२० कात्तिक २०८३, शुक्रबार

महिला सहकारी संस्थाहरू दिनदिनै आत्मनिर्भर बन्दै

२०७१ साउन ६, मङ्गलबार
महिला सहकारी संस्थाहरू दिनदिनै आत्मनिर्भर बन्दै

प्यूठान, ६ साउन । प्यूठान जिल्लाका महिला सहकारी संस्थाहरू पछिल्लो समयमा आत्मनिर्भर बन्दै गएका छन्।गाउँमा आमा समूह र महिलाहरू मिलेर गठन गरिएका यी सहकारी आत्मनिर्भर बन्दै गएका हुन्। आफ्नै नेतृत्वमा सञ्चालनमा रहेका अधिकांश सहकारी सक्षम भई आफ्नै भवन बनाएर कम्प्युटर प्रविधिबाटै काम गर्न थालेका छन्।
महिला तथा बालबालिका कार्यालय प्यूठानअन्तर्गत गठित यस्ता सहकारीले जिल्लामा मात्रै करिब रु.३ करोड बढीको कारोबार गरेका छन् । महिलाले स्थापना गरेका यस्ता सहकारीले बचत र ऋण परिचालनबाहेक सामाजिक अभियानका कार्य पनि गर्दै आएका छन् भने समूहमा मिलेर आयआर्जनका क्रियाकलाप गरेका छन्। दाखाक्वाडीमा स्थापना भएको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाका सबैजसो सेयर सदस्यहरू आयआर्जनका क्रियाकलापमा सहभागी भएका छन्।
दुई सय ७२ सेयर सदस्य रहेको यो सहकारीमा अधिकांश चाउमिन उद्योग, बाँस प्रशोधन, व्यावसायिक च्याउखेती, तरकारीखेती, कुखुरापालन, सिलाई–कटाईजस्ता कार्यमा संलग्न रहेको संस्थाकी अध्यक्ष नारायणी पौडेलले बताउनुभयो। सहकारीमा लागेर व्यवसाय सञ्चालन गरिरहेका सबैजनाले परिवारमा गुजारका लागि स्रोत जुटाई आम्दानी गर्दै आइरहेको उहाँको भनाई छ।
२०६३ सालमा स्थापना भएको विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था विजयनगरले यसवर्ष महिला तथा बालवालिका कार्यालयअन्तर्गत केन्द्रबाट जिल्लामा उत्कृष्ठ सहकारी पुरस्कार पाउने मौका पाएको छ। ३ सय ८० सेयर सदस्य रहेको यो सहकारीले आयआर्जनतर्फ कृषिक्षेत्रलाई जोड दिई आयआर्जनका काम गर्दै आएको अध्यक्ष राधा पुलामीले जानकारी दिनुभयो।
ग्रामीण स्तरमा महिला तथा बालबालिका कार्यालयअन्र्तगत गठित यस्ता महिला सहकारी जिल्लाभर १८ वटा दर्तामा आई सञ्चालनमा रहेका छन्। गाउँस्तरमा आमा समूह गठन गरी जिल्लामा ०५९ सालदेखि महिला सहकारी स्थापना गर्न सुरु गरिएको कार्यालयले जनाएको छ। गाउँमा महिला समूह गठनपछि उनीहरूलाई विभिन्नखालका क्षमता विकासका तालिम दिदैँ लेखा सञ्चालन र ऋण प्रक्रियाबारे तालिम पाउँदै आएका महिला सहकारी जिल्लाभर सक्षम सहकारीका रूपमा स्थापित हुनसकेको कार्यालय प्रमुख लोकेन्द्र आचार्यले बताउनुभयो।
जिल्लाका दुर्गम गाउँमा खोलिएका यस्ता सहकारीलाई अति उत्तम, राम्रो र मध्यम गरी वर्गीकरणमा पारी उत्कृष्ठताका आधारमा पुरस्कृत गर्ने गरिएको उहाँको भनाई छ। यस्तै २०६४ सालमा मरन्ठानामा स्थापना भएको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले हालसम्म रु.२६ लाख १८ हजार ४ सय ९० को पुँजी सङ्कलन गरेको छ। गाउँस्तरमा कम्प्यूटर प्रविधिबाट काम सुरु गर्न थालेको सो संस्थाले हालसम्म ५ सयभन्दा बढी सेयर सदस्य बनाएको छ।

अभिलेख

लोकप्रिय