२० कात्तिक २०८३, शुक्रबार

संसद्को बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

२०७१ असार ३२, बुधबार
संसद्को बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

काठमाडौं, ३२ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले आव २०७१/७२ का लागि प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि केन्द्रित रहेर आफ्ना विचार प्रस्तुत गरेका छन् । सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको बजेटको बचाउ गर्दै कृषि र ऊर्जा क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राख्नुका साथै विदेशी लगानी प्रवद्र्धन, पूर्वाधार विकास, पर्यटन, सिँचाइ, गरिबी निवारण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य क्षेत्रलाई सन्तुलनमा राखेर बजेट विनियोजन गरिएको भनी समर्थन जनाएका छन् ।

उत्पादनको माध्यमबाट देश र रोजगारीको विकास गरिनुपर्छ भन्ने पाटोमा ख्याल गरेर बजेट ल्याइएकाले सकारात्मक वातावरण सिर्जना गर्ने र मुलुकको विकासमा योगदान दिने अपेक्षा गरिएको उनीहरुले बताएका छन् ।

बजेटमार्फत धेरैभन्दा धेरै जनतालाई समेट्न खोजिएको भए पनि कार्यान्वयनको पाटोलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको भनी सुझाव दिएका छन् । प्रतिपक्ष सभासद्ले भने सामाजिक न्याय र राष्ट्रिय अर्थतन्त्रको विकास पक्षमा नभई आश्वासन नै आश्वासनले भरिएको प्रयोगविहीन पुलिन्दाको रुपमा बजेट वक्तव्य आएको आरोप लगाएका छन् ।
लामो समयको सङ्क्रमणकालबाट गुज्रदै आएको मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरेर आर्थिक विकासको माध्यमबाट समृद्धितर्फ लैजानुपर्ने बेलामा परम्परागत ढङ्गबाट ल्याइएको बजेट देशको विकास र जनताको आकांक्षालाई सम्बोधन गर्न नसक्ने उनीहरुको तर्क थियो ।

अभिलेख

लोकप्रिय