२० कात्तिक २०८३, शुक्रबार

क्यासिनो छिट्टै सञ्चालनमा आउछ –अर्थमन्त्री महत

२०७१ साउन ३, शनिवार
क्यासिनो छिट्टै सञ्चालनमा आउछ –अर्थमन्त्री महत

काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा रामशरण महतले अवरुद्ध क्यासिनो तत्काल सञ्चालनमा आउने बताएका छन् ।
युएनआईको चौथो सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गरी टुङ्गोमा पुग्ने जानकारी दिए।
युएनआई श्रमिकहरूको सबैभन्दा ठूलो संस्था हो । हाल विश्वका १५० राष्ट्रका ९०० टे«ड युनियन यस संस्थामा आबद्ध छन् । गत वर्षदेखि क्यासिनो सञ्चालकहरूले पुरानो (कर) बक्यौता र उचित कर नतिरेको भन्दै सरकारले क्यासिनो बन्द गरेको छ ।
सरकारले क्यासिनो सञ्चालकहरूसँग करोडौँ रुपैयाँ (पुरानो कर) असुल गर्न बाँकी छ । उक्त कर १० भन्दा बढी होटल व्यवसायीहरूसँग बाँकी रहन गएको हो । होटल व्यवसायीले क्यासिनो सञ्चालन गरेबापत कर बढी भएको भन्दै कर छुट हुनुपर्ने बताउँदै आएका छन् ।
करिब एक वर्षसम्म क्यासिनो सञ्चालन नभएका कारण १० हजारभन्दा बढी होटल मजदुरको काम प्रत्यक्ष रूपमा खोसिएको थियो । पछिल्लोपटक अर्थमन्त्री महतले होटल व्यवसायीसँग वार्ता गरेर भए पनि क्यासिनो सञ्चालन गर्ने अडान लिएको सुनेपछि माजोङ क्यासिनोमा कार्यरत माधव खनालले उत्साह व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री महतले मजदुरहरूलाई आफ्नो क्षमताको विकास गर्न सोही कार्यक्रममा आग्रह गर्नुभयो । उहाँले उत्पादनबिना मुलुकको विकास हुन नसक्ने बताउँदै अधिकार माग्दा मजदुरहरूमा कर्तव्यको समेत बोध हुनुपर्ने उल्लेख गरे ।
मन्त्री महतले जनताबाट निर्वाचित सरकारले जनताको अधिकारलाई कुल्चिएर अगाडि बढ्न नसक्ने बताउँदै अस्थिर सरकारका कारण सामाजिक सुरक्षा ऐन निर्माणमा समेत केही ढिलाइ भएको सङ्केत गरे।
द कम्युनिकेसन इन्टरनेसनल (सिआई), द इन्टरनेसनल ग्राफिक फेडरेसन (जिआइएफ) र मिडिया एन्ड इन्टरटेनमेन्ट (एमइआई) मिलेर सन् २००२ को जनवरी १ मा युएनआई स्थापना भएको हो । युएनआईको प्रधान कार्यालय स्वीजरल्यान्डको नियोनमा छ ।
नेपालमा युएनआईले औद्योगिक शान्ति र सामाजिक संवादमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा सन् २००२ डिसेम्बर १७ देखि क्रमशः १७ वटा टे«ड युनियन युएनआईमा आबद्ध भइसकेका छन् । नेपालका करिब एक लाख श्रमिक विभिन्न १७ वटा टे«ड युनियनमा आबद्ध रहेको बताइन्छ ।
सम्मेलनमा विशेष अतिथि युएनआई एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव क्रिष्टोफर इङ्गले मजदुरको एकताबाट मात्र दिगो आर्थिक विकास हासिल हुन सक्ने बताए ।    त्यसैगरी युएनआई नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटी, महासचिव शङ्कर लामिछाने, बङ्गलादेशका सचिव मोस्तफा कमाल, भारतका अध्यक्ष मिलिन्द नाडकरनी, सार्क क्षेत्रीय टे«ड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका निर्देशक हंशराज पाण्डेलगायतले मजदुर वर्गको रोजगारीमा सुरक्षा र महिलाहरूको रोजगारीमा पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए  ।
सम्मेलन वातावरणीय असरको न्यूनीकरण, अन्तरक्षेत्रीय सहयोग, श्रमिक कोष, सञ्चय कोष, उत्पादन र पेन्सनको उचित व्यवस्था नैतिक एवम् जवाफदेही क्षेत्रमा लगानीलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ ।

अभिलेख

लोकप्रिय