५ जेष्ठ २०८१, शनिबार

हेडसरको गहिरो अध्ययन, प्रशिक्षण र परीक्षणको नतिजाः सजिलो पर्ल्स अनुगमन पुस्तिका

३० असार २०७९, बिहीबार
हेडसरको गहिरो अध्ययन, प्रशिक्षण र परीक्षणको नतिजाः सजिलो पर्ल्स अनुगमन पुस्तिका

– रञ्जनमणि पौड्याल

‘He was my enemy, but now he is my best friend.’ एसिया प्रशान्त क्षेत्रका बचत ऋण सहकारीहरुको छाता संगठन– एयिाली ऋण महासंघ (अक्कू) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत रञ्जीत हिताराचीले आज भन्दा करिब ३ दशक अघि दोलखाका प्रखर हेडसर एवम् सहकारी अभियन्ता यज्ञराज ढुङ्गेललाई इंगित गर्दै भनेका थिए । एसियाली टोन मिसिएको रञ्जितको अंग्रेजी, दोलखामा अंग्रेजी विषय नै पढाउने चर्चित हेडसरको स्मृतिमा माथिको वाक्य अझै ताजै छ । खासमा कुरा के थियो भने, नेपालका बचत ऋण सहकारीहरुको प्रभावकारी र वैज्ञानिक अनुगमन औजार पर्ल्स प्रणालीबारे जानकारी दिन आयोजित तालिमका दौरान दोलखास्थित जनसचेतन साकोसका अध्यक्ष ढुङ्गेल सरले पर्ल्सका कतिपय सूचकहरु ‘नेपाली माटो नसुहाउने’ प्रारम्भिक प्रतिक्रिया जनाउनुभएको थियो । उहाँमात्र होइन उक्त कार्यशालमा सहभागी अधिकांश सहकारीकर्मीहरुको भावनाको प्रतिनिधित्व हेडसरले रञ्जितसामु मुखरित गर्नुभएको थियो । यो कुरा सन् १९९९ तिरको हो ।

शिक्षणमा जम्नुभएका हेडसरलाई बोल्न के को धक ? त्यसबेलाका बचत ऋण सहकारीहरुको सञ्चालन प्रक्रियासँग अभ्यस्त ढुङ्गेल सरले ऋण लगानीको जोखिम खर्च लेख्ने व्यवस्था, भाखा नाघेको ऋणको बुझाई, संस्थागत पुँजी, आदि विषयमा पर्ल्सका सूचकहरुले गरेको व्यवस्थाप्रति विमति जनाउनुभएको थियो । तर, बुझ्दै गएपछि उहाँले पर्ल्सको अपरिहार्यताको अन्तर्य महसूस गर्नुभयो । सुरुमा पर्ल्स कार्यान्वयन नेपालमा सम्भव नभएको बताउने ढुङ्गेल सर पछि त्यही पर्ल्स वित्तीय सहकारीलाई दिगो, विश्वसनीय, मर्यादित र गुणस्तरीय बनाउने एकमात्र औजार हो भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सहकारी अभ्यासकर्ताहरुलाई प्रशिक्षित गर्दै हिड्नुभयो । पर्ल्सका प्रखर प्रवक्ता बन्नुभएका हेडसरलाई पछि रञ्जित हिताराचीले भनेको वाक्य थियो माथिको । सोही कुरा पंक्तिकारलाई कौशलटारस्थित आफ्नै निवासमा ढुङ्गेल सरले सुनाउनुभयो ।

जीवनमा कहिलेकाही आकस्मिकताहरु पनि आन्नदमयी हुन्छन् । सधै रुटिनमा चल्ने जीवनको लय क्रमभंगता भेट्दा माधुर्यता महसूश गर्छ । यस्तै आकस्मिकता हिजो अर्थात् गुरु पूर्णिमा तथा २०९औं भानु जयन्तीको अवसरमा मिल्यो । कार्यालय समयपछि सहकर्मी मित्र तालिम अधिकृत सुमनराज घिमिरेसँग कौशलटारस्थित हेडसर निवास पुगेँ । असारे वर्षाले हामीलाई केही बाधा गर्न खोजेपनि सकेन । हेडसरका छिमेकी भएका कारण पनि सुमन सरमार्फत घर भेट्न सहयोग भयो । यद्यपि, सुमन सरलाई पनि हेडसरको घर ठ्याक्कै पत्तो रहेनछ । धेरै समय लागेन पानीमा भिज्दै हामी घर पुग्यौं । भेटमा हेडसरबाट उपहारका रुपमा उहाँको पाँचौं पुस्तक ‘सजिलो पर्ल्स अनुगमन पुस्तिका’ पाएँ । गएराती केही अबरेसम्म र आज अर्ली बिहान केही समय निकालेर पुस्तक पढी भ्याएँ । पुस्तकको अन्तर्वस्तु र हिजोको भेटमा हेडसरले उल्लेख गर्नुभएका यससँग जोडिएका प्रेरक प्रसङ्गहरु उत्खनन प्रयास गरेको छु ।

विश्वका बचत ऋण सहकारीहरुमाझ लोकप्रिय पर्ल्स प्रणाली बारे नसुन्ने साकोसकर्मीहरु सायदै होलान् । अभ्यासमा नल्याएकाहरु पनि यसबारे अनभिज्ञ छैनन भन्दा अत्युक्ति नहोला । अहिले त बजारमा पर्ल्ससम्बन्धी पुस्तक पनि धेरै छन् । अन्य पठन सामाग्रीहरु पनि उपलब्ध छन् । गुगल पनि छ । नेफ्स्कून लगायत प्रादेशिक तथा जिल्ला संघहरुले पनि यसबारे तालिम चलाउँदै आएका छन् । यति हुँदाहुँदै किन पुस्तक लेख्नुभयो भन्ने पंक्तिकारको स्वाभाविक जिज्ञासा रह्यो । ‘पुस्तक धेरै छन्, तपाईले भन्नुभएको ठीक हो, ’ हेडसरले भन्नुभयो, ‘यो पुस्तक लेख्ने बेला मैले बजारमा उपलब्ध पुस्तकहरु पनि स्रोत सामाग्रीका रुपमा लिएँ, गुगल पनि गरे, पर्ल्सको मोनोग्राफ पनि पुनः पढेँ, देशभरका साकोसकर्मीहरुसँग प्रत्यक्ष अप्रत्यक्ष छलफल पनि गरेँ र निचोडका रुपमा सहकारीका नवप्रवेशीहरुदेखि पर्ल्स अभ्यासरतहरुलाई समेत सहज हुने किसिमले साँच्चिकै सरल भाषामा उदाहरणहरुसहित पर्ल्स बुझाउने गरी पुस्तक तयार पारेँ ।’ ढुङ्गेल सरले ‘यस पुस्तकका बारेमा’ पनि उल्लेख गर्नुभएको छ, ‘यो पुस्तक साकोसका सञ्चालकहरु, कर्मचारीहरु, अनुसन्धाताहरु, विद्यार्थीहरु र मुख्यरुपमा नियामकीय भूमिकामा रहेका अनुगमनकर्ताहरुलाई पनि सहयोगी हुन्छ ।’

क्रेडिट युनियन विज्ञ ग्वाटेमालाका डेभिड सी रिचार्डसनले विभिन्न मुलुकका बचत तथा ऋण सहकारीहरुका वित्तीय अभ्यासहरुको सघन अध्ययन अनुसन्धानपछि उत्तम अभ्यासहरुबाट प्राप्त संश्लेषणको रुपमा अनुगमन र मुल्याङ्कन औजारको रुपमा पर्ल्स प्रणाली विकसित गरेका थिए । यसको विश्वसनीयता र वैज्ञानिकतालाई ध्यानमा राखी विश्वभरका बचत ऋण सहकारीहरुको सञ्जाल–विश्व ऋण परिषद् (ओकू) ले सन् १९९० देखि विश्वभरका सदस्य मुलुकका साकोसहरुमा लागू गर्न सिफारिश गरेको थियो । जसअनुसार अकूको सदस्य एशियाली ऋण महासंघ (अकू) ले नेपालमा पनि एसियाली मुलुकका क्रेडिट युनियनहरुको संस्थागत विकास कार्यक्रम (इन्डेकुवा) परियोजना मार्फत सन् १९९९ तिर नेपालमा पर्ल्स भित्राएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना तथा अकूको प्राविधिक सहायतामा धुलिखेलमा आयोजित उक्त ३ दिने तालिममा १५ वटा साकोसका मुलतः अध्यक्ष र व्यवस्थापन प्रमुखहरु सहभागी थिए । जसमध्ये दोलखास्थित जनसचेतन साकोसका तत्कालिन अध्यक्ष ढुङ्गेल सर र कोषाध्यक्ष पुष्कर कुमार दाहाल सहभागी हुनुभयो । सोही तालिममा पहिलो पटक हेडसरले ‘पर्ल्स’ शब्द सुन्नुभएको थियो । जब अकूका रञ्जित हिताराजी र एलेनिता भी स्यान रुकी (लेनी) ले यसका सूचकहरुका बारेमा जानकारी गराउँदै थिए- सहभागी सबैको एउटै आवाज थियो, नेपालमा पर्ल्स लागू गर्न सम्भव छैन । यसका सूचकहरु घटाउनुपर्छ । नेपालका लागि छुट्टै सूचकहरु हुनुपर्छ भन्ने सामूहिक विचार राख्नुभयो । केही महिनापछि रञ्जीत र लेनी फेरि नेपाल आए । इन्डेकूवा २ वर्षको कार्यक्रम थियो । ६ महिनाको अन्तरालमा उनीहरु आउँदै पर्ल्सबारे प्रष्ट पारे । यसै क्रममा ढुङ्गेल सरलगायत सबैले बुझ्दै जानुभयो । त्यही पर्ल्सलाई नियमनकारी निकायले पनि औपचारिक रुपमा मान्यता प्रदान गर्यो । वित्तीय सहकारीहरुको विश्वसनीय, गुणस्तरीय र भरपर्दो अनुगमन औजारको रुपमा विश्वभर मान्यताप्राप्त पर्ल्सका बारेमा नेपालमा पहिलो पटक सुन्ने, बुझ्ने र प्रयोगमा ल्याउने सहकारी अभियन्ताहरुमध्येका अग्रणी हुनुहुन्छ ढुङ्गेल सर ।

पहिला पर्ल्स पढ्नुभयो, बुझ्नुभयो, आफुले नेतृत्व गरेको संस्थालाई पर्ल्सको प्रयोगशाला बनाउनुभयो र त्यसैको आधारमा अन्ततोगत्वा जनसचेतन साकोसलाई एसियास्तरका क्रेडिट युनियनहरुको गुणस्तर सुनिश्चितता एवम् प्रमाणीकरणसम्बन्धी ब्राण्डिङ कार्यक्रम (एक्सेस)मा सहभागी गराई सिल्भर ब्राण्ड दिलाउन सफल पनि हुनुभयो । त्यो धेरै वर्षअघिको कुरा हो । जुन समयमा पर्ल्स के हो ? यसको आवश्यकता साकोसहरुमा किन छ ? अक्कू के हो ? एक्सेस ब्राण्डिङ के हो ? भन्ने विषयमा धेरै सहकारीकर्मीहरुमा अनभिज्ञता नै थियो । साकोसमा ब्राण्ड भ्यालु आवश्यक छ र यसले संस्थाको गुणस्तरीयता र दिगोपनासँगै समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पार्दछ भन्ने मान्यता स्थापित गर्ने काममा उहाँ लाग्नुभयो । ‘पर्ल्स अघिसम्म त हामीले संस्था कसरी चलायौं ? के आधारमा चलायौं, गुणस्तर र विश्वसनीयताका मानकहरु के के हुन् ? वैज्ञानिक र वस्तुनिष्ठ आधारहरु के के हुन् ? केही ज्ञान थिएन’ उहाँले भन्नुभयो, ‘तरलता कायम गर्नुपर्छ, प्रोभिजन त थाहै थिएन, साकोसको वित्तीय संरचना कस्तो हुनुपर्छ भन्ने ज्ञात थिएन ।’

आज जसरीपर्ल्सका बारेमा धेरै बचत ऋण सहकारीकर्मीहरु जानकार छन्, नेफ्स्कून लगायतले देशभर यसको बारेमा थुप्रै तालिमहरु सञ्चालन गर्छन्, यसबारे पुस्तकहरु प्रकाशन भएका छन्, हिजो त्यो अवस्था थिएन । हिजो पर्ल्स बुझ्ने कमै थिए, बुझ्न सक्ने कम थिए र बुझेर पनि संस्थामा यो लागू गर्ने र यसका बारेमा अरुलाई पनि ज्ञान बाँढ्ने औलामा गन्न सकिने सहकारीकर्मीहरु थिए । तीमध्ये ढुङ्गेल एक हुनुहुन्थ्यो । सहकारी र शिक्षालाई समानान्तर रुपमा अघि बढाउँदै दुबै क्षेत्रमा उत्तिकै उचाइँ हासिल गर्न ढुङ्गेल सफल हुनुभयो । शिक्षाका हेडसर विस्तारै पर्ल्सका पनि हेडसर बन्नुभयो । अहिले कतिले ढुङ्गेल सरलाई नेपालमा पर्ल्सका पिताको उपमा पनि दिन्छन् । उहाँ केवल पर्ल्स प्रशिक्षक मात्र होइन, सुरुवाती र असली प्रयोगकर्ता पनि हो । सहकारी साधक हो । सहकारीप्रति उहाँको अगाध आस्था छ । सहकारी सप्रर्नुपर्छ भन्ने मनमा राख्नुहुन्छ । त्यसैले हरपल जोखिमसँग पौठेजोरी खेल्नुपर्ने बचत ऋण सहकारीहरु वित्तीय रुपमा स्वस्थ्य र तन्दुरुस्त रहुन भनेर नै करिब ३ दशकको अनुभव पोखेर पर्ल्स बारे पुस्तक लेख्नुभयो । जसरी मानव शरिर स्वस्थ्य रहन रक्तचाप, मुटुको चाप, चिनीको मात्रा, आदि सबै निश्चित सूचकको आधारमा परिक्षण गरिन्छ, त्यसरी नै बचत ऋण सहकारीहरु वित्तीय रुपमा स्वथ्य छन् कि छैनन् भनेर पर्ल्सका सूचकहरुको आधारमा परिक्षण गरिन्छ । ढुङ्गेल सर भन्नुहुन्छ, ‘पर्ल्स साकोसको होलबडी चेकअप गर्ने टुल अर्थात औजार हो । पर्ल्स साकोसहरुको प्राण हो ।’ यही विषयलाई पुस्तकको दोस्रो खण्डमा उहाँले सचित्र स्पष्ट पार्नुभएको छ ।

कतिपयको तर्क पर्ल्सले साकोसको व्यवस्थापकीय वा गैरवित्तीय पाटोको बारेमा बोल्दैन भन्ने पनि छ । त्यो सही हो भन्नुहुन्छ ढुङ्गेल सर । सोही कारण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम–प्रोबेसनमा गुणात्मक पक्षहरुको सूचकहरु सहित हिमाल प्रयोगमा ल्यायो । उक्त सूचकहरु तयार पार्ने कार्यक्रममा हेडसर पनि विज्ञका रुपमा सहभागी हुनुहुन्थ्यो । पुस्तकमा हिमाल र यसका सूचकहरुका बारेमा पनि छोटकरीमा जानकारी राखिएको छ ।

९६ पृष्ठको पुस्तक ५ खण्डमा विभक्त छ । पहिलो खण्डमा पर्ल्सको परिचय, प्रयोग तथा फाइदा, पर्ल्स र क्यामेलमा विभन्नता, पर्ल्सको व्यवस्थापकीय पक्ष, यसका सूचकहरुको संशोधन र परिमार्जन, बचत तथा ऋण सहकारीहरुमा किन पर्ल्स नै प्रयोग गर्नुपर्छ भन्ने विषय अटाएका छन् भने दोस्रो खण्डमा बचत तथा ऋण सहकारी संस्थाको वित्तीय संरचना, विस्तृत पुँजी प्रवाह विवरण, सहकारी संस्थाको आर्दश नमुना र नमुना सहकारी संस्थाका लक्षणहरु समाविष्ट छन् । तेस्रो खण्डमा पर्ल्सले अनुगमन गर्ने ६ ओटा क्षेत्रहरु अन्तर्गत सुरक्षाको क्षेत्र, प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर, प्रतिफल दर, तरलता र वृद्धि दर राखिएको छ । यस्तै, चौथो खण्डमा पर्ल्स अनुगमन प्रणालीको प्रयोगात्मक पक्षहरु अन्तर्गत सुरक्षाका ७ वटा सूचकहरु, प्रभावकारी वित्तीय संरचनाका ९ वटा सूचकहरु, सम्पत्ति गुणस्तरका ३ वटा सूचकहरु, प्रतिफल दरको १३ वटा सूचकहरु, तरलताका ३ वटा सूचकहरु, वृद्धिदरका ११ वटा सूचकहरु, संस्थाहरुले हिसाब गर्नका लागि तयार पारिएको अनुगमन तालिका, नेपालका सहकारी संस्थाहरुले प्रयोग नगरी नहुने सूचकहरु र पर्ल्स आधारमा मुल्याङ्कन प्रकृया समावेश गरिएको छ । पाँचौं तथा तथा अन्तिम खण्डमा पर्ल्स–हिमाल शीर्षक अन्तर्गत हिमालको परिचय, हिमालका प्रत्येक क्षेत्रहरुको परिचय, हिमालका सूचकहरुको मुल्याङ्कन तरिका र बचत तथा ऋण सहकारी संस्थाको श्रेणी विभाजन अटाएका छन् । पुस्तकको मुल्यमा कसैको कुनै गुनासो रहदैन किनकि अहिलेको समयमा एक छाक शाकाहारी खाना खाएको रकम भन्दा पनि कम छ । पुस्तक राष्ट्रिय सहकारी महासंघ नेपाल, नेफ्स्कूनका प्रायः सबै फिल्ड कार्यालयहरु, गौरीशंकर अफसेट प्रेस, कौशलटार, घोष्ट राइटिङ नेपाल, थापागाउँ, नयाँ बानेश्वरसँगै विभिन्न जिल्ला बचत तथा ऋण सहकारी संघ तथा दोलखाको जिल्ला सहकारी संघमा पनि बिक्रीका लागि उपलब्ध छ । अन्य ठाउँमा पनि मागका आधारमा पठाउन सकिने हेडसरले जानकारी गराउनुभयो ।

जीवनमा पूर्ण त केही कुरा पनि हुँदैन । पुस्तक प्रकाशनको हकमा पनि त्यही हो । जतिनै मिहिनेत गरेपनि केही छुट्छ नै । पुस्तकमा पनि त्यस्ता केही कमजोरी भएका छन् जुन ढुङ्गेल सर आफैले स्वीकार्नुभयो । भाषा सम्पादन भएको भए सुनमा सुगन्ध हुने थियो । अंग्रेजी हिज्जे र व्याकरण थोरै ठाउँमा कनिका बनेका छन् । यस्तै, पुस्तक रंगिन कलेबरसहित आकर्षक साजसज्जामा निकाल्न सकिएको भए अझ राम्रो हुन्थ्यो कि ! यद्यपि, पुस्तक पठनीय छ । प्रशस्त उदाहरणहरु दिइएको छ । कोष बाँडफाँड बारे उदाहरणसहित प्रस्ट पारिएको छ । संस्थाको वासलातसहित सूचकहरुको स्थिति र तिनले पार्ने प्रभावहरुबारे पनि खुलाइएको छ । सहकारीमा लाग्नेदेखि दशकौं अनुभव बटुलेकाहरुलाई पनि काम लाग्ने सामाग्री तयार भएको छ ।

यसैबीच, पानीले भिजेका दुईभाइलाई म्याडमले मिठो अनि तातो चिया खुवाउनुभयो । चिया चुस्की लिदैं सुमन सर र मै हेडसरका थप कुराहरु सुन्छौं । उहाँमा उत्साहको कमी छैन । बोलीमा जोश छ । सहकारीप्रति चिन्तासँगै चिन्तन पनि छ । पुस्तक प्रकाशित भएलगत्तै सहकारी विभागका रजिष्ट्रारदेखि विभिन्न अभियानकर्मीहरुसँगको भेटलाई बाक्लो बनाउँदै लग्नुभएको छ । पुस्तक सबैतिर पुगोस्, सबैले पर्ल्सबारे सजिलै बुझुन र मुख्यकुरा संस्थामा लागु गरुन् भन्ने मनसाय हेडसरको भावभङगिबाट पनि प्रष्ट हुन्थ्यो । २००५ सालमा जन्मेर जीवनमा धेरै उकाली ओराली भोग्नुभएका एक सच्चा साधकले गर्नुभएको प्रयास साँच्चिकै ‘रिटायर्ड वट नट टायर्ड’ प्रमाणित भएको छ । यसको कदर सबैले गर्नैपर्छ । हिजो ढुङ्गेल सरका छोरा, बुहारी नातिनीहरु समेतलाई भेट्यौं । यो अवसरका लागि हेडसर परिवारप्रति हार्दिक कृतज्ञता । पुस्तक देशभर पुगोस् र यसबाट सबै लाभान्वित बन्न सकुन् । हार्दिक शुभकामना ।

 

सजिलो पर्ल्स अनुगमन पुस्तिका
लेखकः यज्ञराज ढुङ्गेल
प्रकाशकः विनोद ढुङ्गेल
सर्वाधिकारः प्रकाशकमा
प्रकाशन मितिः २०७९ जेठ
प्रकाशन प्रतिः १०००
मुल्यः रु. २५०
वितरकः गौरी पब्लिक रिलेसन एन पब्लिकेशन, बालाजु

अभिलेख

लोकप्रिय