२० कात्तिक २०८३, शुक्रबार

इलाममा सहकारी खुल्ने लहर ५२ प्रतिशतले घट्यो

२०७१ साउन २, शुक्रबार
इलाममा सहकारी खुल्ने लहर ५२ प्रतिशतले घट्यो

इलाम, २ साउन । डिभिजन सहकारी कार्यालय इलाममा सहकारी दर्ताको लहर ५२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०६९÷७० मा ९९ वटा सहकारी संस्था दर्ता भएकामा गत आव ०७०÷७१ मा ४७ वटा मात्र दर्ता भएका छन् । तीमध्ये नयाँ सहकारी दर्ता भएकामा इलाममा सबैभन्दा बढी २३, पाँचथरमा १६ र ताप्लेजुङमा आठवटा नयाँ सहकारी दर्ता भएका हुन् ।
सहकारी संस्था खोलेर मात्र केही नहुने र यसलाई सञ्चालन गर्न विशेष दक्षता र सीप चाहिने भएकाले पनि नयाँ सहकारी दर्तामा जनताको आकर्षण कम भएको डिभिजन अधिकृत माधवप्रसाद पोखरेलले बताए । यसैगरी सहकारी एकीकरण जिल्लामा अभियानकै रूपमा सञ्चालन हुनु, सञ्चारमाध्यमबाट सहकारी सचेतनालगायत एकीकरणको आवाज आधारभूत तहसम्म पुग्नाले पनि सहकारी दर्ताको लहर कम भएको उनको भनाइ छ ।
डिभिजन सहकारी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कुल ८६९ वटा विविध प्रकृतिका सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेका छन् । जसमा ८८ हजार सेयर सदस्य आबद्ध भएका छन् भने रु १६ करोड बराबर सेयर रकम, रु ३७ करोडको बचत र रु ५४ करोड बराबरको लगानी रहेको छ । गत आवमा मात्रै जिल्लाले सहकारी क्षेत्रबाट रु चार करोड मुनाफा आर्जन गरेको डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ ।

अभिलेख

लोकप्रिय