२० कात्तिक २०८३, शुक्रबार

एक खर्ब ४० अर्ब ४४ करोड राजस्व असुली

२०७१ साउन ८, बिहिबार
एक खर्ब ४० अर्ब ४४ करोड राजस्व असुली

काठमाडौँ, ८ असार । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७०÷७१ को असार मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ४४ करोड २८ लाख ९६ हजार राजस्व असुली भएको जनाएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११९ प्रतिशतको वृद्धि हो ।
विभागले बुधबार गरेको मासिक समीक्षा कार्यक्रममा असार महिनासम्मको लक्ष्य रु एक खर्ब ३७ अर्ब ७५ करोड ८२ लाख ३५ हजार रहेकामा लक्ष्यको तुलनामा १०२ प्रतिशतको प्रगति भएको जनाएको हो ।
सो अवधिमा आयकर रु ७७ अर्ब ८० करोड ६३ लाख ८० हजार, मूल्य अभिवृद्धि कर रु ३४ अर्ब ३७ करोड ५६ लाख ५५ हजार र अन्तःशुल्क रु २७ अर्ब ३८ करोड ५६ लाख १० हजार असुली भएको छ । सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकरतर्फ १०१ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०५ प्रतिशत र अन्तशुल्कतर्फ १०२ प्रतिशतले बढी हो ।
त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु ४३ करोड ४७ लाख ५५ हजार र रु ४४ करोड ४ लाख ९६ हजार असुली भएको छ । यसरी शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ११४ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ११६ प्रतिशतले बढी सङ्कलन भएको छ ।
समीक्षा कार्यक्रममा महानिर्देशक टङ्कमणि शर्माले सम्पूर्ण राजस्व प्रशासनका कर्मचारीको क्रियाशीलताका कारण पछिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा दुई अर्ब ६८ करोड बढी राजस्व असुली गर्न सफल भएको भन्दै सो कार्यलाई निरन्तरता दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्रका ठूला करदाता कार्यालयलगायत आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले आ–आफ्ना कार्यालयको राजस्व असुली तथा काम कारबाहीमा आइपरेका समस्याबारे विभागलाई जानकारी गराएका थिए ।

अभिलेख

लोकप्रिय