१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सम्पन्न, २०२५ सम्म नेपालमा व्याप्त गरिवी न्यूनीकरणका लागि सुनिश्चितता सहितको लक्ष्य प्रस्ताव

१८ कार्तिक २०७१, मंगलवार
काठमाडौँ घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सम्पन्न, २०२५ सम्म नेपालमा व्याप्त गरिवी न्यूनीकरणका लागि सुनिश्चितता सहितको लक्ष्य प्रस्ताव

काठमाडौं । “गरिबी न्यूनीकरणका लागि सबल ग्रामीण संस्था निर्माण ” भन्ने नाराका साथ राजधानीमा आयोजित प्रथम साना किसान सम्मेलन १९ बँुदे काठमाडौँ घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ ।

देशभरका एकहजारभन्दा बढी साना किसानको सहभागितामा पहिलोपटक आयोजित दुईदिने राष्ट्रिय सम्मेलनको समापनअघि जारी घोषणापत्रमा सामाजिक पूँजी निर्माण, गरिबी घटाउन सहयोग पुग्ने सेवाहरूको एकैस्थलबाट प्रवाह तथा आर्थिक विकाससँग सम्बन्धित पारस्परिक सहयोग, सहमति र समन्वयात्मक रुपमा अघि बढाउनेमा जोड दिइएको छ ।

गरिबी न्यूनीकरणको दीर्घकालिन लक्ष्य प्राप्ति गर्ने पक्षमा साना किसान विकास बैंक लि. नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., जिल्ला स्तरीय संघहरू तथा साना किसान सहकारी संस्थाहरूले उक्त घोषणापत्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन् २०२५ सम्ममा नेपालका ७० जिल्लामा बसोबास गर्ने १० लाख भन्दाबढी गरिब परिवारमा वित्तीय तथा गैरवित्तीय सेवाको पहुँच विस्तार लक्ष्य हासिल गर्न घोषणापत्रममा सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दातृ संघ/संस्था, बैंक तथा वित्तीय संस्थाहरू र विकास साझेदारहरू विच सम्पर्क तथा समन्वय विस्तार गरी विपन्न वर्गलाई विभिन्न उद्यम व्यवसाय, पूर्वाधार निर्माण, मूल्य शृङ्खला प्रवद्र्धन र दिगो सम्वृद्धिका लागि आवश्यक लगानी वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी सदस्यहरूको समावेशी आर्थिक वृद्धिको अवसर सिर्जना गरिने उल्लेख छ ।

सम्मेलनले नेपाल सरकार अर्थ मन्त्रालयसँग साना किसान कृषि सहकारी संस्थाहरूको नमूना देशभर अनुसरण तथा विस्तार गर्न त्यस्ता संस्थाहरूको क्षमता अभिवृद्धि, साना किसान सहकारी संस्थाका कार्यहरूको अध्ययन अनुसन्धानका निम्ति आवश्यक वित्तीय तथा अन्य सहयोगको अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै व्यावसायिक कृषिका लागि साना किसान विकास अभियानको प्रक्रियागत पद्धतिलाई कृषि मन्त्रालयबाट नीतिगत रूपमा अङ्गिकार गर्दै सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभागबाट सहकारी क्षेत्रको विकासका लागि विद्यमान सहकारी ऐन नियम तथा नियमनमा आवश्यकताअनुरूप परिमार्जन गरी सहकारी क्षेत्र विकास मैत्री नीति नियमको तर्जुमामा जोड दिएको छ ।

प्रत्येक पाँच वर्षमा साना किसान सम्मेलन आयोजना गर्ने घोषणा गर्दै प्रथम सम्मेलनले दोस्रो सम्मेलन आयोजक मूल समिति घोषणा पनि गरेको छ । साना किसान विकास बैंक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघको अगुवाईमा गठित समितिले सम्मेलनको घोषणाहरूको प्रभावकारी कार्यन्वयन र प्रगतिको अनुगमन गर्ने भएका छन् ।

समापन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैकका गभर्नर डा युवराज खतिवडाले भूमिको पुनर्वितरण न्यायिक रुपमा नभएसम्म साना किसान सीमान्त किसान बन्ने त्रास रहिरहने उल्लेख गर्दैैै आर्थिक क्रान्तिको आधार सहकारी बन्नुपर्ने र त्यसलाई देशव्यापी विस्तार गर्न जरुरी भएको बताए । सहकारी तथा साना किसान बैंकको संस्थागत क्षमता अभिवृद्धिका निम्ति हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषिको जोखिम व्यवस्थापनका साथै कृषिमा लगानी र अनुदान वृद्धि गर्नु अपरिहार्य भएको विचार गभर्नर खतिवडाले व्यक्त गरे ।

कार्यक्रममा पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको कृषि क्षेत्रको विकास साना किसानबाटमात्र सम्भव भएको विचार व्यक्त गर्दै कृषि कर्जामा छ प्रतिशत ब्याजमात्र लिने घोषणा भएपनि त्यो कार्यान्वयन नभएकामा असन्तुष्टि प्रकट गरे । ‘देशको कृषि क्षेत्रको स्थिति अति गम्भीर छ गत वर्षको तुलनामा २९ प्रतिशत बढी कृषि उपज आयात गर्नु कृषि प्रधान मुलुकका निम्ति विडम्बना हो’उनले भने– ‘कृषिजन्य वस्तुको आयात एकसय ५० प्रतिशतले बढेको छ ।’

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले मुलुकको सर्वाधिक उपेक्षित कृषि क्षेत्र भएको कटु यथार्थ प्रस्तुत गदैै गरिबी घटाउन राज्यसहित विभिन्न निकाय क्रियाशील रहेपनि गरिबीको दुष्चक्रबाट ग्रामीण भेगका जनता मुक्त हुन नसकेका उल्लेख गरे । नीति होइन नियत परिवर्तन आवश्यक भएको वास्तविकता औंल्याउँदै उनले कृषि ऋणमा १८ प्रतिशत ब्याज र मोटरकार खरिदका लागि सात प्रतिशत ब्याज लिने पद्धतिप्रति असमति जनाए । एनेकपा (माओवादी)का सचिव वर्षमान पुनले गरिबीको रेखामुनि रहेका झण्डै २४ प्रतिशत जनताको आर्थिक उन्नयनका लागि साना किसानका हित प्रवद्र्धनका साथै सहकारी आन्दोलनलाई सशक्त तुल्याउनुपर्ने आवश्यकता औंल्याए ।

पूर्वअर्थमन्त्री पुनले डाँडापाखाका विपन्न वर्गको उत्थानलाई लक्ष्य निर्धारण गरी त्यो प्राप्तिका दिशामा राज्य स्वयम् लाग्नुपर्ने बताए । साना किसा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले साना किसानका परिवर्तित आवश्यकता पूरा गर्न उत्पादन तथा सेवाहरूलाई बजारमुखी तथा विविधिकरण गर्न जरुरी भएको बताए ।

अभिलेख

लोकप्रिय