५ चैत २०८१, मङ्गलबार

केपटाउनका जन्ती ! जनताको पैसा, विदेशमा मस्ती

२०७० पुष ३, बुधबार
केपटाउनका जन्ती ! जनताको पैसा, विदेशमा मस्ती

– यादव हुमागाई

विश्वभरका सहकारीहरुको छाता संगठन संगठन अन्तराष्ट्रिय सहकारी महासंघ (आईसिए) को विश्व सम्मेलन तथा साधारणसभामा नोभेम्बरको पहिला साता सम्पन्न भयो । सम्मेलनमा नेपालबाट मात्र ४२ जना सहकारीकर्मीले भाग लिए । जसमा नेपालबाट आइसिएको सदस्य रहेका राष्ट्रिय सहकारी संघ र केन्द्रीय कृषि सहकारी संघबाट २० जना र राष्ट्रिय सहकारी बैंकबाट २२ जनाको टोली सहभागी भयो ।

नेतृत्व चयन समेत गर्ने साधारणसभामा राष्ट्रिय संघलाई ८ वटा, कृषि संघलाई ४ वटा र सहकारी बैंकको २ वटा मात्र मत खसाल्ने अधिकार थियो । तर, नेपालबाट भने सहकारीकर्मीहरु जम्बो टोली जन्ती सरह नै भाग लिन गयो । विदेशका कार्यक्रम भन्ने वित्तीकै टाउकाले टेकेर भएपनि जाने सहकारीकर्मीको प्रवृत्ती यसपटकको विदेशी कार्यक्रममा पनि फरक देखिएन । १४ जना गए पुग्ने कार्यक्रममा आवश्यक भन्दा तेव्वर व्यक्ति गएर रमिता देखाए । टोलीमा न कुनै नयाँ अनुहार थियो (जो अहिलेसम्म विदेशी सम्मेलनमा भाग नलिएको होस्) न त नयाँ ज्ञान सिक्नका लागि उत्सुक अनुहार नै । केवल सम्मेलनको वहानामा विदेश घुम्नेको भिड मात्र थियो । कार्यक्रममा सहभागिताका लागि दर्ता शुल्क, आतेजाते खर्च र बसाईको लागि न्यूनतम खर्च मात्र २ लाख रुपैयाँभन्दा बढी थियो । सरसर्ती हिसाव गर्दा पनि सो कार्यक्रममा सहकारीकर्मीले करिब १ करोड रुपैयाँ भन्दा खर्च गरे । त्यसबाहेक घुमफिर र किनमेलमा गर्ने खर्च त छदैछ । सहकारीलाई कर छुट, अनुदान र विउँ पुँजी आवश्यक छ भन्दै सरकारसँग मागेर नथाक्ने सहकारीकर्मीले सदस्यको रकमबाट विदेश सयर गर्नुको औचित्य के हो ? कमैले मात्र यसको पुष्टि गर्न सक्लान ।

अझ सम्मेलनमा सहकारी बैंकबाट मात्र २२ जना सहभागी भए । बैंकले संचालक समितिबाट पास गरी सहभागीको दर्ता शुल्क नाफाबाट तिर्र्यो । सहकारी बैंक पनि जनताको बचतबाट चलेको संस्था हो, नाफामा पहिलो अधिकार त सदस्यको हुन्छ । यस्तो संस्थाबाट जम्मो टोली विदेशको कार्यक्रममा सहभागी गराउन कसले दियो बैंक संचालक समितिलाई यो अधिकार ? डाडु पन्यौ आफ्नै हातमा भएपछि जे गरेपनि हुन्छ र ? सदस्यहरुबाट निक्षेप संकलन गरी सदस्यहरुबिच लगानी गरि उनीहरुलाई आर्थिक रुपमा सम्वृद्ध बनाउने सहकारी संस्थाको पहिलो र मुख्य लक्ष्य हो । सायदै कमै सहकारीकर्मी आफ्नो पैसा खर्च गरेर सम्मेलनमा भाग लिन गए होलान् । अधिकांश त सदस्यको निक्षेपबाट कमाएको नाफा खर्च गरेर नै गए । नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांस लिन नपाउने व्यवस्था भएको सहकारीमा संचालहरुले कहाँबाट जुटाउछन् विदेश सयर गर्ने रकम । किन आखा पुग्दैन नियामक निकायको ?

याद गर्नुहोस्, तपाई संचालक समितिको अध्यक्ष वा कार्यकारी प्रमुख हुँदैमा संस्थाको नाफा र विभिन्न कोषमा भएको रकम जहाँ पायो त्यही खर्च गर्ने अधिकार हुदैन । तपाई त केवल सदस्यको रकमको संरक्षक मात्र हो । जसलाई संरक्षण गरी सदस्य र समूदायको हितमा अधिकतम उपयोग गर्नु नै प्रमुख जिम्मेवारी हो । स्रोत : वर्तमान सहकारी मासिक ।

अभिलेख

लोकप्रिय