२० कात्तिक २०८३, शुक्रबार

गरिब बनाउँदै सहकारी

२०७१ वैशाख ९, मङ्गलबार
गरिब बनाउँदै सहकारी

काठमाडौं ।  स्वदेशमै स्वरोजगार बन्ने सपना देखेका काठमाडौं, चाबहिलका टंक भुजेललाई सहकारीले डुबायो। गत वर्ष उनी सुकेधारास्थित तागेरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा दुई लाख रुपैयाँ ऋण लिन गएका थिए। संस्थाले १० हजार रुपैयाँ तिरेर सेयर सदस्य बनेपछि वार्षिक १२ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँ उपलब्ध गराउने सुझाव दियो। दुई लाख रुपैयाँका लागि १० हजार रुपैयाँ तिरेर सेयर सदस्य बन्न भुजेललाई त्यति गाह्रो लागेन।

उनी वार्षिक ३० प्रतिशत ब्याजमा साथीभाइसँग १० हजार रुपैयाँ उठाएर २०६९ साल मंसिर ८ गते सेयर सदस्य बने। संस्थाबाट दुई लाख रुपैयाँ प्राप्त गर्ने विश्वासमा भुजेलले वार्षिक ३६ प्रतिशत ब्याजमा अर्का साथीसँग थप दुई लाख रुपैयाँ ऋण लिएर गत वर्षको पुस १२ मा कपन मिलनचोकमा होटेल खोले।

‘अहिले संस्थाले सेयर रकम पनि दिएन, स्वरोजगारका लागि उपलब्ध गराइने भनेको दुई लाख रुपैयाँ पनि दिएन’, सहकारीबाट विरक्तिएका भुजेल भन्छन्, ‘अहिले ब्याज र ऋणले चुर्लम्म डुबियो।’

भक्तपुर-९, कटुन्जेका ५५ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई अहिले मर्नु न बाँच्नुजस्तै भएको छ। आफैंले गरेको सानो गल्तीका कारण उनी प्रत्येक ६ महिनामा आफ्नै बुवालाई ब्याज तिर्न बाध्य छन्।

२०६९ साल असोज ५ गते पुतलीसडकस्थित प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभमा १८ प्रतिशत ब्याज पाउने लोभमा खुजूले एक वर्षका लागि ३० हजार रुपैयाँ जम्मा गरेका थिए। ‘बुवाको खाता पनि त्यसैमा खोलिदिएको थिएँ’, उनी भन्छन्, ‘तर भुक्तानी पाउने समय नजिकिँदै जाँदा छाँगाबाट खसेजस्तै भएँ।’ रकम जम्मा गरेको सहकारी संस्था भाग्यो। ‘वृद्ध बुवालाई संस्थाले रकम लिएर भाग्यो भन्दा अप्रिय घटना हुनसक्छ भनेर भन्न सकेको छैन’, श्रेष्ठ भन्छन्।

प्यासिफिकबाट श्रेष्ठमात्र हैन उनका तीन पुस्ता नै ठगिएका रहेछन्। श्रेष्ठका बुवामात्र हैन, ३५ वर्षीया छोरी संगीता गोसाई पनि ठगिएकी छन्। वार्षिक १७ प्रतिशत ब्याज आउने लोभमा संगीताले आफ्नो नाममा २०६८ साल र २०६९ साल वैशाखमा एक लाख ३० हजारको खाता खोलेकी थिइन्। उनका श्रीमान् लक्ष्मीभक्तले १६ प्रतिशत ब्याज आउने गरी २०६९ सालमा २२ हजार रुपैयाँ हालेर तेस्रो खाता खोलेका थिए।

यसैगरी संगीताले दैनिक निक्षेपअन्तर्गत ३० हजार र छोराको नाममा १३ हजारको खाता पनि खोलेकी थिइन्। संगीता भन्छिन्, ‘अहिले त पूरै परिवार नै डुबियो।’

कृष्णबहादुर श्रेष्ठले पुस १९ गते रकम असुलीका लागि बानेश्वरस्थित सहकारी विभागस्थित जाँचबुझ आयोगसमक्ष सप्रमाण उजुरी हालेका छन्। ‘छोरीले प्यासेफिक संस्था राम्रो छ भनेर भनेकी थिइन्। उनकै कुराको भरमा मैले आफ्नो र बुवाको नाममा रकम जम्मा गरेँ तर सबै डुब्यो’, श्रेष्ठ भन्छन्। राजेश बर्मा |अन्नपर्ण पोष्टबाट साभार

अभिलेख

लोकप्रिय