२० कात्तिक २०८३, शुक्रबार

पूँजीको अभावमा रोल्पाका सहकारी प्रायः निष्कृय

२०७१ वैशाख १९, शुक्रबार
पूँजीको अभावमा रोल्पाका सहकारी प्रायः निष्कृय

रोल्पा १९ बैशाख । सहकारी डिभिजन कार्यालयले रोल्पालाई मध्यश्चिम क्षेत्रको नमुना सहकारी जिल्ला बनाउने भने पनि जिल्लाका सहकारीहरु भने निष्कृय अवस्थामा रहेका छन् । जिल्लामा रहेका १ सय २३ वटा सहकारी मध्ये हालसम्म ३० वटा जति सहकारीमात्र सक्रिय रुपमा काम गरिरहेको पाइएको छ । सहकारी स्थापना गर्ने तर नियमित रुपमा सञ्चालन गर्न नसकेपछि उनीहरु दर्तामा मात्र सिमित भएका छन् । हाल जिल्लामा बचत तथा ऋण, कृषि, महिला लगायतका विभिन्न सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

केही दिन अगाडि रोल्पामा सहकारी विभागबाट आएको एक टोलीले यस क्षेत्रको अध्ययन मार्फत तथ्याङ्क सार्वजनिक गर्दै सहकारी उल्लेख्य रहेको भन्दै नमुना बनाउने बताएको थियो । तर नमुना बनाउन योग्य आधार भने तय नभएको जिल्ला सहकारी संघ रोल्पाका अध्यक्ष कर्ण बहादुर बाठाले बताए । विभागले समन्वय नगरी एकतर्फी निर्णय गरेका कारण पनि जिल्लालाई केको आधारमा नमुना घोषणा गर्ने भन्ने अलमल्लमा परेको उनको भनाई छ ।

छरिएर रहेको पुँजी र जनशक्तिको व्यवस्थापन गर्दै जिल्लाका सहकारीहरु उत्पादनमा लगाउने योजना अगाडि सारे पनि दीर्घकालिन योजना भने कुनै सहकारीको नभएको पाईएको छ । सक्रिय रहेका सहकारीहरु खासगरी सामूहिक पशु पालन, सामूहिक माछा पालन, मौसमी तथा बेमौसमी तरकारी उत्पादन ,जडिबुटि लगायत बीउबिजनमा समेत लागि परेको पाइन्छ । तर पनि १ चौथाइ सहकारी मात्र सक्रिय रहँदा अन्य सहकारी भने दर्तामा मात्र सिमित रहेका छन् ।

खोलिएका सहकारीमा लेखा व्यवस्थापनमा समेत समस्या हुने गरेको पाइएको छ जसकारण सहकारीको नियमित गतिविधि सञ्चालन गर्न अप्ठ्यारो हुने देखिन्छ । सहकारीसँग जोडिएका कृषि उद्योगहरु र सहकारी बजार केन्द्रहरु नभएका कारण पनि यसको बजारीकरणमा समस्या देखिएको छ । सहकारीमा पूँजीको अभाव हुँदा यसको व्यवस्थापनमा कठिनाई आउने गरेको बताइन्छ ।

अभिलेख

लोकप्रिय