२३ बैशाख २०८१, आईतवार

‘सहमती र सहकार्य मै नेफ्स्कूनको नेतृत्व छनोट गरौं’

१ पुष २०७६, मंगलवार
‘सहमती र सहकार्य मै नेफ्स्कूनको नेतृत्व छनोट गरौं’

 

चन्द्रप्रसाद ढकाल, महासचिव
नेफ्स्कून

नेफ्स्कूनको निर्वाचन सहितको साधारणसभा हुँदैछ । निर्वाचनको तयारी के कसरी भईरहेको छ ?

निर्वाचनको तयारी अन्तिम चरणमा छ । प्रतिवेदन लेखनको काम सकिसकेको छ । उद्घाटन सत्रको सम्पूर्ण काम सकिसकेको छ । हामी अहिले अन्तिम तयारीमा जुटेका छौं । निर्वाचन समिति पनि गठन भैसकेको छ । नेफ्स्कूनकै कानुनी सल्लाहकार रामचन्द्र सिंखडाको संयोजकत्वमा सहकारी विभागका प्रतिनिधि र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृतको समिति गठन भैसकेको छ ।
समितिले आफ्नो काम पनि सुरु गरिसकेको छ । अतिथिहरुको निमन्त्रणको काम पनि भैसकेको छ । सदस्य नविकरण धेरै संख्यामा भएको छ । प्रतिनिधि नविकरणक पनि भएको छ । पुस २ गते सञ्चालक समितिको अन्तिम बैठक बोलाएका छौं । बैठकले केही निर्णय स्विकृत गर्ने छ ।
नेफ्स्कूनको महासचिव हुनुहुन्छ । नेतृत्वमा आउने चाहना तपाईंको पनि होला नि ?
सम्पूर्ण सहकारीकर्मीले साथ र काम गर्ने अनुमती दिनुभएको अवस्थामा अझै काम गर्न चाहन्छौं । काम गर्ने मौका पाएको अवस्थामा हिजोका दिनमा भन्दा अझै राम्रो काम गरेर देखाउने छौं । नेफ्स्कूनमा आवद्ध सम्पूर्ण सहकारीकर्मीहरु सँगै सँगै जान चाहन्छौं । पक्कै पनि यहाँहरुलाई पछुतो र दिक्क लाग्ने काम गर्ने छैनौं । सम्झिदिनुस्, बुझिदिनुस् र एक पटक हेरिदिनुस् । र, सही नेतृत्व छनोट गरिदिनुस् । अहिलेको नेतृत्वले गरेको तीन वर्षको काम, प्रगति हेरिदिनुस् । अहिलेको टिम काम गर्ने साथीहरुकै टिम रहेको छ । र हामीलाई मद्दत गर्नुहुने नै छ ।

नेफ्स्कूनमा कस्तो नेतृत्व आवश्यक छ ?

चन्द्र ढकाल, डिबी बस्नेत, परितोष पौडेल जसले नेतृत्व गरेपनि हुन्छ । तर सकारात्मक सोंच भएको, नतिजा ल्याउन सक्ने मध्ये साथीहरुले नेतृत्व गर्नुस् । म टिममा अटाउन सकिने भने कोही व्यक्तिलाई सिफारिस गरौंला । तर, नतिजा आउने गरि सिफारिस गर्नेछु । म रहेको अवस्थामा ठीक र नभएका बेठिक भन्ने सोंच हिजो पनि राखिन र आज पनि राख्ने छैन । साथीहरुले टिम मिलाएर एक पटक काम गरौं भन्नुभयो भने म तयार छु । सबै छाडेर सहकारी भनेर हिडेंको छु । इमान्दारीपूर्वक भन्दा सहकार्यता भित्र म जहाँ बसेर जाँदा उपयुक्त हुन्छ म त्यही बसेर काम गर्न तयार छु । निर्विकल्प परिस्थिती निमार्ण गर्नुभयो भने आफ्नो तरिकाले जान सक्छु । समय आएपछि प्रक्रिया भित्र जान्छु । मैले फलानो नेतृत्वलाई सहयोग गर्नुस् भनेर भन्न सक्ने परिस्थिती पनि हुन सक्छ । मेरो नेतृत्वमा मानिदिनुस् भन्ने पनि हुन सक्छ । त्यसको प्रतिक्षा र तयारीमा व्यस्त छु ।

भनेपछि सहमती र सहकार्यका लागि तपाईं नेफ्स्कून छाड्न पनि तयार हुनुहुन्छ ?

नेतृत्व जसले गरेपनि नेतृत्व भित्र सबै सहकारीकर्मी अट्नु पर्दछ । सहकारी साझा चौतारी हो । एकजना मात्र प्रतिनिधित्व भएपनि मेरो प्रतिनिधित्व गरेको छ है भन्ने बुझाई राखियो भने पनि आम सहकारी र सहकारीका सदस्यको हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ । सहमती र सहकार्यले नै संस्था बलियो हुन्छ । सहमती र सहकार्यकै नतिजा नेफ्स्कूनमा पनि देखिएको छ । सहकारी महासंघमा पनि देखिएको छ । पाँच वर्ष पुरानो सहकारी महासंघ र अहिलेको अवस्था हेर्नुस् । पछिल्लो तीन वर्षको नेफ्स्कून पनि हेर्नुस् । सहमती र सहकार्यको नतिजा हो यो । को रहने र नरहनेभन्दा पनि सहकारी व्यवसाय ठूलो कुरा हो । नेफ्स्कूनको व्यवसाय र प्रगती ठूलो कुरा हो । निर्वाचन मिति तय भैसकेपछि साथीहरु आ–आफ्नो ढंगले लागिरहनु भएको छ । आफ्नो योग्यता अनुसारको पद दाबी गर्दै आउनुभएको छ । र, त्यो अस्वाभाविक पनि होईन ।

सहकारीका संघ/संस्थामा राजनीति प्रवेश भयो भन्ने सुनिन्छ । कुनै दल निकट सहकारीकर्मीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने पनि गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?

सहकारीलाई पार्टी विशेषको संयन्त्र बनाउनु हुँदैन । सहकारी भित्र राजनीति गर्नु हुँदैन । सहकारीमा पार्टीका साथीहरु मात्र बस्ने वातावरण सृजना गर्नु हुँदैन । राजनीति बलियो बनाउने आधारशिलाको रुपमा सहकारी बनाउनु हुँदैन । सहकारी सामाजिक रुपान्तरणको टुल्स हो । सबै एकजुट भएर अघि बढ्ने हो अवस्य पनि राम्रो नतिजा निकाल्न सकिन्छ । मेरो र तेरो भनेर जाँदा सहकारी व्यवसायले गति दिन सक्दैन । सहकार्यतालाई नै अघि बढाएर सामुहिक नेतृत्वको सोंच अनुसार अघि बढ्नु पर्दछ । प्रतिनिधित्व मुलक साथीहरुले नेतृत्व गरौं ।

अघिल्लो निर्वाचनमा सहमतीको आधारमा सबै दलका सहकारीकर्मी नेफ्स्कूनमा अटाएको थियो । तपाईं कांग्रेसको कोटाबाट महासचिव हुुनुभयो । यस पटक पनि सहमती र सहकार्यमा नेतृत्व चयन गर्ने विषयमा छलफल भएको त होला नि ?

छलफल नै नभएको भन्ने होईन । सहकारीलाई राजनीतिक दलले अगुवाई गरोस् भन्ने चाहन्छु । संरक्षकत्व, समय समयमा निर्देशित भन्ने पक्षधरमा छु । किनभने पार्टीले सरकार बनाउँछ । सरकारले ऐन बनाउने हुँदा पार्टी, सरकार र सहकारी सहयोगी हुनुपर्दछ । यदी भएन भने सहकारी फस्टाउन सक्दैन । राजनीतिक दलमा भएको छलफलमा पनि सहकार्य नै गरेर जानुपर्छ भन्ने नै छ । सहकार्यको भावना तोड्ने पक्षमा नेकपा, कांग्रेस लगायत दल छैन । कांग्रेसका नेताहरुले पनि सहकार्यलाई नै प्राथमिकता दिएको छ । सहमतीको टिम बनाएर हिजोका दिनमा जस्तै नतिजा निकाल्ने क्रममा उहाँहरु हुनुहुन्छ होला । यदी त्यस्तो भएको छैन भने अब होमवर्क गर्न सक्छौं । सहकार्यका लागि सहमतीय समूह बन्छ । जसले भोलीको नेफ्स्कूनको लागि नेतृत्व गर्दछ भन्ने कुरामा आशावादी छु ।

सहमती गर्न खोजिएन भने तपाई अध्यक्ष उठ्नु हुन्छ ?

विल्कुलै केही भएन भने मैले साथीहरुलाई बधाई तथा शुभकामना दिएर समर्थन गर्दछु । अरु केही उपाय छैन । चुनावी प्रतिस्पर्धामा गएर म र मेरो टिमको साथीहरुलाई निराशा बनाउन चाहन्न । मेरो कारणले सहकारी अभियानमा चिरा पार्ने, टुक्राउने, साथीहरुको भावनामा खेलवाड गर्ने कदापी हुँदैन ।

अन्त्यमा केही भन्नु हुन्छ ?

लामो समयदेखि सहकारी अभियानमा छौं । सहकारीको समस्या व्यवस्थापन, सदस्यहरुलाई व्यवसायिक बनाउने काममा सम्पूर्ण सहकारीकर्मीहरु लाग्न जरुरी छ । लाग्नको लागि विगतमा केही समस्या थिए र छन् । यस्तालाई कम गर्दै लैजानु पर्दछ । स्थानीय सरकार, प्रदेश सरकारले बनाउने ऐन, नियमावलीमा सहकारी संस्था व्यवसायिक, उद्यमशिलतामा लाग्ने वातावरण सृजना गरौं । सहकारीले कुनै न कुनै चिज उत्पादन गर्ने परिस्थिती बनाउनु पर्दछ । सहकारीले गर्न नसक्ने भए सदस्यलाई गराउनु पर्दछ ।

अभिलेख

लोकप्रिय