सहकारीलाई राजनीतिमा माथि पुग्ने भर्याङ नबनाउः गभर्नर
काठमाडौं, २५ पुस । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्पादनमूलक क्षेत्र तथा औद्योगिक विकासमा सहकारी अभ्यास लक्ष्यित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सहकारी संघ लिको २१ औँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक गतिविधि अभिवृद्धि गर्न लघु उद्यममार्फत स्थानीय उत्पादन र व्यावसायिक क्रियाकलापलाई विस्तार गरिनुपर्छ ।”
अध्यक्ष रेग्मीले उदार अर्थतन्त्र अपनाइएको हाम्रो जस्तो प्रणालीमा आर्थिक विकासका क्रियाकलापमा जति चुनौतीहरु रहेका छन् उत्पादन र बजार प्रवद्र्धनका दृष्टिले अवसरहरुको सम्भावना पनि अत्यधिक रहेको छ भन्नुभयो ।
आगामी दिनमा स्थानीय श्रम, सीप र पुँजी परिचालन गरी नेपाली जनशक्तिको प्रयोग तथा राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि उपलब्ध स्रोतसाधनको समुचित प्रयोगमा सहकारीहरुको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
मुलुकको अर्थतन्त्रको विकासमा महत्वपूर्ण आधार स्तम्भ मानिएको सहकारी क्षेत्रको प्रवद्र्धन र प्रोत्साहनका लागि नेपाल सरकारले हालसम्म सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले एकजना सबैका लागि र सबैजना एकजनाका लागि भन्ने मान्यता रहने सहकारी अभ्यासले नेपाली सन्दर्भमा विभिन्न मानिसलाई लघुकर्जा प्रदान गर्ने, आर्थिक गतिविधि सञ्चालन गर्नेे तथा व्यावसायिक क्रियाकलापमा संलग्न हुने अवसरलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारी अभियान राष्ट्र निर्माण, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्नेमा जोड दिँदै सहकारीलाई राजनीतिमा माथि पुग्ने भर्याङ नबनाउन आग्रह गर्नुुभयो ।
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले स्वाधीन अर्थतन्त्र निर्माणका लागि सहकारी आवश्यक रहेको उल्लेख गर्दै सहकारीलाई नयाँ गति दिन आफ्नो तर्फबाट हरप्रकारको सहयोग रहने बाचा गर्नुभयो ।
सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले आगामी दिन सहकारीको खम्बालाई कसरी बलियो, सक्षम र समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सहकारीकर्मीहरु लाग्नुपर्ने उल्लेख गर्दै साधारण सभाले कुनै पनि संस्थाको वार्षिक कार्य योजना तथा कम्तीमा १० वर्षसम्मको गुरुयोजना बनाउन सक्नु पर्छ भन्नुभयो ।
राष्ट्रिय सहकारी संघ लिका अध्यक्ष केशव बडालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा शिक्षा र शिक्षामा सहकारी भन्ने नारालाई मूर्तरुप दिन सहकारी अभियानकै मागअनुरुप सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट माध्यमिक तहको कक्षा ९, १० तथा उच्च माध्यमिक तहको कक्षा ११ र १२ मा ऐच्छिक विषयका रुपमा सहकारीको अध्ययन अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको र आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस संस्था हालसम्म २९ हजार ५२६, जिल्लास्तरीय संघ २८० र केन्द्रीय संघ १७ आबद्ध छन् । कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधान, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार