२० कात्तिक २०८३, शुक्रबार

लगानीकर्तालाई पुँजी बजारप्रति आकर्षित गर्नु चुनौतीपूर्ण–आर्थिक सर्वेक्षण

२०७१ असार २७, शुक्रबार
लगानीकर्तालाई पुँजी बजारप्रति आकर्षित गर्नु चुनौतीपूर्ण–आर्थिक सर्वेक्षण

काठमाडौँ, २७ असार । सीमित पुँजी बजारमा केही वास्तविक क्षेत्रका कम्पनीको प्रवेशले क्षेत्रगत जोखिम न्यूनीकरण गरी बढीभन्दा बढी लगानीकर्तालाई पुँजी बजारप्रति आकर्षित गर्न चुनौतीपूर्ण बनेको छ ।
आर्थिक सर्वेक्षण २०७०÷७१ मा अर्थतन्त्रका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, बचतकर्ता, बचत परिचालनकर्ता र लगानीकर्ताबीच सम्बन्ध कायम गर्दै देशको आर्थिक विकासमा सहयोग पुर्याउन चुनौती रहेको उल्लेख गरिएकोे छ ।
धितोपत्र दलाल व्यवसायीलाई व्यावसायिक तथा मर्यादित बनाउन तथा संस्थागत सुशासन कायम गराउने कार्य चुनौतीपूर्ण रहेको छ ।
धितोपत्रको नामसारी तथा हक हस्तान्तरण प्रक्रियालाई छिटोछरितो तथा कारोबारमा संलग्न लगानीकर्ताको सहज पहिचान हुने व्यवस्थाका लागि केन्द्रीय निक्षेप प्रणालीको स्थापना भइसके पनि सो प्रणाली पूर्णरूपमा सञ्चालनमा नआउँदा धितोपत्रको दोस्रो बजार कारोबार प्रभावकारी हुन नसकेको बताइएको छ ।
सूचीकृत सङ्गठित संस्थाले समयमै वित्तीय विवरणको लेखा परीक्षण नगराउने, लेखा परीक्षण गरिएका विवरण एक अर्को क्षेत्रका सङ्गठित संस्थाबीच तुलनायोग्य नहुने, बजार मूल्यमा पार्ने संवेदनशील सूचना आफ्नो अनुकूल हुने गरी सार्वजनिक गर्ने जस्ता अभ्यासमा सुधार ल्याउन अन्तर्राष्ट्रिय वित्तीय विवरण प्रवाहस्तर लागू गरी समग्र संस्थागत क्षेत्रलाई पारदर्शी बनाउने कार्य चुनौतीपूर्ण रहेको छ ।
गैरआवासीय लगानीकर्ताका लागि दोस्रो बजारमा लगानी गर्न स्पष्ट नीतिगत व्यवस्थाको अभाव तथा उपलब्ध धितोपत्रसम्बन्धी साधनमा साधारण सेयरको बाहुल्यता, विकसित औजारको अभाव, विद्युतीय कारोबार प्रणालीको अभाव तथा सहायक दलाल व्यवसायी सेवा देशका सबै क्षेत्रमा उपलब्ध नहुनुले बजारको विस्तार कार्य चुनौतीपूर्ण रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
पुँजी बजारसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान, लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धि र तालिम सेवाको संस्थागत व्यवस्था गरी पुँजी बजारलाई दिगो एवम् विश्वसनीय पुँजी परिचालनको माध्यम बनाउने कार्य कठिन एवम् चुनौतीपूर्ण रहेको छ ।
त्यसैगरी कमोडिटीज बजार विस्तार भइरहेको अवस्थामा उक्त बजार लगानीकर्ताको चेतनामा वृद्धि गर्ने र बजारमा हुने अनियन्त्रित व्यापारिक अभ्यासलाई निरुत्साहित गरी यस बजारप्रतिको विश्वास कायम गर्न सन्तुलितरूपमा कानुनी व्यवस्था तर्जुमा गर्नु चुनौतीपूर्ण रहेको छ ।
यद्यपि आर्थिक वर्ष २०७०÷७१ को प्रथम आठ महिनामा धितोपत्रको प्राथमिक बजारमार्फत १२ वटा संस्थाबाट साधारण सेयर र २० वटा संस्थाबाट सेयर गरी कुल ३२ वटा संस्थाबाट जम्मा रु पाँच अर्ब नौ करोड ८९ लाख बराबरको पुँजी परिचालन भएको छ । चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.८६ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक वर्ष २०६९÷७० को अन्त्यमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या दुई हजार ३३० रहेकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा थप २३५ पुगेको छ । चालु आर्थिक वर्षमा धितोपत्र कारोबार उत्साहवर्धक रहेको सर्वेक्षणमा उल्लेख छ ।
सो अवधिमा धितोपत्र कारोबार रकम आर्थिक वर्ष २०६९÷७० को सोही अवधिको तुलनामा १८५.४३ प्रतिशतले वृद्धि भई रु ४० अर्ब ४० करोड १८ लाख मूल्यको रु ११ करोड ८२ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु १४ अर्ब १५ करोड ४५ लाख मूल्यको चार करोड ८३ लाख ५७ हजार कित्ता धितोपत्र कारोबार भएको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षको फागुन मसान्तमा नेपाल स्टक एक्सचेञ्जमा परिसूचक ७८३.७९ बिन्दुमा कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ४३.६२ प्रतिशतले बढी हो । नेप्सेमा हाल दैनिक औसत रु ६४ करोड ७१ लाख ३३ हजारभन्दा बढीको कारोबार हुँदै आएको छ ।

अभिलेख

लोकप्रिय