५ जेष्ठ २०८१, शनिबार

आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ

२३ बैशाख २०८१, आईतवार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ

विश्व अर्थबजारमा भएको मन्दीले हाम्रो देशको वित्तीय वातावरणलाई प्रभाव पारेको छ । देशमा भएको आर्थिक मन्दीको प्रभावबाट सहकारी संस्थाहरु अछुतो रहन सकेका छैनन् । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुले सकसको अवस्था बेहोर्नु परिरहेको छ । ऋण मागमा कमी आएको छ । आम्दानीको स्तर यथास्थितिमा रही मुल्य बृद्धि तीब्र हुँदा उपभोक्ताहरुको क्रयशक्ति र ऋण भुक्तानी क्षमतामा शिथिलता आई बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ऋण असुली प्रक्रिया केही कमजोर भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले केही कडा नियम लागू गरेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीमा केही कडाइ गरेको पाइन्छ । बचत संकलनमा केही अस्वस्थ्य प्रतिस्पर्धा हुँदा बैंक तथा वित्तीय संस्थाको लागत बृद्धि भयो र त्यो भारलाई ऋणको ब्याज बृद्धिमा जोडेको हुँदा ऋण उपभोग गर्नेहरुको भुक्तानी क्षमतालाई असर पारेको देखिन्छ । राज्यको तर्फबाट हेर्दा पुँजीगत खर्च गर्न नसक्नुले पनि बजारमा नगद प्रवाहको स्थिति केही फितलो भएको देखिन्छ ।

राज्यले पुँजीगत खर्च गर्न नसक्नु, बित्तिय संस्थाहरुले बढी ब्याज दिई बचत संकलन गर्नु, ऋण लिएर लगानी गर्ने ढुक्कको क्षेत्र नहुँनु, बित्तिय क्षेत्रमा तरलता थुप्रनु, राज्यको नागरीकहरुले आफु सँग भएको सबै रकम बित्तिय क्षेत्र प्रयोग गरी चलायमान बनाउन ढुक्क हुने बातावरण नहुनु, राज्यले सबै नगद बजारमा आउनै पर्ने बाध्यात्मक अवस्था सृजना गर्न नसक्नु जस्ता कारणले बर्तमान वित्तिय बजारमा नगदचक्रमा केही असहजता भएको देखीन्छ । यस्तो अवस्था भित्र सहर केन्द्रीत केही सहकारी संस्थाहरु असहज परिस्थिति झेलिरहेको पाईन्छ । शेयर सदस्य नबनाई आकर्षक ब्याजमा बचत संकलन गरेको र उक्त बचतबाट आएको रकमलाई स्थिर सम्पत्तिमा लगानी गरेको तथा तिर्न सक्ने क्षमता जाँच नगरी ऋण लगानी गरेको हुँदा हाल बचत फिर्ता गर्न असहज भएको देखीन्छ । केही सहकारी संस्थाहरु संकटग्रस्त घोषणा भएका छन् भने थप केही लाई नगदचक्र ब्यवस्थापनमा अझै कठिन भइरहेको देखिन्छ।

यस्तो असहज परिस्थितिको सामना गर्दैगर्दा सहकारी संस्था र सम्बन्धित पक्षहरुले केही सिक्ने मौका पनि प्राप्त भएको छ । यस्तो परिस्थितिमा सहकारी संस्था सँग सम्बन्धित पक्षले विविध कुरा सिकी भावी दिनमा अगाडि बढ्न सकिने कुरा देखिन्छ । यस परिस्थितिमा सहकारीमा आवद्ध पक्षले सिकी ब्यवहारमा लागु गरेर सिकाइमा परिणत गर्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गर्नु उपयुक्त देखिन्छ ।

शेयर सदस्य सिकाइ
सहकारी संस्थामा आवद्ध हुन शेयर खरिद गरेको हुनुपर्दछ । सहकारीको तेस्रो सिद्धान्त अनुसार सदस्यको आर्थिक सहभागिता अनिवार्य छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यता एवं राज्यको ऐन, नियमावली बमोजिम सहकारी संस्थामा शेयर खरिद नगरेको व्यक्तिले कारोबार गर्न पाउदैन अर्थात् सहकारी संस्थामा शेयर खरिद नगरेको ब्यक्ति शेयर सदस्य हैन । सहकारीको मर्म भनेको ‘एकका लागि सबै र सबैको लागि एक’ नै हो । सहकारी संस्थामा आवद्ध हुनु एक आपसको हितको लागि हो । सहकारी संस्थामा आवद्ध भएपछि नाफालाई गौण मानी सेवालाई प्राथमिकता दिनुपर्ने मान्यता हुन्छ । शेयर सदस्य बन्नको लागि पहिलो कुरा ‘म कुन संस्थामा शेयर सदस्य बन्न लागेको छु ? म सँग मन, ईच्छा मिल्ने ब्यक्तिहरु त्यो संस्थामा छन् वा छैनन् ? म त्यो संस्थामा आवद्ध हुँदा मेरो आर्थिक उन्नति हुने सम्भावना छ वा छैन ?’ आदि कुराहरु बिश्लेषण एवं यकिन गरेर मात्र शेयर सदस्य बन्नु पर्दछ । शेयर सदस्य बन्नु पूर्व त्यो संस्था कसरी चलेको छ ? सञ्चालक समितिहरुले संस्थालाई नीति बिधि र प्रविधि बमोजिम सञ्चालन गरेको छ वा छैन ? त्यो संस्थामा कार्यरत मानव संशाधनको दक्षता र क्षमता सदस्य सेवामा समर्पित हुने खालको छ वा छैन ? आवद्ध हुन लागेको संस्था संघहरुद्धारा सञ्चालीत स्तरीकरण कार्यक्रममा आवद्ध छ वा छैन ? कुन उद्देश्यले दर्ता भएको छ र उद्देश्य बमोजिम कार्य गरेको छ वा छैन ? संस्था सुशासनमा सञ्चालन भएको छ वा छैन ? सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु आफन्त मिलेर चलाएका छन् वा फरक फरक ब्यक्ति मिलेर चलाएका छन् ? यस्ता कुराहरु बुझी उपयुक्त संस्थामा मात्र शेयर सदस्य बनी आर्थिक कारोवार गर्ने जिम्मेवारी शेयर सदस्य तथा सम्भावित शेयर सदस्यहरुको हुन्छ । वर्तमान युग भनेको प्रविधिको युग हो । यो कुरा अहिलेको वित्तीय बजारबाट पनि अध्ययन गर्न सकिन्छ त्यसैले अबको सहकारी संस्थाको शेयर सदस्यहरुले प्रविधिलाई आत्मसात् गर्नुपर्दछ भन्ने कुराको ज्ञान बिकास हुनै पर्दछ । जुन सहकारीले अल्पकालिन फाईदाको आसा देखाउछ त्यस संस्थामा दिर्घकालिन फाईदको साटो हानी हुन सक्छ भन्ने कुरामा अब सबै सचेत हुनुपर्दछ । सहकारी संस्थाको शेयर सदस्यहरुले आफु आवद्ध संस्थाको पूर्ण नियमन गर्नुपर्दछ अर्थात् स्वनियमनमा शेयर सदस्यहरु आफै सक्रिय हुनुपर्दछ ।

सञ्चालक समिति सिकाइ
सहकारी संस्था समान हैसियत भएका समाजमा बसोवास गर्ने ब्यक्तिहरु मिलि एक आपसको हितको लागि खोलीने संस्था सहकारी संस्था हो नकी ब्यक्ति र पारीवारीक फाईदाको लागि भन्ने कुरा सबैभन्दा पहिला सहकारी संस्थाको सञ्चालक समितिले बुझ्नु पर्दछ । सहकारी को दोस्रो सिद्धान्त भनेको प्रजातान्त्रीक नियन्त्रण हो र यसै अनुसार सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुमध्ये बाटै प्रजातान्त्रीक नियन्त्रण हुनुपर्दछ भन्ने कुरा बुझ्नुपर्दछ । संस्थामा आवद्ध भएका शेयर सदस्यहरुले संकलन गरेको बचत रकम लाई सदस्य केन्द्रीयता सुचकांकलाई मध्येनजर गरी धेरै भन्दा धेरै शेयर सदस्यहरुलाई उद्यमी बनाई ऋण लगानी गर्नुपर्दछ नकी सिमित शेयर सदस्यलाई भन्ने कुरामा सञ्चालक समिति स्पस्ट हुनुपर्दछ । संस्था सञ्चालन गर्दा निर्देशनलाई गौण मानी नीति लाई प्राथमिकता दिएर संस्था सञ्चालन गर्नुपर्दछ । संस्थामा कर्मचारी भर्ना गर्दा हाम्रो हैन राम्रोलाई प्राथमिकता दिनुपर्दछ । बर्तमान आर्थिक मन्दी बाट शेयर सदस्यहरुले बित्तिय साक्षरतालाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने कुरा सिक्नै पर्दछ । विलासी स्वभाव, खर्चालु बानी, देखासेखी गर्ने बानीले हाम्रो वित्तीय अवस्थालाई जर्जर बनाउने रहेछ भन्ने बिषय सिक्नको लागि अब ढिला गरियो भने त्यसको पिडामा शेयर सदस्य आफै पर्ने कुरामा दुईमत छैन । शेयर सदस्यहरुले नियमित बचत गर्ने र ऋण लिएको भए ऋणको किस्ता लाई प्राथमिकतामा राखी व्यावहारिक सुखसयल र बढी खर्च गर्ने रितिरिवाज त्याग गर्नुपर्नेछ । जति सकिन्छ उद्यमी बन्नुपर्ने अवस्था छ । आफूसँग भएको र सकेसम्म उत्पादनमा जोडिनु पर्ने टड्कारो आवश्यकता छ । अब सहकारी संस्था सञ्चालन गर्ने सञ्चालकहरु अध्ययनशील, भविष्यद्रष्टा र रणनीतिज्ञ हुनुपर्ने देखिन्छ । संस्थालाई पूर्ण रुपमा स्वनियमनमा सञ्चालन गरी सुशासन कायम गर्न सक्ने हैसियत बनाउनु पर्दछ भन्ने कुरा सहकारी संस्थाको सञ्चालकले सिक्नुपर्ने कुरामा कुनै दुविधा देखिदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई सहकारी संस्थामा अगाल्नु पर्दछ भन्ने कुरा सिक्न अब सञ्चालक समितिले ढिला गर्नु हुँदैन ।

लेखा सुपरिवेक्षण समिति सिकाइ
संस्थामा भएको बिभिन्न कृयाकलापहरुलाई नजिकबाट नियाल्नको लागि र संस्थामा सुशासन कायम गर्न राज्यको कानुनले सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिको ब्यवस्था गरेको छ । यसै बमोजिम सहकारी संस्थामा भएको बिभिन्न गतिविधिहरुलाई नजिक बाट नियाल्ने, कमजोरी भएमा सुधार्न लगाउन र नसुध्रिएमा शेयर सदस्यहरु माझ वास्तविकता सार्वजनिक गर्ने जिम्मेवारी संस्थाको लेखा सुपरिवेक्षण समितिको हुन्छ । सहकारी संस्थामा वित्तीय कारोवार हुने र उक्त कारोवारहरु दोहोरो लेखा प्रणाली बमोजिम अभिलेख राखिन्छ । यसरी राखिएको अभिलेखहरु ऐन नियमावली संस्थाको विनियम र बिभिन्न कार्यविधिहरु बमोजिम छ वा छैन भनेर निरीक्षण गर्ने कार्य लेखा सुपरिवेक्षण समितिको हो । यसरी हेर्न सक्ने लेखा सुपरिवेक्षण समिति छ वा छैन त्यो बिषय महत्वपूर्ण हो । बर्तमान अवस्थामा लेखा सुपरिवेक्षण समितिले नहेर्नु वा हेर्न नसक्नु पनि सहकारी क्षेत्रका समस्या हुन् ।

अब यो भोगाइबाट लेखा सुपरिवेक्षण समिति भनेको लेखा हेर्न सक्ने सक्षम व्यक्ति चाहिन्छ भनेर बुझ्ने मौका हो र आगामी दिनमा योग्य लेखा सुपरिवेक्षण समिति छान्ने बिषय वर्तमानको सिकाइ हो । बर्तमान अवस्थामा लेखा सुपरिवेक्षण समितिमा लेखा हेर्न सक्ने क्षमता कम छ भने तालिम तथा गोष्ठीहरुमा सहभागी गराइ ज्ञान आर्जन गर्न लगाउनु र चार्टर्ड एकाउन्टेन्टलाई आन्तरिक लेखापरीक्षकको रुपमा कार्य गर्न लगाउने कुरा सिक्नुपर्ने देखिन्छ । सहकारी ऐन नियमावली र संस्थाको विनियममा लेखा सुपरिवेक्षण समितिले गर्ने कार्यहरु लेखिएको हुन्छ ती कार्य गर्न नसकिने जस्तो लागेमा आगामी साधारण सभामा मार्ग प्रशस्त गर्नुपर्दछ भन्ने कुरा पनि लेखा सुपरिवेक्षण समितिले सिक्दा राम्रो हुनेछ । लेखा सुपरिवेक्षण समितिले सहकारीको सञ्चालक समिति र कर्मचारीहरुलाई रचनात्मक, सुधारात्मक र रणनीतिक सुधार दिन सक्ने क्षमता बिकास गर्नु अबको लेखा सुपरिवेक्षण समितिको प्रमुख दायित्व हुन्छ ।

कर्मचारी सिकाइ
कर्मचारी निर्देशनमा होईन नीति कार्यविधि बमोजिम चल्नु पर्दछ यदि नचलेमा केही समस्या आउँछ जुन यदाकदा आइरहेको छ । वर्तमान भोगाइबाट सहकारीका कर्मचारीहरुले स्पस्ट सँग सिक्नु पर्ने कुरा भनेको क्षमता बृद्धि गर्नु र निर्देशन गौण मानी कार्यविधि बमोजिम चल्नु हो । अबको समयमा ‘हस्’ मात्र भन्ने कर्मचारीको काम छैन । बिश्व वित्तीय बजारमा बिभिन्न प्रविधिहरुको बिकास भइरहेको छ । एआइ, एजिआई जस्तो प्रविधिको बिकास हुँदै गर्दा कम्प्युटर चलाउन नजान्ने कर्मचारी अबको सहकारीको लागि भार मात्र हो । यस परिदृष्यबाट सहकारी संस्थाका कर्मचारीहरु प्रविधिमैत्री र व्यावसायिक बन्नु पर्दछ भने सहकारी ऐन नियमावली विनियम र कार्यविधिमा लेखिए बमोजिम मात्र चल्ने क्षमता बिकास गर्नुपर्दछ । अबको सहकारी सञ्चालन गर्ने कर्मचारीहरु प्रविधिमा दक्षता बिकास गर्दै भावी परिवर्तन हुने प्रविधि अगाल्न तयार हुनुको साथै रणनीतिक सोचाइका साथ कार्य गर्न सक्ने हुनुपर्दछ ।

संस्था सिकाइ
सहकारी संस्थामा दक्ष र उदाहरणीय सञ्चालक समिति, योग्य र व्यावसायिक कर्मचारी, नियमित बचत र ऋणको कारोवार गर्ने असल शेयर सदस्यहरुको आवश्यक छ भन्ने कुरा सहकारी संस्थाहरुले सिक्नुपर्दछ । सहकारी संस्थाको नेतृत्व गर्ने सञ्चालक समितिहरु अदक्ष भएमा सहकारी संस्थामा आईपर्ने जोखिमहरु बिश्लेषण गर्न सक्दैनन् भने स्वार्थी सञ्चालक भएमा ब्यक्तिगत लाभ हानी हिसाब गर्ने हुनाले संस्थाको लक्ष्य र उद्देश्य मुताविक कार्य हुन सक्दैन । त्यस्तै समय सापेक्ष क्षमता बिकास गर्न सक्ने योग्य र सदस्य सेवामा लागि पर्ने व्यावसायिक कर्मचारी भएन भने अवको सहकारी संस्थाहरु चल्न सक्दैनन् । सहकारी संस्थाले अब हुने साधारण सभाहरुलाई पहिलाको भन्दा थप क्रियाशील बनाउनु पर्नेछ । अबको दिनमा सहकारी संस्थाहरुले पल्र्स अनुगमन प्रणालीको साथै आधार दरको अवधारणा, सम्पत्ति दायित्व सहसम्बन्ध, पुँजी पर्याप्तता अनुपात र बासेलका केही पक्षहरुको बारेमा अध्ययन गरी सोही बमोजिम ब्यवस्थापन गरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।

समाज सिकाइ
सहकारी संस्थाहरु समाजमानै सञ्चालित हुन्छन् र वर्तमान अवस्थाबाट समाजले पनि सहकारी बारे केही कुराहरु सिक्नुपर्ने देखिन्छ । सहकारी संस्थाहरुको आफ्नै सिद्धान्त मुल्य र मान्यता छ त्यसैलाई आधारमानी राज्यले कानून निर्माण गरेको छ । यिनै सहकारीको सिद्धान्त मुल्य मान्यता र राज्यको सहकारी ऐन कानूनको परिधि भित्र रही समुदायमा आधारित सहकारी संस्थामा मात्र समुदायका ब्यक्तिहरुलाई आवद्ध हुन सचेत गराउनुपर्ने अवस्था छ । बढी ब्याजको प्रलोभन, कानून बिपरितको देखावटी शेयर लाभांशमा आकर्षित नभई विधिमा चलेको सहकारी रोज्नुपर्दछ भनी समाजमा बसोवास गर्ने ब्यक्तिहरुलाई सजग बनाउनुपर्ने जिम्मेवारी समाजको रहेको छ र यो कुरा सिक्न बाट चुक्यौ भने हाम्रो समाजका व्यक्तित्वहरुले भावी दिनमा केही वित्तीय असहजता बेहोर्नुपर्ने हुनसक्छ । समाजमा बसोवास गर्ने ब्यक्तिहरुले सहकारी संस्थाको सामाजिक परीक्षण बारे कुरा उठाई त्यसको माध्यमबाट सामाजिक नियमनको सुरुवात गर्नुपर्ने देखिन्छ ।

संघहरु सिकाइ
आवद्ध सहकारी संस्थाहरुको हित गर्नु, तालिम तथा शिक्षा प्रवाह गर्नु, मानव संशाधनको क्षमता बिकास गराउनु, ऐन नियमावली बिनियम र कार्यविधि बमोजिम संस्था सञ्चालनको लागि मार्गप्रसस्त गर्नु लगाएका कार्यहरु संघको हुनुपर्दछ । बर्तमान आर्थिक मन्दीको चपेटाबाट आफ्ना शेयर सदस्य संघ संस्थाहरु कुन कुन बिषयमा पिरोलीए भनेर बिश्लेषण गरी संघहरुले पनि केही कुरा सिक्नु र ब्यवहारमा उतार्नु पर्दछ जस्तो लाग्छ । सबै भन्दा पहिलो पक्ष संघहरुले राज्यमा भएका सबै सहकारी संस्थाहरुको एकीन डाटा तयार पार्नुपर्छ भन्ने बिषय सिक्नुपर्ने देखीन्छ । सहकारीको संख्या र आवद्ध शेयर सदस्यको संख्या भाषण गरी आत्मसन्तुष्टि लिने प्रचलनलाई सून्य बनाउनुपर्ने देखीन्छ । राज्यको कानून बमोजिम सञ्चालन भए नभएको हेरी कानून प्रदत्त अधिकार प्रयोग गरी सही मार्गमा हिडाउनु पर्ने देखिन्छ । संघहरुको नेतृत्वमा जानको लागि राजनीतिक भर्याङ हैन सफल सहकारी सञ्चालन गरेको अनुभवलाई भ¥याङ् बनाउनुपर्ने देखिन्छ । जिल्ला, प्रदेश स्तरीय संघ, केन्द्रय संहरु र महासंघको क्षेत्राधिकार

स्पस्ट पारि फरक कार्य गर्नुपर्ने देखिछ । जुनसुकै कार्य गर्ने योजना बन्छ त्यसलाई भाषणमा मात्र सीमित नगरी लक्ष्य पुरा गर्न परिणाममुखी कार्य सुरु गर्नुपर्ने देखिन्छ । सहकारीको सिद्धान्त मूल्य, मान्यता राज्यको ऐन नियमावली विपरित चलेका संस्थाहरुलाई सही मार्गमा ल्याउन राजनैतिक जालो बिर्सनु पर्ने देखिन्छ । बिभिन्न उद्देश्यले दर्ता गरी निष्कृय रहेका सहकारी संघ र संस्थाहरुलाई खारेज गर्नको लागि निश्चित समयावधि तोकी लक्ष्यउन्मुख कार्य गर्नुपर्ने देखिन्छ । सहकारी ऐन, नियमावलीमा केही संशोधन गर्नुपर्ने भएमा परिणाम आउने गरी संशोधनको लागि बहस पैरवी गर्नुपर्ने तथा मौजुदा र संशोधन भई आएको ऐन नियमलाई आफैबाट लागू गुर्नपर्ने देखिन्छ । संघमा नेतृत्व गर्ने सञ्चालकहरुले प्रारम्भिक सहकारी संस्थाहरुलाई बर्तमान समयको माग बमोजिम ब्यवहारोपयोगी तालिम दिन सक्ने हुनुपर्दछ । प्रारम्भिक सहकारी संस्थाहरुको अगाडि उभिदा आफुले प्रारम्भीक नेतृत्व गरेको सहकारी संस्थाका असल अभ्यासहरु शेयरबाट सुरु गर्नुपर्ने अवस्था निर्माण गर्नुपर्ने देखीन्छ । संघहरुले आवद्ध सदस्य संघ संस्थाहरुलाई उत्प्रेरणा दिई प्रभावकारी कार्य गर्न लगाउने र सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्दछ ।

नियमनकारी निकाय सिकाइ
संस्थाहरु दर्ता गरेर स्वनियमनमा चल्ने हुन् भनेर मात्र हुदैन त्यसलाई नियमन गर्नु पर्दछ । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने हुँदा हुँदै ऐन नियमावलीमा नियमनको ब्यवस्था गर्नुको अर्थ नियमनकारी निकायलाई नियमन गर्नु भन्ने आदेश हो भन्ने बुझाइ प्रस्ट हुनुपर्दछ । राम्रो कार्य गर्ने सहकारी संस्थाको असल अभ्यासलाई नियमनकारी निकायको वेबसाइटमा मा राख्ने, बिभिन्न प्रकाशनहरुमा समेट्ने, बिभिन्न कार्यक्रमहरुका क्षेत्रगत रुपमा सहकारी संस्थाका राम्रा र असल अभ्यासहरुलाई सबै सामु शेयर गर्ने बातावरण मिलाउने, क्षेत्रगत रुपमा रुपमा राम्रो कार्य गर्ने सहकारी संस्थाहरुलाई प्रशंसा पत्र दिने लगायतका वार्षिक कार्य गर्न तथा कमी कमजोरी गर्ने संस्थाहरुलाई तुरुन्तै सुधार गर्न भन्ने र सुधार नहुने अवस्था आए नियन्त्रणमा लिई आवश्यक कानून प्रक्रिया अगाडि बढाउनु पर्दछ भन्ने कुरा सिक्न अब ढिला गर्नु हुँदैन ।

राज्य सिकाइ
सहकारी ऐन नियमावली निर्माण गरी सहकारी संस्था सञ्चालन हुने ब्यवस्था पछि आवश्यकता अनुसार ऐन कानून परिवर्तन गर्ने र नियमनकारी निकाय मार्फत् अक्षरशः लागू गर्न लगाउने दायित्व राज्यको हुन्छ । जब कुनै कार्य गर्न बाटो खोलीदिइन्छ भने त्यो बाटोमा हिड्नेले गल्ती गरेमा हिड्न अनुमति दिनेले पनि जिम्मेवारी लिनु पर्दछ । त्यसैले राज्यले सहकारी क्षेत्रहरुलाई उत्प्रेरणात्म ढंगबाट नियमन गराउने र गल्ती गर्नेलाई सोही बमोजिम नसिहत दिने व्यवस्थामा गहन रुपमा लाग्नुपर्दछ । सहकारी संस्थाहरुले ग्रामीण भेगदेखि शहर बजार सम्म बसोबास गर्ने समुदायलाई बचत गर्ने बानीको बिकास गराएको छ यस्तो राम्रो कार्यलाई राज्यले मूल्यांकन गर्न कञ्जुस्याँइ गर्नु हुदैन । सहकारी नियमनको लागि स्पस्ट जिम्मेवारी दिने ब्यवस्था गर्नु पर्दछ । नियमन गर्न वित्तीय ज्ञान आवश्यक पर्ने हुनाले नियमनकारी निकायमा वित्तीय ज्ञान भएको दक्ष कर्मचारी पठाउने र न्यूनतम दुई बर्ष सोही ठाउँमा कार्य गर्न मिल्ने बातावरण मिलाइनुपर्छ । अझ सहकारीको नियमनकारी निकाय बाट अन्य क्षेत्रमा सरुवा नगरी सोही क्षेत्रमा सरुवा गर्ने ब्यवस्था मिलाउनुपर्ने देखिन्छ।

(लेखक मिलिजुली कालिञ्चोक साकोस लि. दोलखाका प्रमुख कार्यकारी अधिकृत हुन्)

अभिलेख

लोकप्रिय