका छन् । जिल्लामा प्रयोग गर्नेगरि जिल्लाका विभिन्न संस्थाहरुलाई ७ वटा एम्वुलेन्सहरु तथा १ स्कुल बस पनि उपहार स्वरुप प्रदान गरिएको छ ।

नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात गर्दै सो को लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिवद्ध रहेको जनाएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ४९० भन्दा धेरै परियोजनाहरुको लागत  ने.रु. ६५०० करोडभन्दा बढी रहेको छ ।

अभिलेख

लोकप्रिय