१७ वैशाख २०८३, बिहिबार

सामूहिक तरकारी खेतीमा सहकारी, व्यावसायिक उत्पादनमा जोड

२०७१ साउन १०, शनिवार
सामूहिक तरकारी खेतीमा सहकारी, व्यावसायिक उत्पादनमा जोड

झापा, १० साउन । बौद्धमोड कृषि सहकारी संस्था लिमिटेड बाहुन्डाँगी–४, झापाद्वारा आयोजित व्यावसायिक कृषि उत्पादन बजारीकरणको वर्तमान अवस्था विषयक अन्तक्र्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो । परम्परागत कृषि पेसालाई व्यावसायीकरण गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीले सामूहिक रुपमा तरकारी खेती गरेको छ ।

धुलाबारी निवासी त्रैलोक्य न्यौपानेको पाँच बिघा खेत पाँच वर्षका लागि भाडामा लिई सो सहकारीले अहिले चार बिघा खेतमा बोडी लगाएको छ । सो क्षेत्रमा गएको वर्षमा सहकारीले टमाटर, कोबी र बोडी खेती गरिएको थियो भने यस वर्ष चार बिघा खेतमा बोडीमात्र लगाइएको कार्यक्रममा जानकारी गराइयो ।

गएको वर्षमा कोबीबाट ४९ हजार, बोडीबाट एक लाख ४८ हजार र टमाटरबाट १८ लाख २३ हजार आम्दानी भएको थियो । सो खेतीबाट सहकारीले १३ लाख ५४ हजार खर्च कटाई कुल छ लाख बचत गर्न सफल भएको थियो । अहिले बोडी प्रतिकिलो १० मा बिक्री भइरहेको र लगभग छ हजार केजी बोडी कृषि थोक बजार विर्तामोडमा लगेर बिक्री गरेको जनाइएको छ । अझ पनि बोडी फल्ने मौसम रहेकाले राम्रो आम्दानी गर्न सफल हुन नसकेपनि घाटा नहुने सहकारीका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।

सहकारीले सो खेतमा २५ जना मजदुर नियमित काममा लगाएको छ भने तीनजना कर्मचारीलाई मासिक तलबको व्यवस्था गरेको छ । कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सिनाले जोखिमपूर्ण यो व्यवसायबाट प्रशस्त लाभ लिन कृषक सचेत आफै हुनुपर्नेमा जोड दिए ।

अभिलेख

लोकप्रिय