३० असार २०८३, मङ्गलबार

बैंकको उदेश्य, अपेक्षा र आगामी कार्यभार

२०७१ असार २५, बुधबार
बैंकको उदेश्य, अपेक्षा र आगामी कार्यभार

– रामबहादुर जि.सी.
सन्दर्भ : राष्ट्रिय सहकारी बैंकको १२ औं स्थापना दिवस

पृष्ठभूमि,
नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । त्यसपछि लामो समयसम्म सहकारी बैंकको बारेमा कसैलाई चासो भएन । देशमा सहकारी अभियान पनि अलमलमा पर्यो । सहकारी संघ संस्थाहरु स्वतस्फूर्त सञ्चालन हुने अवस्था सिर्जना भएन, त्यसकारण पनि सहकारी बैंकको बारेमा चासो, चिन्ता देखिएन । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो । नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भयो । बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अर्को नियमनकारी निकायको मातहतमा सञ्चालन भएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।

उद्देश्य,
राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना हुनुको मुख्य उदेश्य सदस्य सहकारी संघ वा संस्थालाई थोक कर्जाको रुपमा वित्तीय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई त्यस्ता संघ÷संस्था मार्फत जनताको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने हो । यसका साथै नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशन र ऐनको अधिनमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आवश्यक समन्वय कायम गरी सहकारी आन्दोलनलाई सहयोग पुर्याउने यसको अर्को महत्वपूर्ण उदेश्य हो । यस्तै पूँजि अभाव भएका सहकारी संघ÷संस्थाहरुलाई कर्जा स्वरुप पूँजि सहयोग गरी व्यवसायिक बनाउने र क्रमशः पूँजिमा आत्मनिर्भर गराउंदै लैजाने लगायतका उदेश्य लिएर यो बैंक स्थापना भएको हो ।
वर्तमान अवस्था
राष्ट्रिय सहकारी बैंक लि.मा हाल ७४ जिल्लाका करिब ७ हजार सहकारी संघ संस्था शेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६० करोड भन्दा बढी शेयर पूँजि संकलन, साढे ६ अर्ब भन्दा बढी निक्षेप संकलन, ४ अर्व भन्दा बढी कर्जा लगानी र ८ अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ । आइसीए, नेडाक र अक्कु लगायतका सहकारीका अन्तर्राष्ट्रिय संस्थाहरु तथा नेपालको सहकारी अभियानका शिर्ष निकाय राष्ट्रिय सहकारी संघ लि.मा बैंकको आवद्धता रहेको छ ।

सहकारी संघ संस्थाहरुको अपेक्षा
सहकारी बैंकको स्थापनासंगै सदस्यता विस्तार, शाखाहरु मार्फत कारोबार सञ्चालन हुन थालेपछि देशभरका सहकारी संघ संस्थाहरुले यो बैंकबाट वित्तिय सहयोग, वित्तिय व्यवस्थापन लगायतको अपेक्षा राखेका छन् । निश्चय नै सहकारीहरुको सहभागितामा बनेको बैंकबाट सदस्य संस्थाहरुले अपेक्षा गर्नु स्वभाविक नै छ । दुर्गम तथा ग्रामिण क्षेत्रमा, महिला, दलित तथा कमजोर आयस्रोत भएका जनताको सहभागितामा सञ्चालन भएका, कृषि, पशुपालन, जडिबुटी, विद्युत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गरीरहेका तथा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सेवा, बचत तथा ऋण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका सहकारी संघ संस्थाहरुले राष्ट्रिय सहकारी बैंकबाट वित्तिय सहयोगको अपेक्षा राखेका छन् । निजी बैंकहरुले संस्थागत रुपमा सहकारीहरुलाई कर्जा प्रवाह नगर्ने र सहकारी बैंक उनीहरुको प्रवद्र्धनका लागि स्थापना भएकाले पनि यस्ता खाले सहकारीहरुलाई सर्वसुलभ रुपमा थोक कर्जा प्रवाह गरी सहकारी संघ संस्थाहरुको सबलीकरणका साथै जनताको आयस्तर माथि उठाउन बैंकले सहयोग पुर्याउन सक्नुपर्छ भन्ने आम सहकारीकर्मीहरुको भावना हो ।

देशमा सहकारीप्रति जनताको आकर्षण जसरी बढीरहेको छ, त्यही अनुरुप सहकारी अभियानलाई प्रभावकारी बनाउन सकिएको अवस्था छैन । यस्तो अवस्थामा सहकारीहरुलाई वित्तिय सेवाका क्षेत्रमा सक्षम बनाउनका लागि थोक कर्जासंगै कर्जा व्यवस्थापन तथा सहकारी मार्फत आयआर्जनका लागि सहकारी बैंकले संस्थाहरुसंग समन्वय गरेर काम गर्न सकोस् भन्ने अपेक्षा धेरैको छ ।

राज्यका विभिन्न निकाय र सहकारी क्षेत्रमा समेत ठुलो रकम लगानी नभएर बसेको छ । त्यो परिचालन हुन नसकेको पूँजिलाई ग्रामिण क्षेत्रमा कृषि, पशुपालन, जडिबुटी उत्पादन, प्रशोधन र बजारीकरण तथा जलविद्युत उत्पादनमा लगाउन सके देशको अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ । नेपाल सरकारले सहकारी मार्फत गरिव विपन्न वर्गका जनताका लागि परिचालन गर्ने विभिन्न कोषहरुको रकम राष्ट्रिय सहकारी बैंक मार्फत सहकारी संघ संस्थाहरुमा लैजाने र त्यो रकमबाट गरिव विपन्न जनताको आयस्तर माथि उठाउन पहल गर्नुपर्ने अपेक्षा आम सहकारीकर्मीले गरेका छन् । सहकारीहरु संख्यात्मक रुपमा बढे पनि गुणात्मक रुपमा अगाडि बढ्नका लागि सहकारी शिक्षा, वित्तिय व्यवस्थापन, उद्यमको विकासतर्फ सोचेजति अग्रसर हुन नसकिरहेको अवस्थामा सहकारीको सरकारी निकाय तथा अभियानका विभिन्न निकायसंग समन्वय गरी बैंकले वित्तिय व्यवस्थापन र सहकारी शिक्षामा समेत समन्वय गरोस् भन्ने चाहना पनि देखिन्छ ।

सहकारी क्षेत्रलाई राज्यले अर्थतन्त्रको एउटा आधार स्तम्भका रुपमा उल्लेख गरेको छ । संविधानमा मुलुकको आर्थिक विकासका लागि तीन खम्बे अर्थनीति भने पनि सारमा सहकारीको प्रवद्र्धनका लागि राज्यका तर्फबाट स्पष्ट योजना आउन सकिरहेको छैन । सहकारी अभियान र राज्यबीच समन्वय गरी सहकारी व्यवसायमार्फत जनतालाई उद्यमतर्फ आकर्षित गर्ने, शिप र पूँजिको व्यवस्थापन गर्दै अगाडि बढ्नका लागि पनि बैंकको भूमिका प्रभावकारी हुन सक्छ । जनताको आयस्तर बढ्यो भने राज्य बलियो हुन्छ, स्वाधीन बन्छ र मुलुकको राष्ट्रियता समेत बलियो बन्छ । स्वाधीन अर्थतन्त्रका लागि सहकारीता मार्फत जनतालाई श्रमतर्फ आकर्षित गर्ने, पूँजि र प्रविधिमा सहयोग पुर्याउनु पर्ने आजको आवश्यकता हो । यसका लागि राज्य र सहकारी अभियानका सबै निकायको सहयोगमा सहकारी बैंकले राज्य र अन्य क्षेत्रका कोषहरु, विभिन्न खाले रकमहरु सहकारी संस्थामा परिचालन गर्न सक्छ र सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लगानी गरी आयआर्जनमा वृद्धि गर्न, स्वावलम्बी र सम्पन्न बनाउन सहयोग पुर्याउन सक्छन् ।

बैंकको आगामी रणनीति,
यो बैंक सहकारी संघ संस्थाहरुको केन्द्रीय बैंक र भरोसा योग्य सहयात्रीका रुपमा विकास हुदै गएको छ । सदस्य सहकारी संघ संस्थाहरुको व्यवस्थापनका लागि बैकले आगामी ५ वर्षका लागि आफ्नो रणनीति तयार गरेको छ । सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र वित्तिय आवश्यकताहरु परिपूर्ति गर्ने यसको मुख्य लक्ष्य हो । लक्ष्य प्राप्तीका लागि बैंकले समयानुकुल प्रविधिको प्रयोग गरि सदस्यहरुमा गुणस्तरीय सेवा प्रदान गर्ने, क्षमता अभिबृद्धिका लागि विभिन्न किसिमका शिक्षा, तालिम, गोष्ठि आदीको ब्यवस्थापन गर्ने, पूँजी, निक्षेप एवं कर्जा परिचालन क्षमता अभिबृद्धि गर्ने, दक्ष जनशक्ति, आन्तरीक ब्यवस्थापन र प्रभावकारी नियन्त्रण प्रणालीको विकास गर्ने, सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने, समय सापेक्ष ऐन, नियम, नीति निर्माण परिमार्जनका लागि पहल गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुसँग समन्वय तथा सम्बन्ध विस्तार गर्ने, आयमूलक ब्यवसाय मार्फत रोजगारी सिर्जना तथा गरिवी न्यूनिकरण गर्ने, उत्पादन तथा सेवा क्षेत्रको विकास र प्रवद्र्धनका लागि कर्जा तथा वित्तिय सेवा प्रदान गर्ने, देश भरका संघ÷संस्थालाई आवद्ध गराउने, छरिएर रहेको पूँजी, श्रोत तथा साधनहरुलाई सहकारी संघ÷संस्था मार्फत परिचालन गर्ने गराउने काम गर्ने योजना अगाडि बढाएको छ ।

तत्कालिन कार्ययोजना, 
राष्ट्रिय सहकारी बैंक लिमिटेडले तयार पारेको ५ वर्षे रणनीति अनुसार अगाडि बढ्नका लागि तत्कालिन कार्ययोजना समेत तयार पारिएको छ । आगामी आर्थिक वर्षका लागि बैंकले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी दिगो, उच्च र फराकिलो आर्थिक वृद्धिको आधारशिला बनाउन पहल गर्ने, कृषिको व्यवसायीकरणका लागि लगानीको मात्रा बढाउदै लैजाने, शाखा विस्तार गर्ने, सेवा विस्तार गर्ने, युवा स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने, सञ्चालक, लेखा समिति र कर्मचारीको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको थप विकास गर्दै कार्य सम्पादनलाई थप व्यावसायिक र व्यवहारिक बनाउने, सहकारी बैंक ऐन ल्याउन पहल गर्ने लगायतका कार्ययोजना तयार पारेको छ । बैंकलाई थप प्रभावकारी बनाउदै लैजानका लागि तत्कालिन र दिर्घकालिन कार्यक्रमका साथ बैंकका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक छ ।

अन्त्यमा,
नेपालको सहकारी अभियानको समग्र वित्तिय नेतृत्व गर्ने राष्ट्रिय सहकारी बैंकले लिएका उदेश्य, सदस्य संघ संस्थाहरुले गरेको अपेक्षा र बैंकले बनाएको पाँच वर्षे रणनीति अनुसार बैंकका गतिविधिलाई अगाडि बढाउनका लागि बैंक सञ्चालक समिति, बैकमा आवद्ध कर्मचारीहरुको क्रियाशिलता, सल्लाहकार लगायत सहकारी अभियानका सबै निकाय र सहकारी अगुवाहरुको सल्लाह, नियमनकारी निकायहरुको नियमित नियमन अनुगमन हुनु आवश्यक छ । त्यस्तै सदस्य संघ संस्थाहरुले पनि सहकारी बैंकमा शेयर वृद्धि, नियमित कारोबार र आफ्नो आवश्यकताको पहिचान गरी सोही अनुसार बैंकलाई अगाडि बढ्न प्रेरित गर्न सक्यो भने मात्रै सहकारीहरुको एकमात्र बैंकलाई सवल, सक्षम र प्रभावकारी बनाउन सकिन्छ ।
सहकारी बैंकलाई बलियो बनाउन सकियो भने मुलुकका सहकारी संघ संस्थाहरुको वित्तिय अवस्थामा सुधार ल्याउन सकिन्छ, त्यसका लागि जनतामा रहेको रकम, राज्यका कोषमा रहेको रकम र स्वदेशी विदेशी विभिन्न संघ संस्थाहरुबाट रकम प्राप्त गरी सहकारी संघ संस्थाहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ अग्रसर बनाउन सकियो भने मुलुकको आर्थिक विकास गर्न संभव छ । राष्ट्रिय सहकारी बैंकको १२ औं स्थापना दिवसका अवसरमा सबैको यसतर्फ ध्यान पुग्नु आजको आवश्यकता हो ।

लेखक सञ्चालक राष्ट्रिय सहकारी बैंकका संचालक हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय