१ फागुन २०८१, बिहिबार

सहकारीमा आबद्ध किसानले दूध बेचेर करोडौँ भित्राए

२०७० पुष ३, बुधबार
सहकारीमा आबद्ध किसानले दूध बेचेर करोडौँ भित्राए

बागलुङ, ३० मङ्सिर । किसान सहकारीमा आबद्ध भएर दूधको उत्पादन र बजारीकरण गरिरहेका छन् । दुईभन्दा बढी दुग्ध सहकारीले सामूहिक रुपमा दूध सङ्कलन र बिक्री गर्दै आएपछि किसान व्यावसायिक रुपमा सफल देखिएका छन् । दक्षिण बागलुङका तीन गाविसमा रहेका चार–चार सहकारीमा आबद्ध भएका किसानले दूध बेचेर वार्षिक करोडभन्दा बढी रकम गाउँ भित्र्याएका हुन् ।
पछिल्ला केही वर्षदेखि सहकारीमार्फत दूध उत्पादन र बिक्री वितरण गर्दै आएका किसानले व्यवसायबाट सफलता हात पारेपछि उत्साहित बनेका छन् । गत आव २०६९÷०७० को असार मसान्तसम्ममा किसानले एक लाख ६२ हजार ९१४ लिटर दूध उत्पादन गरी बिक्री गरेको बलेवा नारायणस्थान सहकारी संस्थाका सदस्य प्रताप पौडेलले बताउनुभयो । उक्त दूधको बिक्रीबाट रु एक करोड ५१ हजार २९६ गाउँ भित्रिएको सहकारीले जनाएका छन् ।
कुश्मीशेरामा रहेको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्था लि, अमलाचौरमा रहेका कालीगण्डकी र नवनमुना दुग्ध उत्पादक सहकारी संस्था र नारायणस्थानमा रहेको बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् ।
अहिले पल्लोपाखा दुग्ध उत्पादन सहकारीमा आबद्ध ६० जना, कालीगण्डकी दुग्ध उत्पादन सहकारीमा आबद्ध ११२ जना, नवनमुना सहकारीमा आबद्ध ४५ जना र बलेवा नारायणस्थान सहकारीमा आबद्ध ४८ जना किसानले दूध उत्पादन गर्दै आएका छन् । “सानो सानो मात्राको दूधलाई सङ्कलन गरी बिक्री गर्दा किसानलाई निकै फाइदा भएको बलेवा नारायणस्थान सहकारीका सदस्य प्रताप पौडेलले बताउनुभयो ।
विभिन्न गाविसमा रहेका दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूधलाई एकीकृत गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले छ वर्षअघि ती सहकारीले संयुक्त बिक्री केन्द्रको स्थापना गरी कुश्मा बजारबाट दूध बिक्री वितरण गर्दै आएका छन् । अहिले ती सहकारीमध्ये कालीगण्डकीले ३५०, पल्लोपाखाले १००, बलेवा नारायणस्थानले १२० र नवनमुनाले ६० लिटर दूध दैनिक उत्पादन गर्दै आएका छन् । दूधको उत्पादनमा सुक्खा मानिने मौसम चैत वैशाखमा समेत सहकारीले ६०० देखि ८०० लिटर दूध उत्पादन गर्ने गरेको संयुक्त बिक्री केन्द्रका अध्यक्ष मुक्तिप्रसाद शर्माले बताउनुभयो ।

अभिलेख

लोकप्रिय