१ फागुन २०८१, बिहिबार

गरिब सहकारी समूह गठन गरिने

२०७० पुष १, सोमबार
गरिब सहकारी समूह गठन गरिने

काठमाडौं, ११ पुस । सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक एवम् सामाजिक रूपमा अति विपन्न गरिब समुदायलाई माथि उठाउन गरिब सहकारी समूह गठनको अवधारणा अघि सारेको छ । गरिबहरूलाई सहकारी सस्थामा आबद्ध गरी गरिब सहकारी समूह निर्माण गर्ने, यस्ता समुदायले नै सरकारले प्रदान गर्ने आर्थिक सहयोग परिचालन गर्ने र उनीहरूको आयआर्जनमा परिचालन गरिने छ ।

मन्त्रालयका सचिव रणबहादुर श्रेष्ठले चालु आवभित्र दुईहजार गरिब सहकारी संस्था गठन गरी एकलाख गरिबलाई सहकारीमा आवद्ध गराई उनीहरूको आर्थिक, सामाजिक जीवनस्तर माथि उठाउने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीमार्फत गरिब जनताको जीवनस्तरमाथि उठाउन विभिन्न आयमूलक कार्यक्रमहरू तयार गरिसकेको छ । “

सरकारले वितरण गर्न लागेको गरिब परिचयपत्रका आधारमा गरिब सहकारी सस्था गठन गरिने मन्त्रालयले जनाएको छ । पाँच वर्षमा करिब १४ लाख गरिब परिवारलाई सहकारीको माध्यमबाट उनीहरूको जीवनस्तरमाथि उठाउने रणनीतिक योजनासहित मन्त्रालयले नयाँ सहकारी नीति तयार गरी मन्त्रिपरिषद्समक्ष पेश पनि गरेको छ । सो नीतिमा अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा रहेको सहकारीलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउन अल्पकालीन तथा दीर्घकालीन योजनाका बारेमा चर्चा गरिएको छ । हाल मुलुकमा २७ हजार विभिन्न किसिमका सहकारी संस्थामा करिब ४७ लाख जनता आबद्ध रहेका छन् ।

अभिलेख

लोकप्रिय